PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

के तामाङहरु बुहारी-छोरी-स्वास्नी बेच्दै पैसा कमाउने जाति हुन्? सिद्धार्थ आर्ट ग्यालरीमा सोध्दैछन् सुवास



लक्ष्मी बलायर

के तामाङहरु बुहारी-छोरी-स्वास्नी बेच्दै पैसा कमाउने जाति हुन्? सिद्धार्थ आर्ट ग्यालरीमा सोध्दैछन् सुवास

काठमाडौं : बबरमहलमा रहेको सिद्धार्थ आर्ट ग्यालरीमा यतिखेर 'काइतेन' शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ। काइतेनको अर्थ हो - कथा पस्कनु। श्रुती परम्पराबाट होइन, ग्यालरीका भित्तामा झुण्डाइएका कलाकृतिले नै बोलिरहेका छन् कथा।

ग्यालरी पस्नासाथ पहिलो तल्लाको दायाँतिर जाने हो भने पहिलो फ्रेमकै कृतिको अनुहार छोपिएका छ। तामाङ जातिको मैलो पहिरनमा सजिएको छ जिउ। अनुहार भने पोटिला तर हरिया आँपले छोपिएको। कृतिको शीर्षक राखिएको छ - बैगनी रकम। दोस्रो फ्रेमको कृति पनि उही, मैलो पहिरनकै तामाङ आकृति। अनुहार चाहिँ लोक्ताको फूलले ढाकिएको।

के हुन् त यी? अनुहार किन लुकाइयो? भदौ २५ बाट आफ्नो एकल कला प्रदर्शनी लिएर उत्रिएका कलाकार सुवास तामाङलाई हाम्रो प्रश्न। हाम्रो प्रश्नले मलिन देखिए ३० वर्षे सुवास।

कागज बनाउनेहरुकै लेखिएन इतिहास

'तामाङ जातिको इतिहास यसरी नै लुकाइएको छ। त्यही इतिहास खोतल्ने मेरो चाहना हो,' उनले हाम्रो प्रश्नको जवाफ दिए। छरितो जवाफ पस्किँदा उनमा फरक ऊर्जा अनुभूति हुन्थ्यो।

त्यसो त नेपालमा तामाङ जातिको इतिहास दस्तावेजीकरण गरिएको रहेनछ। उनीहरुबारे लिपिबद्ध किताब नै छैन। किताब नलेखिँदा उनीहरुका विषय इतिहासबाटै क्रमश: लोप हुँदै गएका छन्। वाक परम्पराले त्यसलाई थेगोस् कसरी? त्यसैले पहिचान पनि लोप हुँदै गएको छ तामाङको। सायद् तिनै ढाकिँदै गएको पहिचानलाई कलामार्फत् उघार्न चाहन्छन् सुवास। नेपाली कागजमा कोरिएका यिनै चित्रसँग राणा शासनताकाको घटना सुनाए सुवासले।

राणाकालमा नुवाकोट बुङताङका तामाङहरूलाई ‘नेपाली कागज’ बनाउन जिम्मा दिइएको थियो। लोक्ताबाट नेपाली कागज बनाएर काठमाडौं पुर्‍याउनु उनीहरुको जिम्मेवारी। उनीहरुले पारिश्रमिकमा पाउँथे, घरजग्गा करमा मिनाह।

तामाङहरू लोक्ता संकलन गरेर नेपाली कागज बनाउँथे। जुन कागजमा नेपालको नियम, कानुन र व्यवस्थाका कुरा लेखिए। नेपालको राजनीतिक इतिहास पनि लेखियो। तर, तामाङका काइरन, सेरप लेखिएन। 'कागज बनाउनेहरुकै बारेमा कागजमा कहिल्यै लेखिएन,' सुवासले सन्दर्भसहित प्रस्ट्याए।

यही कुरालाई सुवासले ‘कागजी रकम’ मा समावेश गरेका छन्। यही कुराहरुलाई बताउनु नै हो, काइतेन।

गुमनाम गोले काइँला

सँगै को:को: म्हेन्दो (टोटलाको फूल)को पर्दा झैं देखिने लामो कला झुन्डिएको छ। कृतिको भुईतिरको भागमा एक जना पल्टिएको आकृति पनि देखिन्छ।

को होलान् यिनी जो को:को: म्हेन्दोभित्र हराएका छन्?

यहीँ पल्टिएका साना मान्छेको ठूलो कथा गुमनाम भएको रहेछ। त्यो पनि प्रजातन्त्रकालमै। उनी अर्थात् गोले काइँला। एउटा गुमनाम शहीद। प्रजातन्त्र प्राप्तिका लागि ज्यान दिएका उनको नाम न त शहीदको सूचीमा चढ्यो न त कतै सुनियो उनको संघर्ष।

२००७ सालमा देशैभर सशस्त्र क्रान्ति शुरु हुँदा विराटनगर मोर्चाबाट लडेका थिए गोले काइँला अर्थात् तुलाराम तामाङ। त्यस आन्दोलनमा मारिने उनी पहिलो हुन्। राणा सत्ताको गोली खाएर मृत्यु भएका उनको शवलाई विराटनगर वरिपरि डुलाइएको थियो। त्यतिबेलाका बडा हाकिम उत्तमविक्रम राणाले राणाविरुद्ध क्रान्ति गर्नेको हविगत यस्तै हुन्छ भनेर जनतालाई तर्साउन त्यसो गरेका थिए। यसो त गोले काइँलाकै साथी गिरिजाप्रसाद कोइराला देशमा पटकपटक प्रधानमन्त्री बने तर गोले इतिहासका पानामा समेत अटाएनन् र बिलिन बने।

मोरङको अमरदहमा जन्मेका सुवासलाई सायद आफ्नै ठाउँको घटना भएकाले पनि यस सन्दर्भले घोचेको हुनुपर्छ। जनमुक्ति सेनाका सशक्त पात्रको योगदानलाई सरकारले वेवास्ता गरेको उनको बुझाई छ।

पीपामा गर्विलो छाती

गुमनाम गोलसँगै अनुहार छोपिएको कृति नै झुन्डिएको छ। त्यसपछि चार जना लहरै उभिएका छन् तामाङ पहिरनमा डोको बोकेर। उनीहरुले पनि राणाकालको कथा भनिरहेका छन्।

त्यतिबेलाको सबैभन्दा तल्लो स्तरको सरकारी कामदार हुन् उनीहरु। अर्थात् पीपा। यही पीपाको काममा गर्विलो शिर उठाएर हिँडेका थिए तामाङहरु। अरु पात्रमा उनीहरुको अनुहार छोपिएका छन्। राणाकालीन सरकारले तामाङ समुदायलाई दिएको जिम्मेवारी यही त थियो। नेपाली सेनामा भर्ती भएर पनि हतियार बोक्न र चलाउन नपाउने पीपा गोश्वारा (अहिलेको बन्दोबस्ती गण)। अर्थात् राणाकालीन शासनमा विभेदको बलियो बिम्ब। सेनामा भर्ती भए पनि सरकारले उनीहरुलाई हतियार बोक्न र युद्ध लड्न बन्देज थियो। पीपाभन्दा माथिल्लो पदमा कहिल्यै पनि पुग्न दिइएन उनीहरुलाई।

‘राणाकालमा भारी बोकाउने। आँपको बगैचामा नि:शुल्क काम गराउने। सरकारी जागिरमा प्रवेश गर्न चाहिँ पहिचान लुकाउनु पर्ने! विशेषगरी काठमाडौंमा बस्ने तामाङहरुलाई शासकहरुले धेरै 'प्रयोग' गरेका रहेछन्। तामाङहरुले भीमफेदीबाट गाडी बोकेर ल्याएको कुरा त सबैलाई थाहै छ,’ सुवासले सुनाए।

पहिलो तल्लामा मुलुकी ऐनदेखि पछिल्लो समयसम्म औपचारिक शिक्षामा रहेको महेन्द्रमाला सम्मका विषयहरु समेटिएका चित्र छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेपछिको समय होस् या १०४ वर्षीय राणाकाल। एकीकरणपछि र राणाकालमा धैरै राजनीतिक र सामाजिक परिवर्तन आए। १९१० सालमा पहिलो पटक मुलुकी ऐन पनि बन्यो। उक्त ऐनमा तामाङ जातिलाई कसरी सम्बोधन गरियो त?

इतिहासदेखि शासकहरुले तामाङ समुदायलाई कसरी हेरे र उनीहरु कस्तो जीवन जिउन बाध्य भए? तामाङ समुदायसँग जोडिएका इतिहास र स्मृतिलाई चित्रमार्फत् प्रस्ट्याउन खोजेका छन् सुवासले।

'मासिन्या मतवाली'

राणाकालमा मुलुकी ऐनले आदिवासी जनजातिलाई मासिन्या मतवाली र नमासिन्या मतवाली भनेर दुई वर्गमा बाँडेका थिए। मासिन्या मतवालीमा थारु, तामाङ, भोटे राखिएको थियो भने नमासिन्या मतवालीमा मगर, सुनुवार, गुरुङ, राई र लिम्बूहरू। साथै, मासिन्या मतवालीलाई दास बनाउन मिल्ने समेत लेखिएको थियो राज्यको कानुनमा। त्यसैले त सुवासको ध्यान तान्यो। मासिन्या मतवाली हुँदै अहिलेसम्म तामाङहरूले सरकारबाट खेप्नु परेको विभेदको कथा र तामाङ समुदायको दैनिक जीवन बुझाउन सुवासले कोरेका चित्र मासिन्या मतवाली शीर्षकमा समावेश छ।

असिने लामाको प्रभाव

दोस्रो तल्लामा पुग्नसाथ पहिलो चित्र देख्न सकिन्छ एकजना लामाको। गुम्बा नजिकै बसिरहेका ती व्यक्ति रहेछन्, असिने लामा। असिने लामाले बालीनाली जोगाउने काम गर्थे। फसलको समयमा असिना आए त्यसलाई तर्काउने जिम्मा असिने लामाको। भोजपुरका असिने सुवासकै कान्छा हजुरबुवा रहेछन्। असिना तर्काएपछि गाउँका किसानले बालीको केही अंश दिन्थे। असिना तर्काउने बाहेक उनी मूर्ति बनाउने, गुम्बाहरुमा पेन्टिङ गर्ने र थाङ्का पनि बनाउँथे। उनै दिवंगत कान्छा हजुरबुबाप्रति समर्पित गरेर चित्र कोरेको सुवासले बताए।

के बुहारी-छोरी-स्वास्नी बेची पैसा कमाउने जात हो तामाङ?

सुवासको प्रदर्शनमा चित्रमात्रै छैन, उत्तरहरु पनि छन्। सँगै प्रश्नहरुको फेहरिस्त पनि। उनी आफै चित्रमार्फत् प्रश्न सोधिरहेका छन्।

पैरवी प्रकाशनले एउटा पुस्तक प्रकाशन गरेको रहेछ - सामाजिक अध्ययन। लोकसेवाको नयाँ पाठ्यक्रममा आधारित भनेर दावि गरिएको उक्त पुस्तकमा लेखकहरु नारीश्वर भण्डारी, ऋषिराम आचार्य र श्यामकुमार पोखरेलले तामाङबारे यसरी लेखेका रहेछन् -

तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। यिनीहरू खासगरी बुहारी-छोरी स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन् भन्ने गरिन्छ। यत्तिमात्रै होइन, राम्रो खान र लगाउनको लागि आफू स्वयं पनि बन्धकीमा बस्न सक्ने हुन्छन्। यिनीहरूको धर्म बौद्ध हो। कोदो, मकै, जौ, फापर यिनीहरुको मुख्य खाना हो। घ्याङ र गुम्बा यो जातिमा पनि बनाइन्छ। यिनीहरुमा बौद्ध धर्म अलावा ‘वोनधर्म’ पनि मान्ने गरेको पाइन्छ। सामूहिक भोजभतेर, मोजमज्जा र पूजाआजामा तल्लीन रहने यो जाति अशिक्षित, गरीब र सोझो हुन्छ। यिनीहरूको चार्डपर्व दशैं, तिहारको अलावा संक्रान्ती, पूर्णिमा पनि पर्दछन्। यिनीहरुको विवाहवारी फुपूचेला, मामाचेलामा पनि चल्दछ। यो जातिमा मृत्यु र जन्म संस्कारमा लामा पुरोहितको ठूलो हात रहन्छ। मर्दाखेरी ३ दिनभन्दा बढी जुठो बार्ने चलन हुँदैन, लाशलाई गाड्ने प्रवृतिका हुन्छन् र यिनीहरूमा चाडपर्वमा समूहगत केटा-केटी मिलेर डम्फु बजाउँदै सार्‍है राम्रो गीत गाएर नाच्ने प्रचलन रहेको छ। अन्य संस्कार लिम्बू जाति झै हुने गरेको छ।

यिनै शब्दहरूले हो सुवासलाई नराम्ररी घोचेको। त्यसैले पुस्तकको विषयवस्तुप्रति रोष प्रकट गर्छन् उनी। यही किताबका अक्षरहरुलाई ढुंगामा कुँदेर 'हामी आफैँ आफ्नो पहिचान लेख्छौं' शीर्षकमा प्रदर्शनीमा राखेका छन्। उनको यो विद्रोहले प्रष्ट संकेत गर्छ - तामाङ जातिको इतिहास पुनर्लेखन गर्न ढिलो भइसक्यो।

'एक त इतिहास छैन। फट्टफुट्ट जे जति लेखिएका छन् तिनमा होच्याउने र गलत व्याख्या भेटिन्छन्। त्यसैले हिस्ट्रीमा रिभिजिट गर्नुपर्छ भन्ने मत मेरो हो,' उनले सुनाए।

आफ्ना बुहारी, छोरी र स्वास्नीसम्म बेच्नसक्ने र त्यस्तै परे आफै बन्धक बस्नसक्ने भन्दै गलत व्याख्या भएको उनको तर्क छ। यस किताबमा भएका कतिपय कुरा 'कथित' रहेको उनको दाबी छ। त्यसैले उनले उक्त अनुच्छेद पुनर्लेखन गर्दैगर्दै अन्तिम पाँचौ शिलामा मेटिदिएका छन् र शुरुमा मात्र तामाङ लेखेर छाडेका छन्। यसले भन्न खोजेको अर्थ देखिन्छ - अब यसको पुनर्लेखन हुनैपर्छ।

भावि दिनमा अगाडि बढ्न इतिहासबारे थाहा हुन जरुरी रहेको बताउँछन् उनी। ‘इतिहास नै थाहा भएन भने आफूकहाँबाट कसरी आए र यहाँसम्म आइपुग्नुमा कसको हात छ भन्ने थाहा हुँदैन। जुन कुरा थाहा पाउँदा अझ अगाडि बढ्न सजिलो हुन्छ,’ सुवासले भने। विगतलाई तामाङहरुको दृष्टिकोणबाट थाहा पाउन समेत आवश्यक रहेको उनको तर्क छ।

को:को: म्हेन्दोको इन्स्टलेसन

दोस्रो तल्लामा यो आक्रोशको कथा बोकेको शिलालेखपछि राजा महेन्द्रको पालामा पढाइएको 'महेन्द्र माला' किताबको डाँफेको कथा देखाइरहेको तामाङको तस्विर राखिएको छ। यो तस्विरको अनुहार पनि डम्फुले छोपिएको छ।

लगत्तै को:को म्हेन्दोको पर्दा देखिन्छ। को:को: म्हेन्दोलाई तामाङ समुदायमा पवित्र फूलको रुपमा लिइन्छ। यस फूलमा मौरी र भँमराले समेत परागसेचन गर्न पाउँदैनन्। जसकारण पनि यो शुद्ध फूलका रुपमा लिन्छन् तामाङ समूदायले। यही फूलका पत्ताहरु जोडेर सुवासले आर्ट वर्क गरेका छन् जसलाई उनी इन्स्टलेसन भन्न रुचाउँछन्।

त्यही नजिकैको मेचमा बसेर तामाङ समुदायको इतिहास सुनाइरहेका डम्फुरेको प्रस्तुति कोको म्हेन्दोको पर्दामा देख्न सकिन्छ। पछाडि फर्कने हो भने को:को म्हेन्दोकै कलाकृति भित्ताका फ्रेमहरुमा सजाइएका छन्।

त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसबाट स्नातोकत्तर गरिरहेका सुवासको यो पहिलो एकल प्रदर्शनी हो। यसअघि उनले सिद्धार्थमै संयुक्त प्रदर्शनी गरेका थिए। उनी आफ्नो कला प्रदर्शनका लागि सन् २०१८ मा बंगलादेशको ढाका र सन् २०१९ मा अस्ट्रेलियाको सिड्नी पुगिसकेका छन्। पाठ्यक्रममा तामाङ विषयवस्तुका कला अभाव देखिएपछि उनको ध्यान त्यतातिर मोडिएको हो।

प्रदर्शनी असोज १२ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell