PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल



राधेश्याम पटेल

सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल
रेल्वे माविमा सिसिटिभी उद्घाटन गर्दै वीरगंजका मेयर विजयकुमार सरावगी। फाइल फोटो

वीरगंज : वीरगंज महानगरको सरकारी स्कूलमा एक वर्षअघि शुरु गरिएको सिसिटिभी अनुदान कार्यक्रम असफल बन्दै गएको छ। ठेकेदारले सही समयमा सिसिटिभी जडान नगर्नु, जडान गरिएको सिसिटिभी सञ्चालन गर्ने जनशक्ति विद्यालयमा नहुनु, खराब भएको सिसिटिभी मर्मत हुन नसक्नुले गर्दा यो कार्यक्रम असफल बन्दै गएको विद्यालय प्रशासनले जनाएका छन्।

वीरगंज महानगरको ३२ वटा वडाको करिब १८ वटा विद्यालयमा अघिल्लो वर्ष सिसिटिभी परियोजना शुरु गरिएको थियो। सरकारी विद्यालयको पठनपाठन तथा गतिविधिलाई क्यामेरामार्फत नियन्त्रण गरी शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन यो कार्यक्रम लागू गरिए पनि आवश्यक प्राविधिक तयारी तथा लेखाजोखा नपुग्दा उक्त कार्यक्रम बालुवामा पानी खन्याए जस्तै बनेको प्रधानाध्यापकहरुले बताएका छन्। वीरगंज–१७ स्थित द्वार देवी माविका प्रधानाध्यापक राजुकुमार मालीका अनुसार महानगरबाट हरेक विद्यालयलाई सिसिटिभी कार्यक्रम अन्तर्गत ३ लाख अनुदान पाएको थियो।

जसमध्ये कतिपय विद्यालयमा पठाइएको अनुदानबाट सिसिटिभी क्यामेरा जडान हुन सकेको थिएन। कोरोना महामारीको कारण विद्यालयको शैक्षिक अवस्था ठप्प रहदाँ महानगर र र सिसिटिभी जडान गर्ने ठेकेदारको लापरवाहीले यो कार्यक्रम प्रभावित बनेको बताए। ‘केही स्कूलमा जडान भयो, केहीमा भएन,’ उनले भने, ‘पटकपटक महानगरको शैक्षिक प्रशासन महाशाखलाई पत्राचार गरी समस्या समाधानको लागि ताकेदा गर्दा पनि कुनै सुनुवाई भएको छैन।’ दुई वर्षको कोरोना महामारीमध्ये पहिलो लहरमा अलौ माविमा क्वारेन्टिन बनाइएको थियो। सो अवस्थामा क्वारेन्टिनमा बस्नेहरुले कतिपय क्यामेरा र तारसमेत उप्काएर फालेका थिए। अहिले क्यामेरा बन्द अवस्थामा छन्।

वीरगंज २८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगहीमा पनि सिसिटिभी सञ्चालनमा नरहेको विद्यालयका प्रधानाध्यापक अरविन्दलाल कर्णले बताए। त्यसैगरी, वीरगंज २१ स्थित गीता गजेन्द्रराज जोशी माविमा पनि ६ महिनादेखि सिसिटिभी क्यामेरा बन्द रहेको विद्यालयले जनाएको छ। नगवा माविमा पनि सिसिटिभी सञ्चालनमा नरहेको विद्यालयका प्रधानाध्यापक गोपाल महतोले बताए। उनका अनुसार यो कार्यक्रम उक्त विद्यालयमा श्रीपुर विद्यापिठ स्कूलबाट सरुवा भएर जाने बेलाभन्दा अघिको भएकोले आफूलाई खासै जानकारी नभएको बताए। नेरा मावि सोलखपुरका प्रअ पुरुषोत्तम मिश्रका अनुसार उक्त विद्यालयमा पनि हालसम्म सिसिटिभी कार्यक्रम लागू नभएको बताए। दुई वर्ष विद्यालय कोरोना महामारीको कारण प्रभावित भएकोले कार्यक्रम प्रभावित भएको बताए। वीरगंज ३१ बेल्वास्थित कोन्हिया माविमा पनि हालसम्म क्यामेरा जडान हुन नसकेको विद्यालयका प्रधानाध्यापक दायकान्त झाले बताए।

महानगर नियमन गर्न नसक्दा करिब ६० लाख खर्च गरेको उक्त परियोजना बालुवामा पानी खन्याए जस्तो भएको प्रधानाध्यपकहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell