PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पोखरामा देउवासँग जुरेको विपीनको त्यो भेट, १८ वर्षमै क्षेत्रीय प्रतिनिधि : अब कार्यकर्ताको कुरा नेताले सुन्नुपर्छ



रिना थापा

पोखरामा देउवासँग जुरेको विपीनको त्यो भेट, १८ वर्षमै क्षेत्रीय प्रतिनिधि : अब कार्यकर्ताको कुरा नेताले सुन्नुपर्छ

पोखरा : निर्भीक र निडर नेताको छवि बनाएका गिरिजाप्रसाद कोइरालाको मृत्यु हुँदा विपीन पौडेल ७ वर्षका थिए। कोइराला जसरी अर्का आशलाग्दा नेता सुशीलको मृत्यु हुँदा १३ वर्ष पुगिसकेको थिए उनी। पारिवारिक पृष्ठभूमि कांग्रेस भएकै कारण पार्टीमा झूकाव हुनु स्वभाविक हो। बाल्यकालमा राजनीतिबारे धेरै नबुझे पनि सुशीलको निधनले उनको मनमा छाप छोडेको थियो। सुशीलको निधनमा मानिसले देखाएको श्रद्धा र सम्मान विपीनको बाल्यकाल यादबाट अझै हटेको छैन।  नेतामाथि जनताले देखाएको सम्मान र विश्वासले विपीनलाई राजनितिमा तान्यो। दुबै नेताले जनतामाझ बनाएको छविले पनि आकर्षित बने विपीन।

विपीनले राजनीतिक यात्रा सुशीलको मृत्यु भएकै वर्ष ०७२ देखि सुरु गरेका हुन्। उनकै शब्दमा - १३ वर्षको हुँदादेखि विपीन राजनितिमा होमिए। नेविसंघ कास्कीको राजनीतिमा निकै सक्रिय भए। संघमा सक्रिय भएपनि कुनै पद भने लिएनन्। तर कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेर पार्टीको सक्रिय राजनीतिमा लाग्ने निर्णय गरे। सानैमा राजनितिमा लागेका विपीन अहिले १८ वर्षको उमेरमै पोखरा महानगरपालिका वडा नं ६ को अधिवेशनबाट क्षेत्रीय प्रतिनिधीमा चयन भए।  

‘यसअघि संघमात्र सक्रिय भएर लागेको थिएँ। अब पदमा बसेर संगठनलाई बलियो र सुदृढ बनाउने इच्छा छ,’ विपीनले भने।

विपीनको पारिवारिक पृष्ठभूमि कांग्रेस रहेपनि क्रियाशील सदस्यता भने थिएन। ३ वर्षअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने अवसर पाए। ‘उहाँ कार्यक्रमका लागि पोखरा आउँदा भेट भयो,’ उनले भने, ‘राजनीतिक क्रियाकलाप र पोखराको संगठन र पार्टीका बारेमा सामान्य कुरा गर्दा उहाँमा देखिएको चिन्तनले प्रभावित भएँ।’

देउवाबाट पनि प्रभावित बनेका विपीन भने आफू गुटगत राजनीतिमा नलाग्ने बताउँछन्। चलिरहेको महाधिवेशनको माहोलमा आफूले गुटगत नेतालाई नहेरी कामलाई हेरेर मतदान गर्ने सुनाउँछन्। नेताको आशिर्वादमा हिड्ने नभई संगठन बलियो बनाउन लागि पर्नेलाई जिताउन खुलेर लाग्ने उनको भनाइ छ। अब राजनीतिमा पार्टीले कार्यकर्ताको कुरा सुन्नुपर्ने विपीनको  विचार छ। 

‘अब नेताको कुरा कार्यकर्ताले सुन्ने होइन कार्यकर्ताको कुरा नेताले सुन्ने हो,’ विपीन भन्छन्, ‘नेता–नेताहरुको बिचबाट होइन कार्यकर्ताहरुको बिचबाट जन्मिनुपर्छ यस अधिवेशनमा जन्माउछन पनि।’

समृद्ध देश बनाउन र जनताका सेवा गर्नका लागि राजनीतिमा युवा लाग्नु आवश्यक रहेको उनको ठहर छ। राजनीतिक यात्राका लागि परिवारबाट पूर्ण सहयोग पाएका विपीन केन्द्रीय राजनीतिमा युवा नेतृत्व आउन जरुरी रहेको सुनाउँछन्।

‘नेतृत्वमा पुग्न वडा तहबाटै युवा वर्ग आउन जरुरी छ,’ उनले भने, ‘देशमा युवा नेतृत्व चाहिन्छ भने स्थानीय तह, क्षेत्र र जिल्ला युवा नेतृत्व आउन जरुरी छ।’ अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्नुपर्ने मानयता राख्छन् उनी। जीवनको चक्रमा आइलागेका सबै कुरालाई परिणाममा बदल्न सिक्नु पर्ने बताउँछन्। ‘नराम्रो कहिल्यै गर्नुभएन, सफल भए जितिन्छ, असफल भए पाठ सिकिन्छ,’ उनी भन्छन्।

संघमार्फत विस्तारै पार्टीको राजनीतिमा अघि बढ्ने योजना छ विपिनको। सुरुआतमा संगठन बलियो बनाउने उनको सोच छ। संगठन बलियो भए मात्र पार्टी बलियो हुने विचार राख्छन् उनी। सफल राजनीतिक यात्राका लागि निरन्तर अघि बढ्ने उनमा अठोट छ। नेताले कार्यकर्तालाई कहिल्यै बिर्सन नहुने बताउँछन्। ‘नेता हुँदै गर्दा कार्यकर्ता कहिल्यै बिर्सिनु हुन्न, कार्यकर्ता भनेका नेताका अभिभावक हुन् जसले उनलाई जन्माए हुर्काए,’ उनले भने।

क्षेत्रीय प्रतिनिधिका रहेका विपिनले कांग्रेसको महाधिवेशनमा पोखरा महानगर कार्यसमिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारलाई मतदान गर्दै छन्। साथै उनी कक्षा १२ को परीक्षा दिने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell