PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

टोपबहादुर रायमाझीले मागे सभामुखको राजीनामा, 'कांग्रेसको घोषणा पत्र बोक्ने कम्युनिष्ट होइनन्'



पहिलोपोस्ट

टोपबहादुर रायमाझीले मागे सभामुखको राजीनामा, 'कांग्रेसको घोषणा पत्र बोक्ने कम्युनिष्ट होइनन्'

काठमाडौं : नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सभामुख अग्नि सापकोटाको राजीनामा मागेका छन्। एमालेले प्रतिनिधिसभामा उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने भन्दै उनले सभामुख सापकोटाले एउटै केसमा दुईवटा मापदण्ड देखाएको आरोप लगाए। साथै, सभामुखले नैतिक रुपमा राजीनामा दिनुपर्ने माग राखे।

दुई महिना बितिसक्दा समेत सभामुखले नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको नाम नटाँसेको भन्दै उनले सभामुख पार्टीको कायकर्ता भएर चलेको आरोप लगाए।

'केही सांसदलाई पार्टीले कारवाही गर्दा ह्वीप लागेन, कारबाही भएन। त्यही केसमा हामी कारबाहीमा परेर सांसद पद गुम्यो।  एउटै केसमा दोहोरो मापदण्ड संसारमा कहीँ हुन्छ ? त्यसैले ती सभामुखले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ कि पर्दैन ? सभामुख बन्दा पार्टीको होइन।  पार्टी त्यागेर बन्नुपर्छ।  एउटै घटनामा सांसदहरुलाई दुईथरी मापदण्ड गरियो यसकारणले यस्तो सभामुखको नेतृत्वमा जो काम भइरहेको छ।  देशमा अत्याचार भइरहेको छ।  यसको विपक्षमा पार्टीले जुन बिरोध गरेको छ, त्यो जायज छ।’

उनले वर्तमान सत्ता गठबन्धनलाई 'लोभीपापी'हरुको संज्ञा दिए। उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका बताए। सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको भन्दै रायमाझीले कम्युनिष्ट भन्दै कांग्रेसको घोषणा पत्र बोकेर हिँड्नेलाई कम्युनिष्ट भन्न नमिल्ने बताए।

 ‘यो राष्ट्र र जनता भन्दा आफ्नो स्वार्थ र गुटको स्वार्थ, व्यक्तिको स्वार्थको कारणले यो सबै भइरहेको छ। त्यसकारण को सही को गलत तुलनात्मक रुपमा विचार गर्नुपर्ने बेला भएको छ,। कम्युनिष्ट हुँ भन्दै कांग्रेसको पुच्छर बनेर कांग्रेसको घोषणा पत्र बोक्नेलाई कसैले कम्युनिष्ट भन्दैन,’उनले भने।

रायमाझीले सरकारले एमसीसी बारेमा आफ्नो धारणा 'क्लियर' गर्नुपर्ने समेत बताए। उनले सरकार आफैँ अलमलमा रहेको भन्दै सरकारले एमसीसीबारे प्रस्ताव नै ल्याउन नसकेको टिप्पणी गरे। एमसीसी पास गर्दा संसदमा गएपछि राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell