PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१० बुँदेले दलदलमा एमाले, सहमतिको कार्यान्वयन नहुँदा माधव नेपाललाई छाडेका नेता संकटमा



प्रकाश भण्डारी

१० बुँदेले दलदलमा एमाले, सहमतिको कार्यान्वयन नहुँदा माधव नेपाललाई छाडेका नेता संकटमा

काठमाडौं : नेकपा (एमाले)को माझधारमा रहेका नेताहरुले तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाललाई छोड्नुको पहिलो कारण देखाएका थिए- १० बुँदे सहमति। अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमै जेठ १ गते गठन भएको कार्यदलले असार २७ गते सहमतिको १० बुँदे खाका तयार पारेको थियो। उक्त सहमतिको मस्यौदामा नेपालले विमति जनाउँदा उनीसँग रहेका भीम रावल, घनश्याम भुसाललगायतका १० जना माझधारका नेताले भने ‌एमाले विभाजनका बेला ओलीलाई रोजे।

हाल एमालेमै क्रियाशिल रहेका १० जना नेताले १० बुँदे कार्यान्वयन भएकाले एमालेमा फर्किएको तर्क गरे पनि अध्यक्ष ओली र उनी निकट नेताहरुले भने जस्ताको त्यस्तै कार्यान्वयन नहुने भन्दै एमाले भित्रको विवादलाई फेरी सतहमा ल्याइदिएका छन्। १० बुँदे कार्यान्वयन नभए एमालेमा अप्ठेरो स्थिति आउने चेतावनी दिइरहेका माझधारका नेताहरुले न ओलीको खुलेरै समर्थन गर्न सकेका छन् न त नेपालको खुलेरै विरोध। १० बुँदे कार्यान्वयनमा देखिएको मतभेदका कारण माझधारमा रहेका नेताहरु २०७५ जेठ २ गते अघि कायम रहेको कमिटीको जम्मेवारीबाट समेत वञ्चित छन्।

१० बुँदे कार्यान्वयमा मतभेद

एमाले असोज १५-१७ मा काठमाडौंमा हुने विधान महाधिवेशनको तयारीमा छ। प्रशिक्षण र भेलाका लागि शीर्ष नेताहरु देश दौडाहमा छन्। बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा पनि १० बुँदे सहमति कार्यान्वनका बारेमा नेताहरुले चर्चा गरेका थिए। वाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमतिको अक्षरस कार्यान्वन गर्नुपर्ने माग गरिन्।

‘२०७५ जेठ २ गतेको कमिटी मान्ने भनेर अन्तरपार्टी निर्देशिका जारी भएको छ। यसको अक्षरस पालना हुनुपर्छ। नभए फेरी पनि हामी अप्ठेरोमा पर्छौँ,’ उनले भनिन्।

तर, सोही कार्यक्रममै महासिचव ईश्वर पोखरेलले एमाले २०७५ जेठ २ गते अगाडिको कमिटीमा फर्कन नसक्ने बताए। साथै, १० बुँदे जस्ताको त्यस्तै कार्यान्वयन नहुने जवाफ फर्काए। उनले १० बुँदे सहमति रचनात्मक कार्यान्वयन हुने भन्दै अहिलेको एमाले पुरानो एमाले नभएको तर्क गरे।

‘पार्टीभित्रको एकतालाई १० बुँदे सम्झौतालाई सुझावको रुपमा आयो। त्यहाँ उल्लेख भएका सुझावलाई सिर्जनात्मक रुपमा लागू गर्ने कुरामा पछि हट्दैन। जेठ २ मा पुर्‍याउने भनेको पोलिटिकल सेन्समा पुर्‍याउने हो। २०७५ जेठ २ को मात्रै एमाले होइन। यो विकसित एमाले हो। यान्त्रिक रुपमा एमाले भनियो भने एमालेलाई बुझ्न सकिदैन। यो परिवर्तित सन्दर्भको एमाले हो। दुईवटा कुरालाई बिर्सिएर एमालेको कुरा गरियो भने अपुरो हुन्छ,’ पोखरेलले भने।

एमाले विवाद समाधानका लागि माधव नेपाल समूहबाट कार्यदलका संयोजक रहेका नेता भीम रावलले पनि १० बुँदे कार्यान्वन नभए एमालेमा फेरी पनि अप्ठेरो हुने चेतावनी दिइरहेका छन्। बुधवार धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले २०७५ जेठ २ गतेको एमालेमा फर्कनुपर्ने माग गरिरहेका छन्।

भीम रावल र अष्टलक्ष्मीले पाएनन् जिम्मेवारी

नेकपा एमाले २०७५ जेठ २ गतेमा फर्केको भन्दै ‘तेस्रोधार’ भनिएका नेताहरु एमाले विभाजनका बेला एमालेमै फर्किने निर्णयमा पुगेका थिए। तर, ओली निकटका नेताहरुले पार्टी पुरानै अवस्थामा फर्कन नसक्ने भन्दै १० बुँदेलाई कार्यान्वयन हुन नसक्ने बताइरहेका छन्।

१० बुँदे सहमितको दोस्रो बुँदामा एमालेको संगठन २०७५ जेठ २ गते अघि जाने उल्लेख छ। तर, उक्त बुँदा अनुसार उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्यले जिम्मेवारी पाएका छैनन्। हाल सुदूरपश्चिमको इञ्चार्ज पूर्व माओवादीका नेता लेखराज भट्टलाई तोकिएको छ भने पूर्व माओवादीकै नेता रामबहादुर थापा बादललाई वाग्मतीको जिम्मेवारी दिइएको छ। बिहीवारको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा पनि शाक्यलाई इञ्चार्जको रुपमा सम्बोधन गरिएको थिएन भने बादलले वाग्मतीको संयोजकको रुपमा मन्तव्य राखेका थिए।

ओलीले पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले महत्व दिइरहँदा माझधारका नेताहरु भने ओझेलमा परेका छन्। उनीहरुले आफूले एमालेको पुरानै जिम्मेवारी पाउनुपर्ने बताए पनि ओली निकट नेताहरुले भने तत्काल जिम्मेवारी दिने वातावरण बनिनसकेको बताएका छन्। महासचिव पोखरेलले पनि गुटबन्दी छाडे मात्रै जिम्मेवारी पाइने बताएका थिए।

कसले गर्ने निर्मम समीक्षा?

१० जना माझधारका नेताहरु एमालेमा फर्किएको भए पनि उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने माग गरिरेहका छन्। एमालेलाई हालको अवस्थामा ल्याएको, पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको, पार्टी विभाजनमा मुख्य भूमिका ओलीको रहेको भन्दै उनीहरुले ओलीबाट आत्मालोचना खोजिरहेका छन्। तर, ओलीले भने आफ्ना कारणले नभई नेपालका कारण एमाले विभाजन भएको र आफूले माओवादीका नेताहरुलाई समेत एमालेमा मिसाएर पार्टी बलियो बनाएकाले तर्क गरिरहेका छन्।

ओलीले आफ्नो पार्टीको सरकारलाई ढाल्न लागेको भन्दै माझधारकै नेताले आत्मालोचना गर्नुपर्ने अडान राखिरहेका छन्। काठमाडौंका कार्यकर्ता भेलामा शाक्यले ओलीले निर्मम तरिकाले आत्मसमीक्षा गर्नुपर्ने माग गरेकी थिइन् भने माधव नेपाललाई एमालेमै फर्कन आग्रह गरिन्। ओलीले भने पार्टी विभाजनका लागि नेपाललाई बोलाएको भन्दै शाक्यको आलोचना गरे। भने, ‘केही साथीहरुले आउनुस् एमालेमै फर्कनुस् भन्नुभएको छ। फेरी किन पार्टी फुटाउन? हाम्रो पार्टीको सरकार ढाल्नका लागि?’

एमालेका उपमहासचिव घनश्याम भुसालले पनि एमाले भित्र समस्या रहेको भन्दै आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा देखिएको समस्याकै कारण एमाले अहिलेको अवस्थामा पुगेको टिप्पणी गरेका थिए।

‘हामी धेरै अप्ठेरोमा छौँ। कहाँ थियौ कहाँ खसेका छौँ। नेकपा (एमाले)को सबभन्दा ठूलो र प्रभावकारी भूमिका खेल्नुपर्ने ठाउँमा छौँ। आज पनि हामी राष्ट्रिय शक्ति हौँ। हामी मात्तिने र आतिने होइन,’ उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell