पोखराः पुरातात्विक सम्पदाले इतिहास देखाउँछ। इतिहासको प्रमाणमध्ये एक हो सम्पदा। तर त्यही प्रमाणको संरक्षणमा पर्याप्त चासो नहुँदा अमूल्य इतिहास प्रमाण हराउने अवस्थामा छन्। एक सय वर्षको इतिहास बोकेको पोखराको बालधाराको अवस्था अहिले यस्तै छ।
नाबालक छोरा बाल शमशेरको स्मृतिमा सन् १९७७ मा तत्कालीन चिफ इन कमाण्डर बबर शमशेरले पोखरामा बालधारा बनाएका थिए। बबर शमशेरले छोराको सम्झनामा बनाएका १२ भन्दा बढी बालधाराले तत्कालीन समयमा पोखरेलीको तिर्खा मेटायो। तर इतिहासको दृश्य बोकेको बालधारा आजभोलि कतै नाला त कतै घर र सडकले छोपिएका छन्। त्यो पनि अवशेषका रुपमा।
पोखराको पुरानो बजार मानिएको भैरवटोल, तेर्सापट्टी, नालाको मुख लगायतका विभिन्न स्थानमा बालधारा बनाइएको थियो। पुरातात्विक खोजकर्ता सुनिल उलकका अनुसार तत्कालीन समयका सैनिक कमाण्डर इन चिफ बबर शमशेरले यस्ता प्रकारका धारा पोखराका अन्य १२ स्थानमा निर्माण गरिएको जनाउँछन्। उलकको जानकारीलाई वि.सं. १९७७ सालमा निर्माण गरिएका बालधाराको शिलालेखले पुष्टि गर्छ। बबर शमशेर सपरिवार पोखरा आउँदा साढे १३ वर्षमै निधन भएका पुत्र बाल शमशेरको स्मृतिमा धारा निर्माण गरिएको हरेक धाराहरुको शिलालेखमा उल्लेख छ। उक्त धाराहरुलाई बबर शमशेरले कीर्तिपुरका बैकुण्ठलाल श्रेष्ठको डिजाइनमा निर्माण गराएका थिए।
तर, इतिहास बोकेको धारा नष्ट हुने अवस्थामा छन्। बालधाराको संरक्षणमा कसैको चासो छैन। अधिकांश धाराको अवशेष मात्र बाँकी छ। कतै त धारा नै भत्काएर बाटो निर्माण गरिएको छ भने कतै धारा भएका स्थानमा निजी घरका पिँढीले अस्तित्व मेटाएको छ।
जानकारहरुका अनुसार पोखरामा मावनवस्तीको सुरुआत भएको लामो समय भएको छैन। पिउने पानीको अभाव रहेको बेला बबर शमशेरले निर्माण गरेको धाराले पोखरेलीको तिर्खा मेटाएको बताइन्छ। अर्को ऐतिहासिक दाबी के छ भने पोखरामा पहिलोपटक फलामको पाइपबाट पानी ल्याएर सार्वजनिक कलधारा निर्माण भएको बालधारा नै हो।
कहाँ र कस्तो अवस्थामा छन् बलधारा?
हाल पर्स्याङको धारापानीबाट ल्याइएको पानीले १२ वटा बालधारामा पानीको पाइप जडान गरिएको थियो। अहिले उक्त धारापानीबाट पर्स्याङ क्षेत्रमा दैनिक २० हजार लिटर पानी उपलब्ध हुँदै आएको छ।
वडा नम्बर १ को बागबजार चोक (जहाँ अहिले पनि धारा देखिन्छ), वडा नम्बर २ विन्दावासिनी परिसरभित्र (जहाँ अहिले अवशेष पनि देखिँदैन), वडा नम्बर १ मोहरिया टोलको संगम चोक (शिलालेख मात्र देखिन्छ), वडा नम्बर २ भैरव टोल (उक्त स्थानमा धाराको अवस्थ राम्रो), वडा नम्बर २ भीमसेन टोल (खम्बा मात्र देखिन्छ) मा धारा राखिएका थिए।
यस्तै वडा नम्बर ४ नालाको मुखमा धाराको अवस्था दयनीय छ। केही समय अघिमात्र उक्त स्थानका स्थानीयले धाराको डुँड भत्काएका थिए। जून हिजोआज झन दयनीय अवस्थामा पुगेको छ।
वडा नम्बर ४ गणेश टोलका २ स्थानमा रहेका धारा अहिले घर तथा फुटपाथ र बाटो निर्माणका कारण अवशेषसमेत देख्न पाइँदैन। अध्येता उलक उक्त स्थानमा उत्खनन् गरिए धारा भेटिने दाबी गर्छन्।
यस्तै सिद्धार्थ चोकमा बनाइएको धारा पनि अहिले बाटो र घरले मेटाएको उलाक बताउँछन्। यता वडा नम्बर ८ सिमल चौरमा भने धारालाई राम्रो अवस्थामा देख्न सकिन्छ। वडा र स्थानीयले उक्त धारालाई संरक्षण गरेर राखेका छन्। संरक्षणका लागि १ लाख बजेट वडामार्फत छुट्याइएको थियो।
वडा नम्बर ३ तेर्सापट्टीमा अवस्थित धारालाई केही समय अगाडिसम्म राम्रै अवस्थामा देख्न सकिन्थ्यो। तर अहिले व्यक्तिगत जग्गामा धारा रहेको दाबी गर्दै भत्काइएको छ। धारा भएको स्थानलाई बालधारा चोकको नामले समेत चिनिन्छ। वडा ३ मा अवस्थित धारा संरक्षणका लागि तेर्सापट्टी बालधारा निर्माण समिति गठन भएको छ। समितिले भत्काइएको धारालाई नयाँ स्थानमा मर्मत गरेर संरक्षण गर्ने बताएको छ। यता वडा नम्बर ९ साँघुमुखमा अवस्थित धारालाई घरको पिँढीले छेकेको छ। उक्त स्थानमा धाराको सानो पाइप भने देख्न सकिन्छ।
बालधाराको पानी पिएर हुर्किएका....
पानीको अभाव भएको समयमा तिर्खा मेटाउने बालधारा नै मुख्य स्रोत रहेको बताइन्छ। अहिले भने धारा अपहेलित छ। त्यस समय धाराको बायाँतर्फ गाईभैसीलाई पानी खुवाउने डुँडसमेत बनाइएको थियो।
खोजकर्ता उलक आफैँ बालधाराको पानी पिएर हुर्किएका हुन्। २०३८ सालसम्म आफूहरुले सोही धाराको पानी प्रयोग गरेको बताउँछन् उलक। त्यसको केही समयपछि धारामा लगातार पानी आउन छोडेको उनको भनाई छ। कुनै समय तिर्खा मेटाउने काम गरिरहेको धारा अहिले उपेक्षित हुँदा उनी दुःखी सुनिन्छन्।
उलक जस्तै बालधाराको पानी पिएर हुर्किएका ७७ वर्षीय क्षेत्रलाल कायस्थलाई बालधाराबाट पानी पिएको स्मृति छ। ‘नुहाउने, कपडा धुने, पिउने पानी भर्ने सबै बालाधाराबाट हुन्थ्यो,’ कायस्थले बताए ।
बालधारा उपेक्षित हुनुको एक कारण भोटी खोला योजनालाई मान्न सकिन्छ। वि.स २०२२ सालमा पोखरेलीले भोटीखोला योजना पाएका थिए।
कायस्थ सम्झन्छन्, ‘भोटी खोलाको पानी भाँडा र कपडा धुनमात्र प्रयोग हुन्थ्यो, पिउनका लागि त हामीले बालधाराको पानी नै प्रयोग गरिन्थ्यो, पछि रत्न मन्दिरमा पानी लगेपछि पनि आउन छाडेको हो।’
कायस्थका अनुसार २०२६ सालमा बालधाराको पानी रत्न मन्दिरमा जोडेपछि पानी विस्तारै सुक्न थालेको हो। त्यस समय पानी सुक्दै गएपछि खानेपानीमा खबर गर्दा पानी प्रयोग गरेको पैसासमेत मागेका कायस्थ बताउँछन्। धारामा पानी नआए पनि ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्ने कायस्थ सुझाउँछन्।
बालधाराकै पानी पिएर हुर्किएका अर्का व्यक्ति हुन् ९० वर्षीय जगतबहादुर ताम्राकार। उनले पनि बालधाराको ऐतिहासिक महत्वलाई कदर गर्दै संरक्षण गर्नुपर्ने बताए।
बालधारा संरक्षण समिति
उपेक्षित बनेको बालधारा संरक्षणमा वडा र स्थानीय लागिपरेका छन्। बालधारा संरक्षणका लागि यसअघि नै सुनिल उलकको संयोजकत्वमा ‘बालधारा संरक्षण अभियान समिति’ गठन भएको थियो। जसमा सूर्य क्षेत्री, विष्णु अधिकारी र राजन श्रेष्ठ सदस्य थिए। समितिले प्रभावकारी रुपमा काम भने गर्ने सकेन। अहिले पुनः बालधारा संरक्षणकै लागि तेर्सापट्टि बालधारा निर्माण समिति गठन भएको छ।
संरक्षणका लागि सम्बिन्धत निकायबाट सकारात्मक प्रतिक्रिया वा सहयोग नआएको समितिको गुनासो छ। अभियानमा जुटेपछि समितिले महानगरमार्फत बालधारा संरक्षणका लागि बजेट पाउने आश्वासन पाएको थियो। तर यो वर्ष महानगरपालिकाले बजेट दिएन।
‘गत वर्ष धारा मर्मतका लागि महानगरसँग रकम माग्दा बजेट नपुगेको बताउनुभयो,’ उलाकले भने,‘यो वर्षको रातो किताबमा पार्छु भनेर वास्ता गर्नुभएन।’
सम्बन्धित निकायले धारा संरक्षणमा चासो नदेखाएको उलाकको गुनासो छ ।
यता तेर्सापट्टीमा रहेको बालधारा संरक्षणका लागि स्थानीय नै बाधक बनेका छन्। आफनो घर अगाडि धारा नराख्ने भन्दै घरधनीले धारा मर्मत कार्यमा अड्चन पारेका छन्।
सम्बन्धित निकाय के भन्छन्?
गत वर्षदेखिनै स्थानीय र वडा धारा संरक्षामा जुटिरहेका छन्। ३ र ४ नम्बर वडाध्यक्षहरु धारा संरक्षण अभियानमा साथ दिन समितिसँग जुटेका हुन्। तर पनि उपलब्धि शून्य छ। धाराको अवस्था समयसँगै दयनीय बन्दै छ। वडा ३ र ४ का वडाध्यक्षले धारा संरक्षण गर्ने प्रतिवद्धता जनाए पनि काम गर्न सकेका छैनन्।
धारा संरक्षणका विषयमा वडा ४ का अध्यक्ष शंकर बास्तोलाले केही चासो देखाउँदै आएका छन्। महानगरले संरक्षणमा चासो नदेखाएको उनको आरोप छ। महानगर सम्बन्धित निकायबाट साथ र सहयोग नपाए वडाबाटै मर्मत कार्यमा जुट्ने उनी बताउँछन्।
‘जिम्मेवारी कसको भनेर हिँड्नभन्दा संरक्षणको विषयमा आफैं लाग्नुपर्छ,’ बास्तोलाले भने, ‘महानगरपालिकाले वडासँग सहकार्य गरेन भने वडाले आफ्नै मर्मत सम्भार कोषबाट काम गर्छ।’
वडाबाटै संरक्षणमा जुटे पनि महानगरका अधिकृतलाई भने यसबारे जानकारी छैन। महानगरका सूचना अधिकारी भरतराज पौडेल आफूलाई धाराको विषयमा केही जानकारी नभएको बताउँछन्।
संरक्षणका लागि स्थानीय र वडाले महानगरसँग सहकार्य गर्न खोजे पनि धारा संरक्षणको जिम्मा भने नेपाल खानेपानी संस्थान पोखराको हो। केही समय अगाडिसम्म संस्थानले धारामा आएको पानीको शुल्क उठाउँथ्यो। धारा बेवास्तामा परेका बेला संस्थानका एक अधिकृत भने संरक्षण गरेको बताउँछन्।
‘खानेपानी संस्थानले संरक्षण पनि गर्छ। हेर्ने काम पनि उसैले गर्या छ,’ उनले भने, ‘खासै त बिग्रेको छैन यो वर्ष मर्मतका लागि हालेका छौँ।’
उनी धारा नभाँचिएको बताउँछन्। यस वर्ष धाराको मर्मत गर्ने उनले बताए। ‘त्यो देखिएको जस्तो हैन धारा भाँचिएको छैन। हामी मर्मतदेखि सबै सुधार गछौँ,’ उनले भने।