PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रोहित शर्मालाई उपकप्तानबाट हटाउन कोहलीले गरेका थिए प्रस्ताव! के थिए विराटमाथिका दबाब ?



पहिलोपोस्ट

रोहित शर्मालाई उपकप्तानबाट हटाउन कोहलीले गरेका थिए प्रस्ताव!  के थिए विराटमाथिका दबाब ?
Photo: BCCI

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बिहीवार सामाजिक सञ्जालमार्फत विश्वकपपछि टी २० फर्म्याटको कप्तानी छाड्ने घोषणा गरे। उनी आफ्नो खेल कौशलसँगै अन्य विषयमा पनि चर्चामा आइरहन्छन्। कोहलीको यो घोषणा अघि नै पनि उनले कप्तानीबाट पछि हट्ने चर्चाहरु चलेको थियो। यसपटक भने कोहलीको कप्तानी छाड्ने निर्णयपछि टिमभित्रका आन्तरिक द्वन्दका विषयहरु पनि बाहिर आउन थालेका छन्।

समाचार संस्था पीटीआईको स्रोतलाई हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमहरुले कोहलीले टिमका उपकप्तान रोहित शर्मालाई हटाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष प्रस्ताव गरेको दाबी गरेका छन्। ३२ वर्षीय कोहलीले शर्मा ३४ वर्षको पुगेको भन्दै टी २० र एकदिवसीयमा उपकप्तान अन्य खेलाडीलाई बनाउनुपर्ने प्रस्ताव गरेका थिए। एकदिवसीयमा केएल राहुल र टी २० मा ऋषभ पन्तलाई उपकप्तान बनाउनु पर्ने प्रस्ताव कोहलीले राखेका थिए। यद्यपि, उनको प्रस्ताव बोर्डले नरुचाएको बताइएको छ।

कोहली र शर्माबिचको टसलको यो पहिलो घटना भने होइन। सन् २०१९ को विश्वकपका क्रममा यी दुई खेलाडीबिच बोलचाल नै बन्द भएको समेत समाचारहरु बाहिर आएका थिए। यसपटक कोहलीलाई धेरैतर्फबाट दबाब रहेको बताइएको छ। कप्तानी छाड्ने घोषणा गरेको ट्वीटमा कोहलीले वर्क लोडलाई मुख्य कारण देखाएका छन्।

खासगरी तीनवटा मुख्य चुनौती कोहलीको सामु रहेको बुझिन्छ। पहिलो कोहली पछिल्लो नौ वर्षयता इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर बेङ्ग्लोरको कप्तानी गर्दै आएका छन्। तर उनले अहिलेसम्म आफ्नो टोलीलाई उपाधि दिलाउन सकेका छैनन्। रोहित शर्मा भने आईपीएलकै सफल कप्तानका रुपमा देखिएका छन्। शर्माको सफलताका कारण कोहलीको कप्तानीमाथि प्रश्न उठ्ने धेरै स्थान रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। 

त्यस्तै, दोस्रो भनेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ट्रफी उचाल्न नसकेकाले पनि कोहलीमाथि दबाब छ। किनभने उनको कप्तानीमा भारतले सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनल, वान डे विश्वकप २०१९ को सेमिफाइनल र यो वर्ष विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुगेर पनि उपाधि दिलाउन उनी असफल रहे।

त्यस्तै, यसपटक विश्वकपमा भारतको पहिलो प्रतिस्पर्धी नै पाकिस्तान रहेको छ। यी चिर प्रतिद्वन्दीबिच सँधै जितको दबाब रहने गर्छ। २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँगै पराजय ब्यहोरेका कप्तान कोहलीलाई विश्वकपको सुरुवातमै पाकिस्तानसँगको खेलले थप दबाब बढाउने छ।

त्यस्तै मैदानबाहिर कोहली संवादका लागि उपलब्ध हुन कठीन हुने गरेकाले बीसीसीआई नै पनि निराश भएको बीसीसीआई स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन।

'विराटसँग संवादको समस्या छ। धोनीको कोठा खेलाडीका लागि सँधै खुला हुने गर्थ्यो। उनीसँग खाना खान सक्थ्यो, भिडियो गेम खेल्न सक्थ्यो र आवश्यकता अनुसार क्रिकेटको बारेमा कुरा पनि गर्न सक्थ्यो,' एक पूर्वक्रिकेटरले पीटीआईसँग भनेका छन्, 'तर मैदान बाहिर कोहलीलाई भेट्न एकदमै कठिन छ। तर रोहित फरक छन्। उनी नयाँ खेलाडीलाई प्रोत्साहन दिने र मनोविज्ञानबारे जानकारी राख्छन्।'

त्यस्तै बीसीसीआईका अधिकारीहरुले यूएईमा हुने विश्वकपमा पनि कोहलीले सफलता प्राप्त गर्न नसकेको खण्डमा उनको कप्तानीको तरिकामाथि पनि प्रश्न उठ्न सक्ने बताएका छन्।

दबाबबिच कोहलीले राजीनामा घोषणा गरिसकेका छन्। राजीनामासँगै शर्मा र कोहलीको कोल्ड वार भारतीय मिडियाका लागि हटकेक भएको छ। तर, भारतीय मिडियामा आएका आन्तरिक कलहका बारेमा न कोहलीले केही भनेका छन् न त शर्माले नै। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell