PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मासिक ३ लाख भन्दा बढी भाडा पर्ने माधव नेपालको कस्तो छ मुख्यालय?



प्रकाश भण्डारी

मासिक ३ लाख भन्दा बढी भाडा पर्ने माधव नेपालको कस्तो छ मुख्यालय?

काठमाडौं : नेकपा (एकीकृत समाजवादीले) पार्टीको केन्द्रीय कार्यालय तीनकुने स्थित भाडाको घरलाई बनाएको छ। नेकपा एमालेलाई विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एस)ले मासिक ३ लाख २५ हजार रुपैयाँ तिर्नेगरी निजी घरलाई पार्टी कार्यालय बनाएको हो।

पार्टीका सम्पूर्ण गतिविधि अब केन्द्रीय कार्यालयबाट सञ्चालन हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। निर्वाचन आयोगले दलको मान्यता दिएसँगै पार्टी कार्यालयको आन्तरिक संरचना तयारी भइरहेको थियो। रंगरोगन लगायतका कामहरु सकिएपछि नेकपा (एस)ले शुक्रवार पार्टी कार्यालयको उद्घाटन गरेको हो।

कस्तो छ पार्टी कार्यालय?

मुख्यालय बसेको तीन तले घरमा १५ वटा कोठा रहेको नेकपा एसका नेताहरुले बताएका छन्। पूजा थापा बस्नेतको घरलाई पार्टी कार्यालय बनाइएको खतिवडाले जानकारी दिए। अध्यक्ष नेपालको र उनको सचिवालय, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीको सचिवालय, पार्टी कार्यालयको सचिव लगायतका लागि  अलग अलग कोठाहरु छुट्टाइएको छ। बैठक बस्नलागि हल बनाइएको भए पनि नेताहरुका गाडि पार्किङको लागि भने राम्रो सुविधा छैन। कम्पाउण्ड भित्र पार्किङ गर्न नमिल्ने भए पनि घर अगाडि खुल्ला क्षेत्र भएकाले पार्किङ गर्न सकिने व्यवस्था छ। उद्घटान कार्यक्रममा पुगेका नेता कार्यकर्ताका गाडीहरु पनि घर बाहिरको खाली ठाउँ (सडक किनार)मा पार्किङ गरिएका थिए।

एमालेको भन्दा फरक हुने नेपालको प्रयास

माधव नेपालले उद्घाटानमा सबै पार्टी उस्तै त हुन् भन्ने दृष्टिकोणलाई चिर्ने बताएका थिए। उनले नयाँ मुख्यालयबाट नेपालको कम्युनिस्ट आन्दोलनको तारा उदाउने घद्घोष गरे भने अहिलेको सत्ता गठबन्धन चुनावसम्मै एक भएर जाने बताए।

'सबै नेता उस्तै हुन्। सबै पार्टी उस्तै हुन् भन्ने कुरालाई चिर्ने छौं। गफबाट हैन, हाम्रो गतिविधि र व्यवहारले पुष्टि गर्नेछ,' नेपालले भने, 'हामी यथार्थ कुरा गर्नेछौं। सपनाको तरेलीमा कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं। नेपाल राष्ट्र र नेपाली जनता यो नै हाम्रो सम्पूर्ण चिन्तन, गतिविधिको केन्द्रमा हुनेछ।'

नेपालको पार्टीले पार्टी कार्यालयका लागि व्यापारिको घर प्रयोग भएको र भाडामा पारदर्शिता नहुने गरेको भन्ने अरु पार्टीहरुले खेपिरहेको आलोचनालाई मध्यनजर गरेर पार्टी कार्यालयको भाडा सार्वजनिक गरेका हुन्। यसअघि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा भाडा सार्वजनिक गरिएको थिएन। व्यापारिक पृष्ठभूमिका नेता मोतिलाल दुगडको आफन्तको घरलाई एमालेले पार्टी कार्यालय बनाएको छ। त्यसअघि पनि एमालेको पार्टी कार्यालय रहेको धुम्बाराही संरचना यति समूहको थियो जुन ओली सरकार रहुन्जेल सधैं विवादको घेरमा रहिरह्यो। 

एमालेको सम्पत्तिमा दाबी नगर्ने!

कानुनी रुपमा एमालेबाट विभाजन भएर नयाँ बनेको नेकपा (एस)ले एमालेको सम्पतिमा दाबी नगर्ने बताएको छ। पार्टीका प्रवक्ता खतिवडाले अहिले सानो पार्टी कार्यालय र सानो संगठनको पार्टी भए पनि भविष्यमा ठूलो बनाउन सकिने भन्दै एमालेको सम्पत्तिमा लोभ नगर्ने बताए।

'हामी आनन्दका साथ अघि बढ्न चाहन्छौं। झै झगडा चाहँदैनौं। जे हुन्छ कानुनी प्रावधान अनुसार हुन्छ। हामीले एमालेको सम्पत्तिमा दाबी गरेका छैनौं,' उनले भने।

ठूलो पार्टी कार्यालयबाट सानोमा झर्दा कस्तो लाग्यो?

प्रवक्ता खतिवडाले नयाँ पार्टी भएकाले नयाँ कार्यालय खोलिएको जानकारी दिए। तर, संगठन र नेता कार्यकर्ताको अनुभवका हिसाबले भने आफ्नो पार्टी नयाँ नभएको उनको जिकिर थियो।

उनले आफूहरुलाई सानो पार्टी कार्यालयमा झरेकोमा कुनै अप्ठेरो नलागेको प्रष्टिकरण दिए । उनले एमालेमा विद्रोह गरेर आएकाले आफूहरुसँग विद्रोही चेत रहेको बताए।

'हामी एमालेबाट बिद्रोह गरेर आएका हौँ। हामीसँग बिद्रोही चेत छ। सँगसँगै हामीले सिर्जनात्मक रुपमा काम गर्ने छौँ। सिर्जनाका हिसाबले पनि हामीले काम गरिरहेका छौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell