PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

११ हजार कोभिड-१९ संक्रमितको मृत्यु हुँदा रुकुम पूर्व शून्य, सुगममा बढी दुर्गममा कम मानवीय क्षति



विधुर ढकाल

११ हजार कोभिड-१९ संक्रमितको मृत्यु हुँदा रुकुम पूर्व शून्य, सुगममा बढी दुर्गममा कम मानवीय क्षति

काठमाडौं : कोभिड-१९ संक्रमणबाट नेपालमा बिहीवार ४ बजेसम्म ११ हजार २ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये सबैभन्दा धेरै ७० वर्ष माथिका संक्रमित छन्। ७० वर्ष माथिका तीन हजार ६१३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। बिहीवार थप १० जना संक्रमितको मृत्यु हुँदा मृतकको संख्या १० हजार १२ पुगेको छ।

कोभिड-१९ संक्रमणबाट नेपालमा भएको कूल मृत्युमध्ये ७० वर्ष देखि ७९ वर्ष सम्मका १९.७ प्रतिशत अर्थात् दुई हजार १६४ र ८० वर्ष माथिका १३.२ प्रतिशत अर्थात् एक हजार ४४९ जना रहेका छन्। 

त्यस्तै, ९ वर्ष सम्मका ४७ जनाको मृत्यु भएको छ। जुन ०.४ प्रतिशत हो। त्यस्तै, मृत्यु हुनेमा १० देखि १९ वर्षसम्मका ०.५ प्रतिशत रहेका छन्। 

 

२० देखि २९ वर्ष सम्मका ३४६, ३० देखि ३९ वर्ष सम्मका ८९३ जनाको मृत्यु भयो कोभिड १९ संक्रमणकै बिच। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४० देखि ४९ वर्षसम्मका एक हजार ५६९ र ५० देखि ५९ वर्ष सम्मका दुई हजार १४६ जनाले ज्यान गुमाए। ६० वर्ष देखि ६९ वर्ष सम्मका दुई हजार ३२३ जना रहेनन्। 

कुल मृतकको विवरण हेर्दा ५० वर्ष माथिका मात्र ८ हजार ८२ जना रहेको देखिन्छ जुन कूल मृत्युको ७३.५ प्रतिशत हो। 

मृतकमध्ये काठमाडौं उपत्यकामा मात्र तीन हजार २०७ जना रहेका छन्। जुन कूल मृत्यु हुनेको २९.१ प्रतिशत हो। यसमा पनि काठमाडौं जिल्लामा मात्र दुई हजार १२५ जनाको मृत्यु भएको छ। त्यस्तै, ललितपुर जिल्लामा ६५८ र भक्तपुरमा ४२४ जनाको मृत्यु भएको छ। 

प्रदेश १ मा १९८३ जनाको मृत्यु
यसै बिच प्रदेश १ मा एक हजार ९८३ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको त्यहाँको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ६७१ जना महिला र एक हजार ३१२ जना पुरुष रहेका छन्।  

मृतकमध्ये सुनसरीमा सबैभन्दा बढी १८९ महिला र ३२३ पुरुष गरी ५१२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, मोरङमा १४४ महिला र ६५६ पुरुष गरी पाँच सय जनाको मृत्यु भएको छ। 

 

प्रदेश २ मा एक हजार ३६ जनाको मृत्यु
प्रदेश २ मा एक हजार ३६ जनाको मृत्यु भएको त्यहाँको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ सबैभन्दा बढी मृत्यु बारा जिल्लामा भएको छ। बारामा १७६ जना संक्रमितको मृत्यु भएको हो। 

गण्डकीमा १३३९ मृत्यु
यसैबिच गण्डकी प्रदेशमा एक हजार ३३९ जनाको म‌ृत्यु भएको त्यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

लुम्बिनीमा २१९७ संक्रमितको मृत्यु
लुम्बिनी प्रदेशमा गत भदौ २८ सम्मको विवरण अनुसार दुई हजार १९७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा ५०७ जना संक्रमितको मृत्यु भएको छ। यस प्रदेशको रुकुम पूर्व एउटा यस्तो जिल्ला रह्यो जहाँ कोभिड १९ संक्रमित एक जनाको पनि ज्यान गएको छैन।


कर्णाली प्रदेशमा ३७४ जनाको मृत्यु
स्वास्थ्य निर्देशनालय सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ३७४ जनाको मृत्यु भएको छ। 

 

सुदुरपश्चिम प्रदेशमा ५८८ जनाको मृत्यु
सुदूर पश्चिम प्रदेशमा ५८८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकमा उल्लेख छ। 

मृत्यु भएका मध्ये २४५ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका संक्रमित हुन् भने ३४३ जनामा आरटी-पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell