PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइए, २१ मूर्ति फर्कने क्रममा



रासस

नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइए, २१ मूर्ति फर्कने क्रममा
फाइल फोटो।

ललितपुर : पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताएका छन्।

नेपाल सम्पदा पुनर्जागरण अभियानले आज आयोजना गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’

यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए। चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको पनि उनले औँल्याए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडा नम्बर १६ पटकोबाट २०४२ सालमा चोरिएको कमलाज विष्णु अर्थात लक्ष्मीनारायणको मूर्ति यही वैशाख १६ गते आफूहरुले पाटन दरबार सङ्ग्रहालयमा फर्काउन सफल भएकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘यस मूर्ति पुनर्स्थापना गरिसकेपछि फेरि हराउन सक्छ, सीसीटीभी, सडकबत्ती राख्ने खर्च महानगरपालिकाले गर्नेछ।’

यसैगरी, पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाए। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिए।

उनले भने, ‘मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नुपर्ने हुन्छ।’

अभियानका सञ्चालक रोशन मिश्रले आफूहरुले धेरै सङ्ग्रहालयलाई पत्राचार गरी चोरीएका मूर्ति फर्काउन अनुरोध गरेको बताए। महानिर्देशक गौतम र प्रमुख महर्जनले संयुक्त रुपमा ललितपुरमा आज सो अभियानको शुभारम्भ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell