PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जयदास जो हरेक वर्ष लाखे बन्छन्…



सहयोग रञ्जित

जयदास जो हरेक वर्ष लाखे बन्छन्…

वसन्तपुरबाट केही मिटर टाढा छ लाखेननी। यँया (इन्द्रजात्रा)मा यहीँबाट निस्किन्छन् मजिपा लाखे। इन्द्रजात्रा सुरु भएको एक सातासम्म लाखे नाचेको दृश्य हेर्न सयौं मानिस यहाँ पुग्छन्। धेरैको प्रश्न हुन्छ लाखे को बन्छ? पूरै जात्रामा एकैजना लाखे बन्छन् कि परिवर्तन हुन्छन्?

हरेक युगमा उपद्रो गर्ने मानिसहरुको कमी हुँदैन। मानिसभित्र रहेको राक्षस जन्मेपछि ऊ उदण्ड हुन्छ, आतंककारी बन्छ। तर, समाजका मानिसहरु एकजुट भएपछि जतिसुकै बलवान वा शक्तिशालीहरु पनि परास्त हुन्छन्। त्यसकै प्रतीक हो - लाखे।

लाखेमा रहेको आतंककारी स्वभावलाई बन्धनमा पारेर उसलाई शान्त बनाउन मानिसहरु सफल भएका थिए। त्यसैले लाखेलाई शान्त भैरब पनि भन्ने गरिन्छ। नेवारहरुले आफूभन्दा अग्रजहरुलाई अजी, आजु भन्ने गर्छन। भैरवलाई पनि सम्मान स्वरुप नेवारहरु आजु भन्छन्। लाखे शान्त भैरवको प्रतीक भएकाले उनलाई पनि 'लाखे आजु' भन्ने गरिन्छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग मानिसमा देवत्व र दानवत्व दुवै गुण हुने बताउँछन्। लाखे त्यही देवत्व र दानवत्वको प्रतीक हो। त्यसैले त लाखे बन्ने इच्छाका साथ कयौं युवाहरु हरेक वर्ष लाखेननी पुग्छन्। मौका चाहिँ त्यहाँ पुग्ने केहीले मात्रै पाउँछन्।

+++

करिब २५ वर्ष भयो। मजिपातका जयदास रञ्जितले इन्द्रजात्रामा लाखे बन्दै नाच्दै आएको। त्यसयता उनी हरेक वर्ष लाखे बनिरहेका छन्। गत वर्ष कोरोना कारणले इन्द्रजात्रा नित्य पूजामा सीमित भएको थियो। जसकारण लाखे पनि निस्किएन। यस वर्ष भने स्वास्थ्य मापदण्ड पालना गर्दै इन्द्रजात्रा हुँदैछ। सँगै जयदास पनि लाखे बनेर निस्कने तयारीमा छन्।

युवा उमेरमा दिनमा करिब ५-६ घण्टा लाखेको ख्वापा लगाएर नृत्य गरेका उनी सम्झन्छन्। 'पहिलाजस्तै त सक्दिन होला। तर, अझै केही वर्ष नाच्न सक्छु,' निर्धक्क सुनिए उनी।

लाखेको ख्वापा लगाएर नाच्दा गाह्रो हुँदैन?

जयदास जस्तै लाखे बनिरहेकाहरुलाई धेरैले सोध्ने गर्छन्।

'ख्वापा लगाएर नाचेपछि गाह्रोसाह्रो महसुस हुँदैन। हामीमा आफैँमा शक्ति आएको महसुस हुन्छ। त्यो लाखे आजुप्रतिको सम्मान पनि हो,' उनको जवाफ।

अहिले धेरै युवाहरु लाखे बन्न आउने गरेको भन्दै उनले आफ्नो समयको कुरा सुनाए।

'हामीले पनि हेर्दै सिकेका हौं। बाल्यकाल र युवावस्थामा लाखेसँग घुम्दै हिँड्ने। नृत्य हेर्ने, बाजा बजाउन सिक्ने। प्रशिक्षण भन्ने हुँदैन। अहिले पनि हुँदैन। सबै हेरेर नै सिक्ने हो,' उनले भने।

नयाँ पुस्ताले संस्कृति संरक्षणमा चासो देखाइरहेका कारण इन्द्रजात्रासँग सम्बन्धित कयौं मूर्त अमूर्त सम्पदाहरु पनि जगेर्ना हुने उनको विश्वास छ। ठूलो भएर छोरा रिजय पनि लाखे बन्नेमा उनी विश्वस्त छन्।

पहिला रंजितहरु मात्र लाखे बन्छन् भन्ने मान्यता थियो। तर, अहिले त्यस्तो छैन। रंजित समुदाय बाहेकका व्यक्तिहरु पनि लाखे बन्न पाउँछन्। लाखे आजुलाई सम्मान दिएर नाच्न सक्ने सबैलाई अवसर भएको उनी बताउँछन्।

+++

इन्द्रजात्रामा निकालिने प्रमुख नाच मध्ये ‘मजिपाः लाखे’ मूलतः रंजितहरुले संचालन गर्ने मौलिक नाच हो। पौराणिक कथनहरुमा लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।

लाखेले आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई शक्तिशाली संरक्षकका रुपमा पूजा गर्ने गरेको बताइन्छ। किम्वदन्ती अनुसार मजिपा: क्षेत्रमा रहेकी एक युवतीसँग लाखेको प्रेम हुन्छ। ती युवती भेट्न लाखे मानिसको भेषमा बारम्बार आउने गर्छ। युवतीको प्रेममा मोहित लाखेले उनको खेतको काममा सहयोग गर्छ। टोलभरी उनीहरुको प्रेमको चर्चा चल्दै गर्दा त्यहाँका बालबालिकाहरु हराउन थाल्छन्। लाखेमाथि स्थानीयहरुले शंका गर्छन्। लाखेलाई समातेर सोध्दा उनले आफ्नो गल्ती स्वीकार्छ। त्यसपछि लाखेलाई साना बालबालिकाको रक्षा गर्ने वाचा गराइन्छ। स्थानीयहरुले लाखेलाई बन्धनमा पारी नगर परिक्रमा गराउँछन्। यी र यस्तै अन्य केही कथनहरु पनि मजिपा: लाखेसँगै जोडिएका छन्।

इन्द्रजात्राका आठै दिन जब लाखेलाई लाखेननीबाट निकालिन्छ। तब लाखे जैसीदेग (जैसीदेवल) र चिकंमुग (चिकंमुगल) मा गएर तीन पटक उफ्रिन्छ। त्यसरी उफ्रिँदा त्यस क्षेत्रभित्र रोगहरुको महामारी हुँदैन भन्ने विश्वास रहेको छ। यस्तै कुमारी घर र आकाश भैरवका अगाडि पनि लाखे उफ्रिन्छ। त्यो चाहिँ उनीहरुलाई गरेको सम्मान भएको मूल नाइके राजीव रंजित बताउँछन्।

यस्तै, जीवित देवी कुमारीलाई तलेजु भवानीका रुपमा पुज्ने गरिन्छन। तलेजु भवानीको संरक्षकका रुपमा लाखेलाई लिइन्छ। त्यसैले लाखे जब-जब वसन्तपुरस्थित कुमारी घरको अगाडि पुग्छ, उफ्रिएर कुमारीप्रति सम्मान प्रकट गर्ने चलन रहेको छ। त्यसैले इन्द्रजात्रामा कुमारीको रथलाई बाटो देखाउने महत्वपूर्ण भूमिकाका पाएको हुन्छ मजिपाः लाखेले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell