PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुरु भयो इन्द्रजात्रा : हनुमानढोकामा ठड्याइयो य:सिं, साँझ उपाकु यात्रा

सुरु भयो इन्द्रजात्रा : हनुमानढोकामा ठड्याइयो य:सिं, साँझ उपाकु यात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हनुमानढोकास्थित कालभैरव अगाडि य:सिं ठड्याइएको छ। इन्द्रध्वजोत्थानसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। आजकै दिनदेखि चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको छ।

किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरुको स्वीकृति बिना उनीहरूको जग्गामा फूल टिपे। आफूहरूको जग्गामा फूल चोरेको भन्दै इन्द्रलाई समाइ बाँधेर नगर परिक्रमा गराए। इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीक स्वरूप इन्द्रजात्रा भर 'यमबा:द्य' राखिने प्रचलन रहेको छ।

आज साँझ 'उपाकु वनेगु' भनेर बौद्ध नेवारहरुले पाल्चामा बत्ती बाल्दै खड्ग आकारको येँ नगर परिक्रमा गर्ने गर्छन्। वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा बौद्ध नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ।

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धर उपाकु  बौद्ध नेवारहरुले पितृ मोक्षका लागि मनाउने पर्व रहेको बताउँछन्। गाईजात्रामा हिन्दु नेवारहरुले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरि बौद्ध नेवारहरुले नगर परिक्रमा गर्ने उनले बताए।

उपाकु आएकाहरुले ठँहिटी, ज्याथा ,भोटाहिटी,महाबौद्ध,न्युरोड गेट तेबहाल,सुन्धारा,बागदरबार लगन,ह्युमत, जैशीदेग:, कोहिटी, भीमसेनस्थानहुँदै नगर परिक्रमा गर्छन्। परिक्रमा गर्ने रुटहरुस्थित चैत्य र मन्दिरहरुमा समयबजी राख्ने प्रचलन छ। आजैबाट मजिपा लाखे, पुलुकिसी, स्व:भकु लगायतका नाच पनि प्रदर्शन हुन्छन्।

हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

डा त्रिरत्न मानन्धरका अनुसार नेपालमण्डलमा मल्लकालदेखि नै य:सिं ठड्याउने परम्परा रहेको थियो। उनी विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामासमेत काठ ठड्याउने गरिएको बताउँछन्।

काठमाडौंमा येँया:मा पनि य:सिं ठड्याउन मल्लकालमा नै सुरु भएको थियो। तर, त्यससमय अहिलेको जसरी तामझाम गरेर य:सिं ठड्याउने नगरिएको उनले बताए। हाल वसन्तपुरमा रहेको काल भैरब अगाडि शाहकालमा मात्रै य:सिं ठड्याउन शुरु भएको मानन्धर बताउँछन्।

'मल्लकालमा सामान्य रुपमा य:सिं ठड्याउने गरिन्थ्यो। अहिलेको जस्तो तामझाम हुँदैन थियो। पछि प्रताप सिंह शाहको समयमा भव्यताका साथ हनुमानढोकामा य:सिं ठड्याउन शुरु भएको हो। त्यसभन्दा येंया: का लागि एकादशीमा मरु नजिकै अट्कोनारायणमा य: सिं ठड्याउने गरिन्थ्यो।'

भोलि रथयात्रा

असोज ३ 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell