PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

ब्राको साइज सोध्‍ने पत्रकार [ब्लग]



रिना थापा

ब्राको साइज सोध्‍ने पत्रकार [ब्लग]

'तिम्रो ओठ कति सेक्सी!’

'तिमीले पुसअप ब्रा लगाउँछौं?’

'तिम्रो ब्रा साइज कति हो?’

मलाई एकै व्यक्तिबाट पटकपटक सोधिएका प्रश्न यिनै हुन्। सोध्ने चाहिँ पोखराका राम्रो मानिएका पत्रकार। कुनै बेला उनको कामको म आफैं प्रशंसक पनि। उनको कलमले हिंसाविरुद्ध आवाज उठाउथ्यो। पीडितको पक्षमा उनका कलम चल्थ्यो।

उनीबाट अप्रत्यासित रुपमा यस्ताखाले प्रश्नहरु आउँदा म भर्खर मिडिया क्षेत्रमा प्रवेश गर्दै थिएँ। मिडिया क्षेत्रमात्र नभनौं, बाहिरी दुनियाँसँग पनि भर्खरै घुलमिल हुँदै थिएँ। वर्षदिन बढी बित्यो यो कुराको। तर, म अहिले पनि बेलाबेला सम्झिरहन्छु ती प्रश्नहरु।

आज यो घटनालाई सम्झिँदै लेखमार्फत् उल्लेख गर्नु विशेष कारण छ। पोखराको एउटा बुक क्याफेमा बसेर आफ्नै क्षेत्रका एकजना पुरुष साथीसँग गफिँदै थिएँ। कहिलेकाहीँ उनीसँग छलफलका क्रममा महिला र सीमान्तकृतका विषय उठ्ने गर्छ। तर, यस्ता विषयमा उसको र मेरो राय बिल्कुल फरक छ। त्यसैले यस्ता विषयमा कुराकानी हुँदा म उनीसँग बहस गर्न अर्थहीन ठान्छु। अझ भनौं, आफ्ना विचार उसलाई सुनाउन आवश्यक नै ठान्दिन।

‘केटीले अवसर पाएनन् भन्छन्। खै केमा अवसर पाएनन्? आफूहरु नि गर्नपर्‍यो। आउनपर्‍यो,’ ती साथीमात्र होइन, भेटिने धेरै व्यक्तिबाट सतहीरुपमा यस्ता टिप्पणी आइरहन्छ। कार्यक्षेत्रमा महिलाको नगन्य उपस्थितिबारे सरल रुपमा उनले राखेको विचार मेरा लागि असामान्य र बिझाउने खालको थियो। लाग्यो - महिलाका समस्यालाई सतहीरुपमा राय बनाउन कति सहज?

त्यही संवादले झल्याँस्स सम्झाएको हो, वर्षदिन अगाडिको त्यो अनपेक्षित घटना। एक सार्वजनिक समारोह। सभागृह हलमा जम्मा भएको पत्रकारको भिड। त्यही हलको एक कुनामा पहिलो पटक उनले मलाई भनेका थिए, ‘तिम्रो ओठ कति सेक्सी!’

उनको यस्तो शब्द सुनेर प्रतिवाद गरे पनि त्यतिखेर म कडारुपमा प्रस्तुत हुन नसकेको महसूस अझै पनि गर्छु। मेरो फितलो प्रतिवादले उनलाई कत्ति पनि छोएको रहेनछ। नत्र दोस्रो र तेस्रोपटकमा ब्राको साइज सोध्ने हिम्मत जुटाउने थिएनन्। सुरुमै प्रतिवाद गर्न नसकेकोमा कहिलेकाहीँ आफैंलाई ग्लानी हुन्छ। अनि लाग्छ - तेस्रो पटक म जसरी प्रस्तुत भएँ पहिलो पटक नै त्यसो गरेको भए - उसका नौ नाडी गल्ने थिए। अझ भनौं, तेस्रो पटकको प्रश्नको प्रतिवाद पहिलोपटकको प्रश्नमै गरेको भए उनी मेरो ब्राको साइज सोध्ने आँट गर्थेनन्। थाहा छैन कहिलेसम्म मलाई यही कुराले भतभती पोलिरहने हो। अनि लागिरहने हो - अहिलेको चेत त्यो समय भएको भए!

सुरुमै कमजोररुपमा प्रस्तुत भएकै कारण तेस्रो पटकसम्म एकै खाले हिंसा भोग्नुपरेको आभाष र ग्लानी अहिले पनि ताजै छ। कार्यक्षेत्रमा भोग्न परेको हिंसाको यो पहिलो अनुभव थियो सायद। त्यसअघि बाटो हिँड्दा होस् वा बसमा दुर्व्यवहार नभोगको होइन, बोल्ने आँटै नभएको पनि होइन। तर, बाटोमा हिँड्दै गर्दा हुने दुर्व्यवहारमा झापड हानेर हिँड्नुमा र कार्यक्षेत्रमा पर्ने दुर्व्यवहारमा निक्कै फरक हुने रहेछ।

थाहा छ, हिंसा भनेको हिंसा नै हो चाहे त्यो घरमा, बाटोमा वा कार्यक्षेत्रमा नै किन नहोस्। तर पनि यहाँ भिन्नता हुन्छ भोगाइमा, विश्वास र सम्मानमा। अक्सर हामी हिंसा आफ्ना र नजिककाबाट सहन्छौं। कहिलेकाहीँ आफूमाथि हिंसा भइरहेको समेत भेउ पाउँदैनौं। सम्बन्ध प्रतिको विश्वास र आफ्नोपन भ्रमपूर्ण प्रेमले आँखामा पट्टी बाँधिदिएको हुन्छ। कडा प्रतिवाद गर्ने सामर्थ्य रहे पनि आफ्नैबाट परेको हिंसाविरुद्ध उभिन कतिपय समयमा असमर्थ भइन्छ। यस्तै थियो मेरो त्यो अनुभव। विश्वास र सम्मान गरेको व्यक्तिबाट अनपेक्षित व्यवहार जो भएको थियो।

अहिलेसम्मका यस्ता स-साना भोगाइ सुनाउने भने ब्लग ब्लगमा सीमित नभई मोटै किताब बन्न पुग्छ। त्यसैले यो ब्लगमा यी भोगाइलाई यहीँबाट मारेर अर्कोतर्फ मोडिए। पक्कै पनि यो सन्दर्भलाई यो ब्लगमा मात्र बिट मारेकी हुँ, विषयलाई पूर्णविराम लगाएको होइन।

यस्तो भोगाइले प्रष्ट देखाउँछ - महिलाले लैंगिक विभेद कुन हदसम्म सहनुपर्छ। यौन हिंसाबाहेक पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रत्येक दिन महिला भएकै कारण विभेद खेप्नुपरेका उदाहरण प्रशस्त छन्। समाजका कथित बौद्धिक तप्कावाला नै लैंगिक विभेद गर्ने मानिसको संरक्षणमा डटेर लाग्छन्। विभेद विरुद्घ कलम चलाएका पत्रकारको चरित्र नै विभेदकारी छ। शिक्षित र बौद्धिक कसरी भनु म उनीहरुलाई जसले महिलाको चरित्रमा प्रहार गर्न रत्तिभर हच्किन्नन्?

ब्लगमा पाल्सी कुरा गर्न चाहिन् मैले। असामान्य तर सामान्य मानिएका कुरा सरल रुपमै व्यक्त गर्न चाहेँ। सतही रुपमा टिप्पणी दिएजस्तो बाहिरी संसारमा महिलाले काम गर्न सहज वातावरण अझै बनिसकेको छैन। कुनै पुरुष भविष्यको यात्रामा मानिस भएर हिँडिरहेको हुन्छ। तर, एक महिलाले हरेक पाइलामा पितृसत्तामक समाजले बनाएको नियमसँग भिड्दै हिँडिरहनु पर्छ। उनलाई मान्छे भएरमात्र बाहिरी दुनियाँमा हिँड्न दिइँदैन। चाहे त्यो कार्यक्षेत्रमै किन नहोस्!

अभ्यस्त भइसकेकाले हुनुपर्छ, यस्ता घटनालाई महिलाले पनि सहज रुपमै स्वीकार गर्छन्। तर, सामान्य मानिँदै आएका असामान्य कुरा अब भने मान्य छैन। महिला भएकै कारण काममा देखाउने व्यवहार र कम आँक्ने पितृसत्तामक व्यवहार स्वीकारिने छैन।

कार्यक्षेत्रकै अग्रज र साथीहरुले कहिलेकाहीँ आफूले भोगेका यस्तै विभेदका कुरा सुनाउँछन्। सुनाइरहँदा उनीहरुमा स्वीकारोक्ति देख्छु - ‘महिला भएपछि यस्तै हो। सहनुपर्छ। चुप लागेर आफ्नो बाटो हिँड्ने हो।’

नबुझेको विषय अझै पनि हामीले लिंगकै आधारमा किन भेदभाव सहनुपर्ने? अझ त्यो पनि शिक्षित कहलिएका बाटै? ससाना मानिएको असामान्य विभेद अझै कति? मानौं लिंगले उत्कृष्टता र अनुचितको पहिचान गर्छ रे! के पुरुष जन्मिँदै उत्कृष्टताको ट्याग पाएर जन्मिएका हुन्?

जन्मिँदैदेखि मान्छे हुनुको अधिकार स्वतः पाएका पुरुष र मान्छे हुनुको अधिकार खोस्दै प्राप्त गर्नुपर्ने महिलाको बाध्यात्मक परिस्थितिमा ठूलो अन्तर छ। सदियौंदेखि मान्छे भइ बाचिँरहेका पुरुष र मात्र एक शताब्दी अघिदेखि अधिकार प्राप्तिमा संघर्षरत महिलामा फरक छ। अनि तपाईँ सहजै टिप्पणी गर्नुहुन्छ - महिलाले अवसर पाएर नि पनि आएनन्!

खेल्ने क्षेत्र निर्धारण गर्दा महिलालाई फुटबल थमाइँदैन। त्यही नथमाएको फुटबल खोसेर चुनौती दिँदै एक महिला खेलाडी बन्छिन्। श्रेष्ठताको आकण्ठ भरिएका पुरुष सहजै भन्छन्, ‘महिलाको खेल इनर्जेटिक हुँदैन। हेर्न मज्जा आएन।’ तर, एउटा महिला खेलाडीले मैदान प्रवेश गर्नु अघिसम्मको संघर्ष कसले देख्ने?

सदियौंदेखि पुरुषको वर्चस्व रहेको समाजमा महिलाले आफूलाई कमजोर सोच्नु अस्वभाविक होइन। तर, आफ्नो अधिकारका लागि संघर्षत महिलाको अगाडि समाजले पुरुषलाई सहजै दिएको विशेषाधिकार त्याग गर्न नसक्नु पुरुषको कमजोरी हो। पुरुष प्रभुत्व समाजमा महिला अधिकारका विषयमा पुरुषको रवैया प्रष्ट रुपमा 'विरोधी' झल्किन्छ। जति नै शिक्षित भनिएका पुरुष पनि महिला अधिकारको कुरामा कुनै न कुनै कोणबाट विरोधी नै निस्किन्छ। प्रत्यक्ष रुपमै नदेखिए पनि आफनो वर्चश्व टुट्ने त्रास हुनुपर्छ त्यसको कारण।

अझै पनि उनीहरु महिलालाई दोस्रो दर्जामै राख्न खोज्छन्। ओछ्यानमा मात्र महिलालाई सीमित राख्न खोज्ने पुरुष प्रवृत्तिले कार्यक्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोण उस्तै हुन्छ। र, हिंसामा परिरहनुपर्छ महिला। कुनै पुरुष डाक्टर, पत्रकार वा अन्य पेशामा आवद्ध छ भने उसको परिचय पेशासँग मात्र जोडिन्छ।

तर, महिला जुनसुकै सम्मानित पेशामा रहे पनि पहिले उनको परिचय महिला भएर आउछ। ब्रा साइज, कम्मर र थाइको मोटाइ, हिँडाइको चौतर्फी नापन गरे पछिमात्र उनको पेशागत परिचय खुल्छ। अनि भन्नुहोस् न हरेक दिनको यी लैंगिक विभेद र हिंसा बोकेर हिँडिरहेका महिला र पुरुषको यात्रा कति फरक छ?

बुझ्नु हुन्छ नि महिलाहरु अवसर पाएर नआएको हैन, आउन नखोजेको पनि होइन। पुरुष यति गर्वका साथ बोल्छन्, महिलालाई अवसर दिएका छौं। दिने या रोक्ने पुरुष को हो? यसमा कुनै पनि पुरुषले गर्व गर्ने कुरा चाहिँ के?

महिलाले मान्छे हुने अधिकार मागेका हुन्। जुन अधिकारका साथ तिमी सदियौंदेखि बाँच्दै आएका छौ। दयामा दिएजस्तो गरेको अवसर तिम्रो पेवाचाहिँ पक्कै होइन। त्यो हाम्रो अधिकार हो। तिमीले त आफ्नो वर्चश्व त्यागमात्र गरेपुग्छ।

कहिलेकाहीँ यस क्षेत्रमा आएकोमा आफैंलाई पश्चाताप पनि हुन्छ। पत्रकारितामा जुनून भएर आए पनि यहाँ विश्वास गरेकैबाट हुने हिंसाजन्य व्यवहारले मानसिक तनाव दिन्छ। महिला भएकै कारण हाम्रो क्षमतामाथि बारम्बार प्रश्न उठ्छ। यसले कामप्रतिको लगावलाई बिस्तारै कमजोरमात्र होइन, वितृष्णातिर धकेल्दै लगेको अनुभूति हुन्छ। अनि त्यही अनुभूतिको प्रभाव कहीँ न कहीँ काममा उत्रिन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell