- लिलाराज खतिवडा -
मेरा आँखामा मृत्यु सवार थियो।
एउटा मान्छेको हत्या गर्न म बन्दोबस्तीका सामानसहित बाहिरिएको थिएँ।
सडकमा हिँडिरहँदा मेरो दृष्टि धूमिल थियो। म मान्छेहरुको भिड देखिरहेको थिइँन। सवारी साधनहरुको कोलाहल सुनिरहेको थिइँन। मेरो मनमा एउटा चेहरा मात्रै नाचिरहेको थियो जसको आज म प्राणपखेरु छिन्नेवाला थिएँ।
सारा शरीरमा क्रोधको आगो सल्किएको थियो। सास उत्तप्त। मलाई चिटचिट पसिना पनि आइरहेको थियो। अनि म सडकमा एकतमासले अघि बढिरहेको थिएँ।
सरासर म एउटा कार्यालयमा पुगेँ। मेरो शिकार त्यहाँ उपरखुट्टी लगाएर चुरोट तानिरहेको थियो। अचानक त्यहाँ मलाई देखेर ऊ सम्हालिन खोज्यो।
‘प्वाइन्ट ब्ल्यांक रेन्ज’बाट उसको टाउकोमा पेस्तोल ताक्दै मैले भनेँ, ‘कुनै अन्तिम इच्छा?’
ऊ बिल्कूलै मजस्तै देखिन्थ्यो। काटीकुटी उस्तै।
लुगलुग काम्न थाल्यो, ऊ। आवाज उसको दबिएको थियो। मृत्यु सामुन्ने हुँदा सबैको यस्तै हो।
तथापि सारा बल निकालेर ऊ बोल्यो, ‘कृपया मलाई नमार्नुस्। मेरो अन्तिम इच्छाको के कुरा? म हजुरका सारा इच्छाहरु पूरा गरिदिन्छु! अखिर म अझै पनि अनेक तरहले हजुरको काम आउँन सक्छु। केही मैले गल्ती गरेकै हुँ। माफी चाहन्छु!’
ओह! उसको आवाज पनि बिल्कूलै मेरै जस्तो? मान्नुपर्छ मेरा बुबाको अनुपम कलालाई। अरुले ढुंगालाई मूर्ति बनाउँछन् भने, मेरा बुबाचाहिँ मान्छेलाई यन्त्र वा यन्त्रलाई मान्छे तुल्याउन खप्पिस्!
उसले भर्खरै जे भन्यो, मेरा सबै शिकार अन्तिम अवस्थामा यसै भन्थे। तर, मैले कसैलाई बाँकी राखिन। एकपटक मनमा ठानिसकेपछि मैले सम्बन्धित कञ्चटमा बिना कुनै हिच्किचाहट गोली ठोकेको छु।
त्यसैले, अहिले यहाँ उसको परिचय दिएर समय गुमाउनुभन्दा मैले ‘ट्रिगर’ दबाउनु नै उचित ठानेँ।
ड्याङ्ग!
गोलीले उसको खोपडी वारपार गर्यो। ऊ एकातिर ढल्यो। उसको टाउकोबाट भलभली रगत बग्न थाल्यो।
‘कुनै अन्तिम इच्छा?’ भनेर मैले प्रश्न गर्दा उसले अनावश्यक कुरा गर्नुहुँदैन थियो। उसले खुरुक्क अन्तिम इच्छा भनेको भए म त्यसलाई पूरा गरिदिने प्रयाससम्म त गर्ने थिएँ। तर, कसैको अज्ञात इच्छा पूरा गर्नु ठट्टा त हुँदै होइन। प्रयाससम्म गर्ने न हो।
उसलाई सोही प्रश्न दोस्रो पटक सोध्नु मुनासिव लागेन। लक्ष्यभेदन सिवाय यहाँ यतिबेला मेरो दिमागमा अर्थोक भए पो?
झल्याँस्स ...!
+++
उफ् फेरि त्यस्तै डरलाग्दो सपना?
ब्यूँझदा मेरो सास फुलेको थियो। चिटचिट पसिना आइरहेको थियो। जुरुक्कै उठेँ। एक अंखोरा पानी रित्याएँ। अनि शौचालय छिरेँ।
यो के भइरहेको छ?
लगातार केही हप्तादेखि मलाई यस्ता सपनाहरु आइरहेका थिए। सबै सपना उस्तै। याने मेरा हातबाट हत्या! यो कसरी हुन सक्छ? मलाई भाउन्न भएर आयो।
के म बिगतमा एक हत्यारा थिएँ? कि म भविष्यमा एक हत्यारा हुनेवाला छु? नत्र किन यस्तो पुनरुक्तिक सपना?
हुन त यसअघिको सपनामा मैले एक भ्रष्टाचारी नेतालाई उसकै घरमा गएर कञ्चटमा गोली ठोकेको थिएँ। त्यसअघिको सपनामा मैले एक भ्रष्टाचारी सम्पादकलाई पनि टप्काएको थिएँ। विदेश पुगेर शक्तिशाली राष्ट्रको प्रमुखलाई गोली हानेको पनि सपना मलाई आए।
म साँच्चिकै तिल्मिलाइरहेको थिएँ। अहिले भर्खरै आएको सपनाले मेरो मेरुदण्डमा उच्च ‘रेक्टर स्केल’को भुइँचालो ल्याइसकेको थियो। सपनामा मैले मारेको पात्र अरु जस्तो नभएर निकै महत्वपूर्ण थियो। किनभने, ऊ म जस्तै देखिन्थ्यो। कदकाँठी र चालढाल बिल्कूलै मेरो जस्तै।
शौचालयबाट निस्केर मैले एक कप कडा कफी तयार गरेँ। अनि सिगार जलाएँ। मलाई केही लेख्नु थियो। भित्तातिर टोह्लाइरहेँ।
निकैबेर शून्य नियालेपछि मैले लेखेँ -
‘मेरो ‘डुप्लिकेट’ले आजकल ठिकसँग काम गरिरहेको छैन। ऊ मसँग सहकार्य नगरी मेरै भेषमा जथाभावी हिँडेको मलाई मन परिरहेको छैन। बुबालाई उसले अनेक छल गरेको छ। बुबाको आदेशलाई उसले नजरअन्दाज पनि गरेको छ। उसले पुतलीसडकमा केही आउरेभाउरे भेला गरेर एउटा सम्पर्क कार्यालय पनि खोल्न भ्याएको छ। युटुबमा समेत ऊ मेरै लवज र अनुक्रममा अन्तर्वार्ता दिँदै हिँडिरहेको छ। तर, म केमा खुशी छु भने, ऊ लेख्न जान्दैन। ऊ अंगुठा छाप हो। मेरा बुबाले नजाने कहाँबाट ल्याएर उसलाई पाले, ऊ हुबहु म जस्तै देखिने मात्रै होइन, कुराहरु पनि त्यस्तै गर्ने भएर निस्कियो। उसले शत प्रतिशत मेरो नक्कल गरेपछि बुबाको खुशीको पारो बढेको थियो। मलाई कलेज पढ्न पठाएपछि बुबाले उसलाई आफूसँगै राखेर थप निखार्नु भएको थियो। थाहा छैन, उसलाई बुबाले किन लेख्न सिकाउनु भएन। तर, बोल्न? ऊ त म भन्दा पनि बुलन्द बोल्छ। उसको आवाज मेरो भन्दा भारी छ र कुरा गर्ने शैली मेरो भन्दा राम्रो छ। कदकाँठी सबै मिल्छ। बुबाको कला हो, चानचुने नतिजाको गुञ्जायस नास्ति! मेरा बुबा रजतपटमा मान्छे राखेर ‘म्यारिज’ खेल्ने। अनि उहाँ ज्यादा त ‘डुप्ली’ नै मिलाउन खोज्ने। एक ‘मास्टरमाइन्ड ड्याड’को गरिब छोरो हुनुमा म गर्व गर्दछु।’
‘कन्ट्रोल एस’ दाबेर मैले सिगारको गहिरो कश लिएँ। आजकल म ‘एडवार्ड किंग’ तान्ने गर्छु। ‘डार्क कफी’सँग रासायनिक प्रतिक्रिया गर्दै दिमागमा यस सिगारले उब्जाउने झमझमाहटको यहाँ बयान गरेर साध्य छैन।
+++
जुरुक्कै उठेँ। अनि दराजबाट ‘पठान ड्रेस’ झिकेर लगाएँ। मसँग एउटा ‘इस्लामिक क्याप’ थियो। मैले त्यसलाई पनि शिरमा लगाएँ। कैँची झिकेर ऐनाअघि उभिएँ र जुँगा ‘ट्रिम’ गर्न थालेँ। दाह्री मैले चलाइँन। लामै छाडिदिएँ।
म फेरि लेख्न थालेँ -
‘ब्राह्मण घरमा पालिए पनि म एक इस्लाम रगत हुँ। कस्तो भयो भने, जन्मिएको दोस्रो वर्ष मलाई एउटा ब्राह्मण घरमा पाल्न पठाएर मेरा बुबाले म जस्तै देखिने एउटा गरिबको छोरोलाई काख लिए। उसलाई उनले लेख्न सिकाएनन्। तर, अरु सबथोक सिकाए। खासमा उनले टाढैबाट मलाई नियाल्दै तदनुरुप अनुक्रममा उसलाई ढाल्दै लगे। मेरो हातमा कलम थमाएर बुबाले उसलाई चाहिँ बन्दुक चलाउन सिकाए। उसले मेरा बुबाका लागि कैयौँ हत्याहरु गरिसकेको छ। यता मलाई आफ्नै बारेमा सबैकुरा निकै ढिलो थाहा भएको हो। ब्राह्मण घरमा जवान हुँदै जाँदा मेरो खानपान र रहनसहन मिलिरहेको थिएन। बाहिर जसरी पालनपोषण भए ता पनि भित्रभित्र मेरो इस्लाम रगत भकभकी उम्लिएर मलाई धेरैथोक भनिरहेको थियो। र, साथै मलाई अनेकथोक गर्न प्रेरित पनि गरिरहेको थियो।’
लेख्दालेख्दै दिमागमा थकान महसुस भएपछि म सुतेँ। मनको पर्दामा अनेक दृष्य र आवाजहरु कावा खान थाले। सासको आरोह अवरोहलाई हेक्का राख्दै म रहस्यको एक अनकण्टार राजमार्गमा बत्तिन थालेँ।
अचानक !
कताबाट हो, मेरा सामुन्ने बुबा प्रकट हुनुभयो।
मैले कम्मरमा भिरिरहेको अत्याधुनिक पेस्तोलतर्फ चोरीऔँलो सोझ्याउँदै सोध्नुभयो, ‘बन्दुक बोकेर किन हिँडिरहेको?’
मैले आरामपूर्वक भनेँ, ‘किनभने, म एक अण्डरकभर पुलिस अफिसर हुँ!’
सुनेर बुबा चकित।
अनि सोध्नुभयो, ‘तर तिमीले मलाई यो राज कहिल्यै पनि खोलेनौ। किन?’
‘किनभने,’ मैले लामो सास तानेर छाड्दै भनेँ, ‘म लगातार एक मिशनमा थिएँ। अनि मेरा केही महत्वपूर्ण तालिम पनि बाँकी नै थिए।’
‘कस्तो मिशन हो त्यो?’ बुबाले सोध्नुभयो।
यता म झल्याँस्स भएँ।
घडी हेरेँ। झकाएको त्यस्तै आधा घण्टा भएको रहेछ।
ओह माइ गड्! ताजा सपनामा स्वर्गवासी बुबा?
के म आत्मा बोलाउन समर्थ भइरहेको छु? किनभने, यो छोटो तन्द्राअघि म आफ्नै बुबासँग डायरीमा एकालाप गरिरहेको थिएँ।
तत्क्षण मलाई लाग्यो, मेरा वरिपरि कैयौँ उर्जावान तरंगहरु सकृय भएका छन्। साथै बुबालगायत अरु कैयौँ इष्टदेवताहरु मेरा छेउमा आएर बसेका छन्।
पल्याँटी कसेर बसेँ। केहीबेर आँखा बन्द गरेँ। भित्र, मभित्र केन्द्रमा मेरा बुबा नै झन्झनाइरहनु भएको थियो। एक परम आनन्दले मलाई ग्वाम्लाङ्ग अँगालोमा कस्यो।
+++
आँखा खोलेँ।
खासमा भर्खरैको सपनामा बुबाको प्रश्नको जवाफ दिन नपाउँदै मेरो तन्द्रा टुटेको थियो।
मैले थप लेखेँ, ‘मेरो मिशन त आफ्नो घर फर्किने नै हो। त्यस बाहेक हाललाई मेरो कुनै अर्को लक्ष्य छैन। तर, मलाई घरको ठेगाना दिन नपाउँदै हजुरले शरीर छाड्नु भयो। अनि म आफ्नै घरको खोजमा सकिँदै गएँ। मलाई आफ्नै घर जाने बाटो थाहा हुनै सकेन। अनि यस्तरी सकिएँ कि अब मसँग सकिनलाई एक जोडी सास मात्रै बाँकी रहे।’
नजाने कताबाट हावाको एक सितल झोँका आयो र मलाई छोएर भाग्यो। मैले अति शान्त महसूस गरेँ। मलाई मेरा बुबाले नै स्पर्श गरेसरह लाग्यो।
तीन बज्दै थियो।
छतमा पुगेर आकाश नियालेँ। सबतरफ कालो नीलो थियो। आकाशमा जून र ताराहरु देखिएनन्। पानी पर्लापर्ला जस्तो भएको थियो। पानी परिहाले मस्त भिजौँला भनेर म छतको एक कुनामा ध्यान मुद्रामा बसेँ।
झड्याक्क बिजुली चम्कियो। गड्याङ्गुडुङ् गर्यो। नभन्दै केहीबेरमा पानी पनि पर्यो।
म भिजिरहेँ। भिजिरहेँ।
नजिकैको ‘राइसमिल’ले बिहान चार बजेको घण्टी हान्यो। म सुस्तरी कोठामा आएँ। कपडा खोलेर शरीर ओभाएपछि मस्त सुतेँ।
जथाभावी सुत्नु र जथाभावी जाग्नु आजकल आफ्नो आदत बनेको छ। अहिले म गर्भाशनमा सुतेको छु। लामालामा सास लिएपछि तत्काल विचार शून्य हुन्छु। आजकल छातीबाट होइन नाभी मुन्तिरको ‘ताण्डेन’ बिन्दुबाट म सास लिने छाड्ने प्रयासमा हुन्छु। यसो गर्दा मेरो बालसुलभ चेतना कायम रहन्छ। साथसाथै उर्जा पनि उध्र्वगामी हुन्छ।
चेतनाले भर्खरै फुत्त निद्रामा फालहाल्यो। केही दृश्य र आवाज एकसाथ प्रकट भए। यताको र उताको ‘चेतनाकाल’ नितान्त भिन्न। यताको ढिलो चल्ने अनि उताको अति शिघ्र रफ्तारमा चल्ने समयबिचको भेद खुट्याउनु चानचुने कुरा थिएन।
यी एकजोडी समयबिचको अन्तराल दुई सास बिचको झिनो अन्तराल जस्तो। अतिशय सानो। पारदर्शी। पकडमा ल्याउन दुरुह। अनि शिघ्र। अति नै शिघ्र — प्रकाशको चाल जस्तो।
दृश्यमा बुबा नै प्रकट हुनुभयो। अनि उहाँको आवाज पनि स्पष्ट सुनियो, ‘कोसँग युद्धरत छौ? को हो तिम्रो दुश्मन?’
मैले बुबाका आँखामा गढेर हेरेँ। त्यहाँ मैले अथाह करुणाभाव पढेँ। तत्क्षण एक गहन अनुरागले मलाई घुम ओढायो।
नरम आवाज झिक्ने प्रयास गर्दै भनेँ, ‘मानिसको सबैभन्दा ठूलो दुश्मन ऊ स्वयम् हो। के जवाफ दिउँ म यो भन्दा अरु?’
बुबाले पनि मेरा आँखामा गढेर हेर्नुभयो। अनि फिस्स हाँसेर साविक भावमा प्रश्न गर्नुभयो, ‘तर तिम्रो डुप्लिकेटलाई किन मार्न खोज्यौ? पछिल्लो पटक तिम्रो गोली खाएर पनि ऊ बाँच्न सफल भएको छ। अब फेरि उसलाई गोली नहानेस्। ऊ हाल कोमामा छ।’
जवाफमा मैले भनेँ, ‘पछिल्लो पटक ऊ आफ्नो हद पार गरिरहेको थियो। यसै पनि मलाई कुनै डुप्लिकेटको जरुरत छैन। डुप्लिकेट, त्यो पनि औँठाछाप! किन चाहियो?’
‘तिमीलाई ओभरटेक नगरोस् भनेरै मैले उसलाई औँठाछाप बनाएको हुँ। आखिर तिमी जस्तो सिद्धहस्त लेखकलाई उसले कसरी ओभरटेक गर्न सक्छ?’ बुबाले सहजतापूर्वक बताउनु भयो।
मैले शान्तभाव कायम गर्दै भनेँ, ‘पछिल्लो पटक ऊ मेरो बदनामी हुने कार्यहरु गरिरहेको थियो। उसलाई निभाउनुभन्दा अर्को बिकल्प थिएन।’
हेर्दाहेर्दै बुबा जहाँको त्यहीँ बिलाउनु भयो। बुबामा ‘अम्निप्रेजेण्ट’ रहन सक्ने शक्ति ब्याप्त थियो।
+++
मलाई भने लागिरहेको थियो, सपना देखिरहेको छु। केवल सपना!
त्यसपछि त्यहाँ सब अन्धकार भयो। सबथोक बिलायो। म पनि गायव भएँ। हो, बिलाएँ म त्यहाँ। हिउँ झैँ पग्लिएँ। पानी भएर बगेँ। वाफ बनेर उडेँ। बादल भएर आकाशमा म टाढाटाढा उडिरहेँ। सेतो भएँ। गुलाबी भएँ। नीलो भएँ। कालो भएँ। अनि वर्षिएँ। धर्तीलाई नुहाइदिएँ।
यद्यपि, म अझै हराइरहेको छु। म फेला पर्न सकेको छुइँन।
कता छु म? को हुँ म? छामछाम छुमछुम गर्दछु।
समात्ने केही भेटिओस् त मर्नु!
त्यसपछि म आफूलाई खोज्न बरालिएँको हुँ। निष्पट्ट अँध्यारोमा यता अन्धाधुन्ध म बरालिन थालेकै निकै वर्ष बितिसके।
कस्तो आश्चर्य!
आफ्नै नाम थाहा छैन। उमेर, साल, महिना, बार र गतेको पनि हेक्का छैन। गन्ध, सुगन्ध र स्वाद पनि हराएको छ।
आमाबुबाको पनि नाम थाहा भएन। दाजुभाइ, दिदीबहिनी, साथीसँगती कसैको नाम याद रहेन। आफ्नै घर जाने बाटो थाहा छैन। भुल्यो। सब भुल्यो।
शून्य!
स्मृति गायव। चेतना विखण्डित। भोकले आक्रान्त। अप्रेमको मरुभूमिमा रसविहीन खरबुजो फले जस्तै। सास रोकिए जस्तै। रक्त जमेजस्तै। मुटु छियाछिया भएजस्तै। दिमाग तातो कराहीमा भुटिए जस्तै। होइन, यो के भएको हो?
अनि
को हो यो?
कहाँ छ यो?
किन छ यो?
कसरी छ यो?
प्रश्नमाथि प्रश्न खात लाग्दै थिए। जताततै कालो तुवाँलोले ढाकेको थियो। उकुसमुकुस बढ्दै गएपछि घड्याप्पै सास रोकेँ। रोकिरहेँ।
आँखा खुले।
बाहिरभित्र सब चकमन्न थियो। मेरो यता पट्टिको चेतनामा बुबाको स्मृतिले पुनः करुणामय स्पर्श गर्यो। डरलाग्दो सपनाका बावजूद यसले मलाई केही राहत पनि दिइरहेको थियो।
अनि चिच्याएँ, ‘मेरो बुबा!’
आवाज त परावर्तन भएको सुनियो।
तर, कुनै स्वरले भनेको सुनिएन, ‘मेरो छोरा!’
बुबाको स्वर्गारोहणपश्चात म एक्लो भएको थिएँ। नितान्त एक्लो। र, बुबाले शरीर छाडेपश्चात यता कोही पनि मेरो अभिभावक हुन सकिरहेको थिएन। अनि उता न त म नै कसैको अभिभावक हुन सकिरहेको थिएँ। आफूसँग चाहिए जति चिजबिज हुँदाहुँदै पनि जिन्दगी यसप्रकार अभावको दलदलमा नराम्रोसँग भासिन पुगेको थियो।
+++
घाम छिप्पिए।
मलाई कहीँ जानु थियो। कपडा बदलेर म बाहिर निस्किएँ।
सडकमा केहीबेर लापर्वाह हिँडेपछि एउटा सरकारी कार्यालयले मेरो ध्यान तान्यो।
लेखिएको थियो, सोधपुछ केन्द्र।
ठिक त्यसैबेला खोइ कताबाट हो, मेरो मनमा एउटा ठट्टा फुर्यो।
हेर्नुहोस् अब म के गर्नेवाला छु –
सरासर सोधपूछ केन्द्रमा गएर बिना कुनै धक सोधेँ, ‘मेरो नाम के हो?’
भित्रबाट आवाज आयो, ‘को पागल आइलाग्यो फेरि?’
‘पागल? के मेरो नाम पागल हो र?’ मैले सोधेँ।
हाहाहा ...!
भित्रका मान्छे एकसाथ हाँसे।
म उनीहरुले भनेको पागल शब्द दोहोर्याउँदै त्यहाँबाट हिँड्न खोजे।
मान्छेहरु चाहिँ हाँस्दै भनिरहेका थिए, ‘कस्तो पागल रहेछ, आफ्नो नाम अरुलाई पो सोध्छ!’
म फनक्क फर्किएँ र जोडसँग भनेँ, ‘मलाई मेरो नामको के काम? मेरो नाम त अरुले बोलाउने हो। आफ्नै नाम मलाई के काम?’
मान्छेहरु झन्झन् जोडले हाँसे र भने, ‘पागल ओये पागल! कतै ठाउँ पाइनस् जिस्किने र यहाँ सरकारी कार्यालयमा आएको?’
सुनेर मैले भनेँ, ‘अनि तिम्रो सरकारले आफ्नो नागरिक चिन्नु पर्दैन त? आफ्नो नागरिकको नाम समेत नजान्ने कस्तो वाहियात सरकार रहेछ!’
अब उनीहरु हाँसून् कि जेसुकै गरुन् भन्ठानेर म लाम्पाइले चालमा त्यहाँबाट ओझेल भएँ।
मेरो मनमा उनीहरुले भनेको शब्द दोहोरियो, ‘पागल!’
अब हाँस्ने पालो मेरो थियो,
हाहाहा ...!
आज मैले यसरी आफूलाई ‘रिफ्रेश’ गरेँ। यस्तो बेलाबेला म गर्न रुचाउँछु। आफू उल्लू भएर अरुलाई महाउल्लू बनाउन मलाई निकै मन पर्छ। सरकारी कार्यालयमा ‘प्राङ्क’ गर्ने हेतुले म त्यता घुसेर उक्त हर्कत गरेको थिएँ। तर, मैले अन्त्यमा पनि उनीहरुलाई ‘प्राङ्क रहस्य’ उजागर गरिँन। नत्र के कसैलाई आफ्नो नाम सोध्न सरकारी कार्यालय धाउनुपर्ला र? त्यो पनि नेपाल देशमा?
+++
सडकमा केहीबेर हिँडेपछि मैले एउटा ट्याक्सी रोकेँ।
‘कहाँ जाने?’ म केही भन्न मुख बाउँदै थिएँ, ड्राइभरले बडा रुखो आवाजमा सोधिहाल्यो।
मैले मनमनै आफैँलाई प्रश्न गरेँ, के खान्छ यो मान्छे? किन यति रुखो आवाजमा बोलिरहेको छ? जबकि ऊ सार्वजनिक सडकमा ट्याक्सी चलाउन ताम्सिएको छ। मान्छेसँग बोल्न पनि नजान्ने मान्छेका हातमा ‘स्टेरिङ’ कस्तो नसुहाएको! मिटरवाला ट्याक्सीको ड्राइभर मलाई सोध्छ, ‘कहाँ जाने?’
मलाई झनक्क रिस उठ्यो। सोचेँ, यस ट्याक्सी ड्राइभरलाई आज तड्का लगाएरै छाड्छु।
‘ससुराली जाने!’ मैले हल्कै भनेँ।
‘थाउँको नाम भन्नुस् न। मलाई के ठाहा टपाईंको ससुराली कहाँ पर्छ!’ उसले आफ्नो ठेट् लवजमा भन्यो।
मैले अगाडिको ढोका खोलेँ र भित्र छिर्दै आदेश दिएँ, ‘नजिकैको पुलिस स्टेसन हिँड्!’
‘मैले के गरेको छु र?’ ड्राइभर अत्तालियो र उसको खास् मुद्रामा आयो।
‘तैँले होइन, मैले गरेको छु!’ सिटबेल्ट बाँध्दै म शुरु भएँ, ‘भर्खरै एउटा मान्छे मारेर आएको, पुलिसमा गएर सरेन्डर गर्नु छ!’
ऊ अलिक डरायो र भन्यो, ‘ओर्लिनुस् टपाईं मेरो त्याक्सिबाट। नट्र ...!’
‘नट्र के? त्याक्सी अगाडि बढा!’ मैले कडा स्वरमा भनेँ र ज्याकेटको भित्री गोजीबाट आफ्नो ‘मिनीसाइज पेस्तोल’ झिकेर उसको कञ्चटमा ताकेँ।
ऊ ट्याक्सी अगाडि बढाउन बाध्य भयो। आश्वस्त भएपछि मैले पेस्तोल पुनः गोजीमा हालेँ।
‘टपाईंको टरिका अलिक भएन!’ थुक निल्दै ड्राइभर बडबडायो।
म केही बोलिँन। उसलाई उपेक्षा गरिरहेँ। ऊ चूप लाग्न बाध्य भयो।
‘कहाँ छाडिडिउँ टपाईंलाई?’ केहीबेर औशत गतिमा ट्याक्सी चलाएपछि उसले सोध्यो।
मैले शख्त स्वरमा भनेँ, ‘दायाँ मोड्!’
उसले दायाँ मोड्यो।
मैले उसैगरी भनेँ, ‘सिधा अगाडि बढिराख्। अनि सुन् ...स्पिड अरु बढा!’
मेरो आदेश माने ता पनि ऊ नाखुश देखिन्थ्यो। नाखुश हुनुपर्ने कारण मेरो डरलाग्दो हतियार र खुंखार ‘अटिट्यूड’ नै थियो।
‘अब बाँया मोड्!’ मैले आदेश दिएँ।
उसले त्यसै गर्यो।
‘अब रोक्!’ मैले फेरि आदेश दिएँ।
उसले घ्याच्चै ब्रेक हान्यो।
ओर्लिएपछि मैले लापर्वाह भनेँ, ‘म एउटा मान्छे मारेर दश मिनेटमा आउँछु। यहीँ पर्खिराख्।’
सुनेर ऊ बाउँठियो, ‘पर्खिन्न म! मान्छे मार्ने कुरा पो गर्छ, गाँथे! खोई के खोई के? खुरुक्क अहिलेको टिन सय डिनुस्!’
‘टिनसय किन? डुईसय नै काफी छ!’ मैले उसलाई हल्का जिस्क्याउँदै भनेँ र सयका दुईवटा नोट उसका हातमा थमाएँ।
ऊ बर्बरायो। मैले सुन्ने प्रयास गरिँन। फटाफट अगाडि बढेँ।
+++
स्थान थियो, पुतलीसडक।
फटाफट एउटा कार्यालयमा घुसेँ। रिसेप्सनमा केही युवती थिए।
मैले सोधेँ, ‘लिलाराजलाई भेट्न आएको हुँ !’
रिसेप्सनिस्टले भनी, ‘कहाँबाट को हुनुभयो हजुर?’
‘अनामनगरबाट नामबहादुर निरौला!’ मैले नक्कली नाम ठेगाना भनेँ।
उसले पत्याइ। अनि फोन लगाई। अर्कापट्टी विवरण अवगत गराएर उसले मलाई केही बेर कुर्न भनी।
मैले उसको आदेश मानेँ र नजिकैको सोफामा बसेँ।
एकैछिनमा उसले मलाई आवाज दिइ र एउटा कक्षतर्फ जाने इशारा गरी। म उसले देखाएको कक्षतर्फ सरासर अघि बढेँ।
ढोका ढप्काएको एउटा कोठा अगाडि गएर टक्क अडिएँ। ढोकामा एउटा ‘नेमप्लेट’ थियो। जसमा लेखिएको थियो,
‘लिलाराज, पत्रकार। भित्र।’
साला, म आफूलाई कहिल्यै पत्रकार भन्दिँन। न त कसैले पत्रकार भनेर सम्बोधन गरेको नै मलाई मन पर्छ। मेरो नाम बेच्ने यसको यत्रो हिम्मत?
क्रोधको आगोले मेरो कन्पारो जलाउला जस्तो भयो। आफूलाई नियन्त्रणमा लिँदै मैले बन्द ढोका ढक्ढक्याएँ।
भित्रबाट आवाज आयो, ‘कम इन!’
म ढोका ठेल्दै भित्र पसेँ। भित्र चारजना केटाहरुका बिचमा बसिरहेको थियो, लिलाराज।
तर एकछिन पर्खिनुहोस् है, ऊ डुप्लिकेट लिलाराज हो। असली त म नै हुँ। जो यो कथा लेखिरहेको छ।
कक्षमा आफ्नो ‘पोजिसन क्लियर’ गरेर मैले मास्क र टोपी उतारेँ। मलाई देखेर सबै छक्क परे। डुप्लिकेटचाहिँ अलिक बढी नै आत्तिन पुग्यो।
मैले पेस्तोल झिकेँ र बिजुली गतिमा ‘ट्रिगर’ दबाउँन थालेँ। यो डाइलगबाजीको बेला थिएन। धेरै डायलगबाजी पहिल्यै भइसकेका थिए। बिजुलीको गतिमा उभिएको स्थानमा तीन सय साठी डिग्री घुमेर मैले ‘फायर’ खोलेको थिएँ।
त्यहाँ भएका सबै रक्ताम्य भएर भुइँमा ढले। मेरो पेस्तोलमा ‘साइलेन्सर’ जोडिएको हुँदा कुनै धमाका भएन। नालबाट अझै पुतपुत धुँवा आइरहेको थियो। पेस्तोल हल्का तातेको पनि थियो।
पेस्तोल खल्तीमा कोच्दै म मास्क र टोपी लगाएर चुपचाप बाहिरिएँ। एउटा कुरामा थकथक लाग्यो। ट्रिगर दबाउनुअघि मैले किन मृतकहरुलाई उनीहरुको अन्तिम इच्छा सोधिँन?
भाइ, तँसँग त्यति पर्याप्त समय कहाँ थियो र?
यसो भनेर मैले आफैँलाई आश्वस्त तुल्याएँ। अनि पलभर आँखाका दुवै गेडीहरुलाई मास्तिर तानेर तेस्रो नेत्रमा सम्पूर्ण चेतनालाई संगठित गरेँ।
मेरो आँत निर्वाणमा थियो। म तृप्त भएको थिएँ। वर्षौँ मरुभूमिमा हराएर अचानक जादुमयी तवरले स्वच्छ तलाऊमा झ्वाम्म फाल हाले जस्तै। अनि लामो समय पौडिएपछि मुक्तिको रापिलो घाममा जीउ सेकाए जस्तै।
+++
बिस्तारै आँखा खोलेँ।
भित्तामा नजर परे। त्यहाँ आँखाहरुलाई स्थिर राखिरहेँ। मेरा बुबाको एउटा श्यामश्वेत तस्विरले लगातार मलाई नियालिरहेको थियो। मेरो मन शान्त र चकमन्न थियो। सास धीमा थियो र ‘ताण्डेन’बाटै चलिरहेको थियो। छाती मस्त आराम गरिरहेको।
मैले मतिरै हेरिरहेका बुबाका आँखामा गढेर हेर्दै भनेँ, ‘आज मैले एउटा (प्रकल्पित) रावण वध गरेँ, बुबा!’
तर, बुबा केही बोल्नुभएन। उहाँको ओठमा एउटा चहकिलो मुस्कान उब्जियो।
म बिस्तारै उठेँ र गमलामा लहलहाइरहेका एकमुठी कुश काटेर बुबाको तस्विरमुनि राखिदिएँ। बुबा बितेको पन्ध्र वर्षपछि आज मैले यसरी कुशे औँसी मनाएँ।