PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सत्ता पक्ष र प्रतिपक्षले ‘बहिस्कार’ गरेको संविधान दिवस : कतै कालो दिन, कतै छुट्टै कार्यक्रम



विधुर ढकाल

सत्ता पक्ष र प्रतिपक्षले ‘बहिस्कार’ गरेको संविधान दिवस : कतै कालो दिन, कतै छुट्टै कार्यक्रम

काठमाडौं : आज, असोज ३ गते संविधान दिवस। संविधान दिवसका दिन सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन्।

संविधान दिवसमा रोचक तथ्य त के भने सत्तापक्ष र प्रमुख प्रतिपक्षले नै बहिस्कार गरेका छन्। हरेक वर्ष संविधान दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा सरकारले संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्ष दलका नेता, मन्त्रीहरु तथा सांसदसहितका उच्च पदस्त सरकारी अधिकारी सहभागी हुँदै आएका छन्।

तर, यस वर्षको संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा सत्ता पक्षकै नेताहरु, प्रतिपक्षी दललेसमेत बहिस्कार गरेका छन्।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)नेपालले वक्तव्य नै जारी गरेर संविधान दिवस बहिस्कार गर्ने घोषणा गरेको थियो। संविधानलाई अधुरो भन्दै कालो दिनको रुपमा मधेस केन्द्रीत दलहरुले मनाउँदै आएका छन्। सत्तामा रहेको जसपाले संविधान दिवसको कार्यक्रम बहिस्कारमात्र गरेर उसको नेतृत्वमा सरकार रहेको प्रदेश २ मा संविधान दिवसमै कार्यक्रम आयोजना भएन।

जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न, संविधान दिवसका सबै कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका थिए। संविधानका विभेदकारी व्यवस्था तथा त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि देशैभरि ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न पार्टी संगठन र आमजनसमुदायलाई आह्नान गरेका हुन्।

सोहीअनुसार आज जसपाले विभिन्न स्थानमा संविधान संशोधनको विषयमा कार्यक्रम आयोजना गरेको छ। जस अन्तर्गत काठमाडौंमा जसपाको जसपानिकट बौद्धिक पेशाकर्मी महासंघले दिउसो २ बजे अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।  

सरकारले जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनको बेलामा भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर गरेको भन्दै जसपाले ‘विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटिपूर्ण संविधान मधेसी, आदिवासी जनजाति दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको’ भनेको छ।

यता संविधान दिवसको दिन टुँडिखेलमा आयोजित कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि कार्यक्रम ‘बहिस्कार’ गर्‍यो। प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु कार्यक्रममा सहभागी भएनन्।

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका उपनेता सुवाष नेम्वाङले पनि बहिस्कार गरे। संविधान जारी गर्नका लागि अहम भूमिका खेलेका उनको बहिस्कारले पनि संविधान दिवस र कार्यक्रम माथि नै प्रश्न उठाएको छ।

'मैले आज भ्याउँदिन भनेर पहिल्यै खबर पठाइसकेको थिए। आज मेरो सेड्युल बिहानैदेखि प्याक भएर म गइनँ,' नेम्वाङले पहिलोपोस्टसँग भने, 'सँधै जाने म नै हो। म नगए पनि अरु कोही गएको होला। पार्टीले बहिस्कार गरेको भन्ने होइन। संविधान दिवस सबैको हो।'

उनले संविधान दिवसको दिन पार्टीले पनि कार्यक्रम गरेको बताए।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो पार्टीलाई औपचारिक जानकारी नभएको दाबी गरे।

'हामीलाई औपचारिक रुपमा कार्यक्रमको बारेमा जानकारी थिएन। आधिकारिक रुपमा पार्टीको तर्फबाट सहभागिता भएन,' उनले भने, 'पार्टीले बहिस्कार गरेको होइन। थाहा नभएर गएका होइनौँ।'

यसैबीच एमालेले केपी ओलीको प्रमुख आतिथ्यातामा तुल्सीलाल स्मृति भवन च्यासलमा कार्यक्रम आयोजना गरेको छ।  

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सत्तारुढ गठबन्धनले ओली सरकारविरुद्ध आन्दोलन गरेको थियो। ओलीले दुई दुई पटक गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो।

हाल प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको छ।

अर्कोतिर प्रधानमन्त्री देउवालाई विस्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हरेक वर्ष जस्तै संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाएको छ। 

'असोज तीन, कालो दिन' भन्दै लोसपाले 'शहीदको बलिदानी एवं संविधानको पूर्णता' विषयक विचार गोष्ठी आयोजना गर्दै छ। जसपाबाट भदौ ९ गते आधिकारिक रुपमा फुटेको लोसपा पनि संविधान दिवसको कार्यक्रममा सहभागी भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell