PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुजित मैनालीको अनुसन्धनात्मक पुस्तक ‘सती’ सार्वजनिक



पहिलोपोस्ट

सुजित मैनालीको अनुसन्धनात्मक पुस्तक ‘सती’ सार्वजनिक

काठमाडौं : ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’का लेखक सुजित मैनालीको दोस्रो कृति 'सती' सार्वजनिक भएको छ। अनुसन्धनात्मक लेखकका रुपमा स्थापित मैनालीको यस पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ।

नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरु लैंगिक भेदभाव अनेक रुपमा अझै पनि समाजमा व्याप्त छन्। मानव–इतिहासकै क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन्। लेखक मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्ने कोसिस गरेको प्रकाशन संस्था किताब पब्लिसर्सले जनाएको छ।

‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूष प्रधान समाजले कस्तो लाभ दोहन गर्‍यो भनि चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेसी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ,’ मैनालीले भनेका छन्। 

पुस्तकले हालका लैंगिक भेदभावका कतिपय प्रवृत्तिहरु सतीप्रथाकै धङधङी हुन् भन्ने उजागर गरेको छ ।

नेपालमा लिच्छवी राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन्। १९७७ सालमा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भएको हो।

‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो– इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ समाजशास्त्रको अध्येता रहेका मैनालीले भनेका छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्‍यो।’

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन्। त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको विवरण समेटिएका छन्। त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका छन्। प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ। 

‘यो पुस्तकमा सतीप्रथाको उद्भव पछाडिका ऐतिहासिक कारणहरुको राम्रोसँग विवेचना गरिएको छ,' किताब पब्लिसर्सका प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले भनिन्, 'यो पढ्दै जाँदा अहिलेका लैंगिक भेदभावका कतिपय प्रवृत्तिहरु त्यही कुप्रथाका धङ्धङी हुन् भन्ने प्रष्ट हुन्छ।’

सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौन जीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको छ। सतीप्रथालाई राजपरिवारमा सत्ताप्राप्तिको हतियारका रुपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ। सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरुको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ। भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि

प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ। 
यसअघि २०७६ सालमा मैनालीको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell