PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केपी ‌ओलीलाई जनताले सजाय दिनेछन् : माधवकुमार नेपाल



रिना थापा

केपी ‌ओलीलाई जनताले सजाय दिनेछन् : माधवकुमार नेपाल

पोखरा : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सजाय दिने बताएका छन्। संविधान दिवस पारेर पार्टीले आयोजना गरेको 'लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति पार्टीको भूमिका' विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो धारणा राखेका हुन्।

'मेरो आदेश नमान्ने सबैको कत्लेआम गर्दिन्छु भन्ने! प्रतिनिधिसभा विघटन हत्या हो,' नेता नेपालले ओलीका गतिविधिमाथि प्रश्न उठाउँदै भने, 'अन्य देशमा यस्तो घटना भए प्रधानमन्त्रीलाई सजाय दिने गरिन्छ। अब ओलीलाई नेपाली जनताले सजाय दिन्छन्।' 

उनले कुनै पनि पार्टीका नेता संविधानभन्दा माथि नहुने बताए। उनले नयाँ पार्टी गठन गरेर बाध्यात्मक रुपमा हिँड्नुपरेको पनि बताए। 'हामी नयाँ परिवेशमा अघि बढ्न बाध्य भएका थियौं,' नेता नेपालले भने, 'प्रतिनिधिसभा विघटन भयो। किन विघटन भयो होला? प्रधानमन्त्रीको पद खोसिन्छ कि  आफूलाई हटाउँछन् भनेर भयो।'

उनले संविधान मिच्न खोज्दा ओलीले नसकेको प्रष्ट्याए।  'कुनै व्यक्तिले पाउछन्? पाउदैनन्।  संविधानले प्रष्ट रुपमै वैधानिकता दिँदैन,' उनले भने।  

नेता नेपालले ओलीको बारेमा केही बताउनुलाई समय खेर फाल्नुमात्र रहेको बताए। 

'उहाँको बारेमा म केही भन्न गइरहेको छैन। किनकि म आफ्नो समय खेरा फाल्न चाहँदिन,' अध्यक्ष नेपालले भने, 'हामीलाई अरुको निन्दा गर्नुछैन। अपमान र मानमर्दन गर्दैनौं। कुरा काट्ने फुर्सद छैन।'

कम्युनिस्टका गुरुहरुले सभ्य बन्ने शिक्षा दिएको बताउँदै उनले जालझेल, षड्यन्त्र र तिगड्म नगर्न भने। 

'नयाँ संस्कार बोकेर अगाडि बढ्नुस्। सभ्यताको उदाहरण बन्नुहोस । फूलको आँखा मा फूलै संसार, काँडाको आँखामा काँडै संसार,' उनले भने, 'जसले काँडा देख्छ त्यसलाई हेर्न दिनुहोस्। हामी फूलको संसार बनाउन चाहन्छौं। त्यसैले हामीले नयाँ पार्टी बनाउन चाहान्छौं। देश र जनताको पार्टी, युवाको पार्टी, युवाको ढुकढुकी बन्न चाहान्छौं।'

उनले अरुभन्दा भिन्न छौँ भनेर देखाउन आवश्यक रहेको पनि बताए । अरु जस्तै भएमा मान्छेले 'जुन जोगी आए पनि कानै चिरिएको' भन्ने बताउँदै प्रश्न गरे, 'आज नेकपा एमालेको यो हविगत किन भयो?' 

उनले यसको कारण पहिल्याउनुपर्ने बताए। एमालेको नाम लिने बित्तिकै सबैले नाक मुख खुम्च्याउने अवस्था आएको पनि उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell