स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियम मड्रिडले भ्यालेन्सियालाई हराएको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलिमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा हुगो डुरोको गोलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। तर, ८६ औं मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जेमाले गोल गर्दै मड्रिडको जित सुनिश्चित गरे।
गएराति नै सम्पन्न अन्य खेलमा मालोर्का र भिल्ला रियल तथा रियल सोसिडाड र सेभिया गोलरहित बराबरीमा रोकिँदा रियल बेटिस र स्पानोयल २-२ को बराबरीमा रोकिए।
गएरातिको जितसँगै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियलले ५ खेलबाट १३ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको भ्यालेन्सियाले क्रमश ११ र १० अंक जोडेका छन्।
