काठमाडौं : नहरको किनारामा मानिसको भिड लागेको थियो। करिब सय जनाभन्दा बढी मानिस भेला भइसकेका थिए। सबै आफ्नै आफ्नै प्रयासमा जुटेका थिए। तर, कोही पनि सफल भएका थिएनन्। त्यहाँ बचाउने भन्दा हेर्नेकै भिड बढी थियो। कोही चाहेर पनि सामर्थ्य जुटाउन सकेका थिएनन्। कोही सामर्थ्य भएर पनि खुट्टा कमाइरहेका थिए।
लक्ष्मण भर्खरै बिदा सकेर गाउँ रौतहटको सन्तपुर फर्किएका थिए। कक्षा ९ मा पढ्ने एक बालक नहरमा पौडी खेल्ने क्रममा बगेका थिए। उनलाई नहरले बगायो भन्ने थियो। तर उनको न लास भेटिएको थियो नत सास नै। त्यही घटनाले मानिसहरु त्यहाँ जम्मा भएका थिए।
'तँ त प्रहरी होस्। तिमीहरूले ट्रेनिङ गरेका हुन्छौ। नहरमा गएर बचाउन सक्छौ।'
त्यही भीडमा पुगेका लक्ष्मणलाई कसैले भनिरहेको थियो। भिडबाट भनेको जस्तो तालिम लक्ष्मणले पाएका थिएनन्। भनाईमा एउटा सत्यता चाहिँ थियो - उनी सशस्त्र प्रहरी नै थिए।
भर्खरको पठ्ठो उमेर, त्यसमा पनि प्रहरीको तालिम गरेको जोशिलो अवस्था। झन् प्रहरी भन्दै समाजले पत्याएपछि लक्ष्मण पछि हट्ने कुरा भएन। भिडले केही हौस्यायो अनि कर्तव्यले पनि। त्यसपछि उनले बेगले बगिरहेको नहरमा बाँकटे हाने। लक्ष्मण राम्रो पौडीबाज थिए तर एउटा अनुभवी उद्धारकर्ता भने थिएनन्। पानीको बेगमा हराएका बालकलाई खोजी गर्न सहज थिएन। त्यही बेगले लक्ष्मणलाई पनि रिङ्ग्यायो।
केही समयपछि उनी नहरको भेलबाट बाहिर आए। तर, जसलाई खोज्न जोखिम मोलेर होमिएका थिए, फर्किँदा पनि एक्लै थिए। खोजिएको ठाउँमा बालक नभएको भन्दै उनी निस्किए। केही समयपछि केही पर बालक भेटिए तर ज्युँदो होइन, मृत।
त्यस दिन त्यहाँ नहरले एउटा बालक बगाएको थिएन। लक्ष्मणको एउटा सामान्य पौडीबाजको सोच र चाहना पनि पखालेको थियो। उनलाई यो घटनामा आफूले कुशल उद्धारकर्ता नहुँदाको पीडाले पोल्यो। त्यसैले पनि २०६९ सालको त्यस घटनालाई अझै पनि लक्ष्मणले भुल्न सकेका छैनन्। त्यही घटना थियो जसले उनको जीवनमा यू टर्न ल्यायो।
+++
२०७२ वैशाख १७ गते विनाशकारी भूकम्प भएको छ दिन भइसकेको थियो। अझै कति मानिसको मृत्यु भयो? कति बेपत्ता छन्? कोको उद्धारको प्रतीक्षामा छन्, केही पत्तो थिएन। काठमाडौं भूकम्पको बढी नै चपेटामा थियो। त्यसमाथि काठमाडौंको गोंगबु क्षेत्र बढी प्रभावित।
सात तले भवनभित्र एक किशोरले ज्यान बचाउनका लागि गुहार लगाएको सुनियो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र विदेशबाट आएका विभिन्न टोली समेत उद्धारमा खटिएका थिए। उद्धारको फ्रन्ट लाइनमा सशस्त्र प्रहरी बढी सक्रिय देखियो।
गोङ्गबुको भत्किएको सात तले भवनभित्रबाट सकुशल मानिस निकाल्नु सहज थिएन। पूरै भवन धस्सिएको थियो। त्यही कंक्रिटको बिचबाट ६ दिनपछि कुनै पुरुषले आवाज दिएका थिए - ज्यान जोगाउनका लागि। सशस्त्र प्रहरीले उनको उद्धार थाल्यो। भवनलाई सुरक्षित तरिकाले मानिसलाई भित्रबाट निकाल्न खोजियो। साढे पाँच घण्टाको अनवरत प्रयासपछि ती किशोरलाई निकालिए।
१५ वर्षीय नुवाकोटका पेम्बा तामाङ थिए ती। सात तले भवनको एकै छतमुनि थिए न्यु स्टार, भुवनेश्वरी र हिलटन गेस्ट हाउस। पेम्बा त्यहीँ होटेलमा काम गर्ने कामदार। उनी तल्लो तलाको सटरमा छोपिएका थिए। बाइक र त्यसमाथि पुरै कंक्रिटले थिचेको थियो। कसोकसो केही ग्यापमा उनी छोपिएका थिए। ६ दिनसम्म पेम्बाले न खान पाए न त घाम नै देखे। अनि सकसपूर्ण सास फेराई।
पाँच घण्टापछि पेम्बालाई इजरायलले त्यतिखेर अस्थायी रुपमा बनाएको रेस्क्यु अस्पतालमा उपचार गरियो। उनले पुनर्जीवन पाए। अहिले पेम्बा जवान भइसकेका छन्। त्यतिखेर पेम्बालाई नयाँ जीवन दिने मुख्य भूमिकामा तिनै सशस्त्र प्रहरीका लक्ष्मण थिए जसले नहरमा एउटा बालक खोज्न असफल रहेका थिए। र, जीवनभरका लागि पछुतो मानिरहेका। पेम्बाको उद्धारपछि भने एकाएक 'हिरो' भए लक्ष्मण। सबैतिर उनकै चर्चा।
अहिले पनि पेम्बा लक्ष्मणलाई सम्झिरहन्छन्। भेट्छन् पनि बेलाबेलामा। एक साताअघिमात्र पेम्बा र लक्ष्मणको भेट भएको थियो। उद्धार गर्दाको पेम्बा र अहिले भेटिएका पेम्बामा धेरै फरक आइसकेको छ।
पेम्बाले लक्ष्मणसँग जीवन बचाउनमात्र होइन केही जीवन चलाउन पनि सल्लाह लिने गरेका छन्। केही अघिको भेटमा उनले आफू कमाउन भारत जान लागेको सुनाएका थिए। तर, लक्ष्मणले उनलाई देशमा नै केही गर्न सुझाव दिएका थिए।
त्यतिखेरको ढलेको गोंगबुमा यतिखेर त्यसको कुनै संकेत छैन। सर्लक्कै उभिसकेको छ यो ठाउँ। त्यही उभ्याईजस्तै भएको छ लक्ष्मणको मनोदशा पनि। महोत्तरीको नहरमा असफल भएर भाँडिएको मनमा यहाँको उद्धारले मल्हम लगाएको छ। अहिले सन्तुष्ट छन् उनी। आफूलाई सशस्त्र प्रहरी भन्दा गौरव मान्छन्। सशस्त्र प्रहरीको उद्धारकर्ता भनेर चिनिँदा गर्वले छाती चौडा हुन्छ उनको।
'जीवनमा सबै सिकेका कुरा प्रयोगमा आउँदैन। तर सिकेको कुराले अरूको जीवन बचाउँदा त्यसभन्दा सार्थकता केहीमा पाउँदिन,' गर्विलो सुनिए उनी। किनकि १ सय २० घण्टापछि एउटा अत्यन्तै कठिन उद्धार सफल भएको थियो।
+++
२०६४ सालमा उनी सशस्त्र प्रहरीमा भर्ना भएका थिए लक्ष्मण। भर्ना भएर सामान्य जागिर चलेकै थियो। तर, महोत्तरीको घटनाले उनको जीवनमा परिवर्तन ल्यायो।
उनले थाहा पाए - पौडिन जान्नु र बचाउनु फरक कुरा रहेछ। मुढे बलले होइन टेक्निक आवश्यक भएको महसुश गरे। त्यसपछि उनको मोरङस्थित डाङ्ग्रा बेस कमान्डमा सरुवा भयो।
सशस्त्र प्रहरीले केही वर्षअघि देखिमात्र विपद् व्यवस्थापन तालिम दिन थालेको थियो। अर्थात् २०६७ वैशाख १९ गतेदेखि विपद् व्यवस्थापन तालिम दिन सुरु भएको थियो। पृथ्वी राजमार्गको सर्बे तथा निर्माण गर्न त्यतिखेर चितवनको कुरिनटारमा आवासीय भवन बनाइएको थियो। त्यतिखेर सशस्त्र जनयुद्धले मुलुकभर आकार लिइसकेको थियो। माओवादी विद्रोहलाई दवाउन गठन भएको सशस्त्र प्रहरीले २०५८ मङ्सिरमा त्यही भवनलाई बेस क्याम्पका रुपमा परिवर्तन गरे। सडक विभाग भवन सशस्त्र प्रहरीलाई दिएको हो। पछि भने सशस्त्र प्रहरीले विपद्का लागि यहीँबाट तयारी गर्न थाल्यो।
आधारभूत तालिम त सबै सशस्त्र प्रहरीले लिने गरेका थिए। तर, पूरै विपतको कोर्स गर्ने कम हुन्थे। लक्ष्मणलाई त्यही नहरको घटनाले विपद्सँग जोडिएको कोर्स गर्ने हुटहुटी जाग्यो।
सशस्त्र प्रहरीले इच्छुकलाई विभिन्न क्षेत्र क्षेत्रबाट तालिममा जुटाउन थालेको थियो। २०७० सालमा पूर्वी क्षेत्र हेर्नेलाई तालिम दिने तालिकामा लक्ष्मणले पनि आफ्नो नाम टिपाए। कमान्डर भए पनि उनलाई तालिमतिर नै मन लाग्यो। इन्ट्रास पास गरेपछिमात्र तालिम गर्न पाइने व्यवस्था थियो। लक्ष्मणको इच्छाको अगाडि इन्ट्रान्स ठूलो कुरा थिएन। उनले सहजै पास गरे। त्यसपछि अन्य ५० जनासँग विपद् व्यवस्थापनको तालिममा जुटे।
उनको हुटहुटीले नै होला ५० जनाको तालिममा उनी ब्याचकै प्रथम भए। तालिममा मात्र होइन लक्ष्मण अहिले फिल्डमा उत्तिकै सफल ठहरिन्छन्। चितवनको कुरिनटारमा रहेको सशस्त्रको विपद् व्यवस्थापन तालिम केन्द्रमा आठ वर्षअघि छिरेका लक्ष्मण त्यसयता त्यहाँबाट बाहिरिन चाहेनन्।
त्यसो त बिचमा एक वर्ष उनी बीओपी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका थिए। तर, त्यता लामो टिक्न चाहेनन्। फेरि फर्किए त्यही फिल्डमा। सात वर्षदेखि अहिले उनी जस्तै विपद्मा तालिम लिन चहानेहरुलाई तालिम दिइरहेका छन् उनले। उनको जोश अहिले पनि उत्तिकै छ। सडक दुर्घटनादेखि नदीमा हराएका खोज्न उनको टोली परिचालन भइरहन्छ।
उनी देशभर नै पुगेका छन् दुर्घटनाका केसमा। जाजरकोटमा भएको बस दुर्घटना होस् वा नदीमा बेपत्ता भएकाको खोजीमा, उनी त्यतै पुगिरहेका हुन्छन्। धेरैलाई उनले बचाएका छन्। उनकै कारण ज्यान जोगिएकाहरुले बेलाबेलामा सम्पर्क गरिरहन्छन्।
'कहिले काहीँ कतै भेट्दा कुनै घटनाको कुरा हुँदा उहाँहरूले नै त्यो घटनामा पनि थिएँ। तपाईँहरूको टिमले नै उद्धार गर्नु भएको थियो भन्ने पनि भेटिनुहुन्छ। त्यस्तो सुन्दा जीवनमा सार्थकता मिलेको महसुस हुन्छ,' लक्ष्मणले भने।
आफ्नो ज्यान जोगाउँदै अरूको जीवन बचाउनु कम चुनौतीको विषय होइन। लक्ष्मण यसमा अभ्यस्त भइसके। जुन उद्देश्यले सशस्त्र प्रहरीको जन्म भएको थियो, त्यो असान्दर्भिक भइसक्यो। त्यसैले सीमा सुरक्षा र उद्धारमा पोख्त बनाइँदैछ सशस्त्र प्रहरीलाई। त्यसैले विपद्का घटनामा अझै प्रभावकारी बनाउन थप काम गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले बताए। 'अझै धेरै उद्धारकर्ता जम्माउनुछ। पाँच मिनेटमा घटनास्थल पुगेर रेस्क्यु गर्ने प्रणाली विकास गर्दैछौं,' डीआइजी अर्यालले भने। उनले यसो भनिरहँदा मुलुकमा थप लक्ष्मणहरु थपिने संदेश मिलिरहेको थियो।