PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

ओमनमाथि जितबारे करण केसी : अघिल्लो खेलमा प्रेसर दिन सकिएको थिएन, यसमा राम्रो भयो



पहिलोपोस्ट

ओमनमाथि जितबारे करण केसी : अघिल्लो खेलमा प्रेसर दिन सकिएको थिएन, यसमा राम्रो भयो
फोटो : NSJF

काठमाडौं: नेपाली क्रिकेट टोलीका सदस्य करण केसीले आइतवार बेलुकी सम्पन्न नेपाल र ओमनबीचको खेलमा जितका लागि महत्वपूर्ण भूमिका खेले। उनले सुरुबाटै विकेट लिन सुरु गरेपछि ओमनी ब्याटिङ दवाबमा आएको थियो। त्यसपछि सन्दीप लामिछाने र शरद भेषवाकरले राम्रो बलिङ गर्दा घरेलु मैदानमा ओमनको ब्याटिङ जम्न सकेन र १ सय २१ रनमा समेटियो।

क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालको यो अन्तिम खेल पनि थियो। सिरिजको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने र प्रशिक्षक डेभ ह्वाटमोरको राम्रो विदाइ गर्ने सोचमा थियो नेपाल। नेपाली टोलीले ड्रेसिङ रुमामा पनि यही सल्लाह गरेर सकारात्मक सोच लिएर मैदानमा उत्रिएको बताउँछन् खेलका प्लेयरअफ दी म्याच बनेका करण केसी।


प्लेयरअफ दी म्याच करण। फोटो : CAN


'ओमनसँग यसअघि पनि पराजितसँग भइसकेका थियौं। प्रेसर पनि थियो। यहाँको विकेट ब्याटिङ बलिङ दुबैका लागि राम्रो छ। यसमा बलिङ राम्रो गर्न सके राम्रो भइरहन्छ र ब्याटिङ राम्रो भए राम्रो भइरहन्छ,' केसीले भने, 'विकेट गएपछि ब्याटिङ प्रेसरमा आइ हाल्छ।'

केसीले ओमनसँगको अघिल्लो खेल पनि सम्झिए। उनले प्रेसर भन्नुको अर्थ स्वभाविक पनि थियो किनभने ओमनले लिग २ मै यसअघिका तीनवटा खेलमा नेपाललाई हराइसकेको थियो। जसमा दुई वटा खेल नेपालले आफ्नो घरेलु मैदानमै गुमाएको थियो। ओमन सिरिजमा पनि अघिल्लो खेलमा नेपालको ब्याटिङ लाइन नजम्दा सामान्य लक्ष्य प्रस्तुत १९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जसमा ओमनले सहजै ३१.१ ओभरभित्र भेट्टाएको थियो। केसी पछिल्लो खेलमा थोरै लक्ष्य भएका कारण बलिङमा प्रेसर दिन नसक्दा ओमनसँग पराजय ब्यहोर्नु परेको बताउँछन्।

'पछिल्लो पटकचाहीँ रन पनि थोरै थियो। प्रेसर पनि दिन सकिएन। जतिन्दरले राम्रो ब्याटिङ पनि गरेको थियो। कम टार्गेट र त्यसमाथि त्यस्तो ब्याटिङ गरिदिए पछि कठिन त भइहाल्छ,' केसीले ओमनसँगको अघिल्लो खेलबारे भने, 'बलरको रुपमा चाहिँ विकेट आयो भने प्रेसर बढाउँदै लैजान सकिन्छ। विकेट आएन भने प्रेसर दिन चाहीँ एकदम गाह्रो हुन्छ।'

उनले अगाडी भने: अन्तिम खेल जितेर कोचलाई राम्रो फेयरवेल गर्ने टिमको सोच थियो। सफल भयौं।

दुई जित, दुई हार

ओमन सिरिजमा नेपालले दुई जित र दुई हार ब्यहोर्‍यो। सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमनसँग ५ विकेटले नै पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले हारेको नेपाल अन्तिम खेलमा ओमनमाथि ७ विकेटको जित निकाल्यो।

सिरिजको अन्तिम खेलमा आज ओमन र अमेरिका भिड्दैछन्।

पछिल्लो खेलमा ओमनमाथि जित

हिजो भएको खेलमा नेपालले ओमनमाथि ७ विकेटको फराकिलो जित निकालेको थियो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र कलीमुल्लाहले ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन।

अर्कोतर्फ बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट प्रदर्शन गरे। केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिँदा लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै, जारी सिरिजमा पहिलो खेल खेलेका शरद भेषवाकरले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेललाई ६ रनमै गुमाए पनि आशिफ शेख र ज्ञानेन्द्र मल्लले राम्रो साझेदारी गर्दै नेपालको स्कोर उकासे। कप्तान मल्लले सर्वाधिक अभिजित ५२ रन बनाउँदा आशिफ शेख ४० रनमा पभेलियन फर्किए। त्यस्तै, रोहित कुमार पौडेलले ६ रन तथा शरद भेषवाकरले १ रन जोडे

बलिङतर्फ कलीमुल्लाहले १ र नेस्टोर धम्बाले २ विकेट लिए।

जितसँगै नेपाल लिग २ को अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।

शीर्षस्थानमा रहेको ओमनले १३ खेलबाट २० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १५ खेलबाट १४ अंक जोडेको छ। त्यस्तै तेस्रो स्थानमा ८ खेलबाट ९ अंक जोडेको स्टकल्याण्ड छ। चौथो स्थानमा रहेको नेपालले ८ खेलबाट ८ अंक जोडेको छ भने पाँचौ स्थानमा रहेको नामिबियाले ७ खेलबाट ८ अंक जोडेको छ। त्यस्तै यूएईले ७ खेलबाट ७ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell