PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संखुवासभा हत्याकाण्ड : लोकबहादुर मात्र होइन, अरूको पनि देखियो संलग्नता, थप चार जनालाई सार्वजनिक गर्दै प्रहरी



पहिलोपोस्ट

संखुवासभा हत्याकाण्ड : लोकबहादुर मात्र होइन, अरूको पनि देखियो संलग्नता, थप चार जनालाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं : संखुवासभाको मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा थप चार जनाको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ। प्रहरीको दावीसँगै घटनामा ट्विस्ट देखा परेको हो।

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइसहित अन्य चार जनालाई पक्राउ गरी आज सार्वजनिक गर्ने भएको छ। लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्। विभिन्न बयान र अन्य तथ्यको आधारमा थप चार जनाको संलग्नता भएकाले सार्वजनिक गर्न लागिएको अनुसन्धानमा खटिएका एसपी भीम दाहालले जानकारी दिए।

'थप चार जनाको संलग्नता देखिएको छ। आज नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछौं,' एसपी दाहालले भने। प्रहरीले सार्वजनिक गर्ने लागेका अन्य लोकबहादुरका आफन्त नै हुन्।

प्रहरीले भदौ २७ गते नियन्त्रणमा लिएका २५ वर्षीय लोकबहादुरलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो। प्रहरीले पत्रकार सम्मेलनमा हत्यामा एक जनाको मात्र संलग्नता रहेको दाबी समेत गरेको थियो।

'हाम्रो अनुसन्धान सकिएको थिएन। त्यसैले अनुसन्धानको क्रममा अरू पनि देखिए,' एसपी दाहालले भने।

भदौ २१ गते बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो।

घटनास्थलमा रञ्जनाले प्रयोग गर्दै आएको मोबाइल भने फेला परेको थिएन। त्यसपछि प्रहरीले हराएको मोबाइल खोजी गरिरहेको थियो। प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरका भाइ नरेशको साथमा हराएको मोबाइल फेला परेको प्रहरीको दाबी छ।

लोकबहादुर आफ्ना बाबु र भाइसँग बस्दै आएका थिए। उनकी आमाको केही महिना अगाडि लडेर मृत्यु भएको थियो। तर, घटना भएको दिन उनका भाइ र बाबु चिया खाएर घाँस काट्न निस्किएको प्रहरीमा बयान दिएका थिए। अभियुक्त कार्कीले योजनाबद्ध रूपमा नभएर आवेगमा आएर तत्काल त्यस्तो घटना भएको प्रहरीको दाबी थियो। त्यस्तै अभियुक्तले घटना गराएको स्वीकार गरिसकेको प्रहरीले बताएको छ।

लोकबहादुरले दाउराको घारबाट चिर्पट निकालेर टाउकामा हानेर हत्या गरेको र त्यसपछि उनले हत्या गरिएको चिर्पट आगोमा डढाएको देखिएको बताए थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २५ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीलाई बयानकै भर, अझै छन् अनुत्तरित प्रश्न : के एक्लैले ६ जनाको हत्या गरे? अरु छिमेकीले किन देखेनन् या सुनेनन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell