PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

स्वर्ग जाने दिन! यस्तो छ इन्द्र दहसँग इन्द्रजात्राको नाता



पहिलोपोस्ट

स्वर्ग जाने दिन! यस्तो छ इन्द्र दहसँग इन्द्रजात्राको नाता

काठमाडौं : आज यँया: पुन्हि/भाद्र शुक्ल पूर्णिमा। काठमाडौंको पश्चिम भेगमा रहेको चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा मेला लागिरहेको छ आज।

इन्द्रजात्रा मृत्यु संस्कारसँग जोडिएको पर्व भएकाले इन्द्रदहमा लाग्ने मेला पनि यसैसँग सम्बन्धित छ। इन्द्रजात्रामा जीवित देवदेवीको रथयात्रापछि राति काठमाडौंमा 'दागीं' निस्किन्छिन्।

दागीं अर्थात् इन्द्रकी आमा। कुमारीसहित गणेश र भैरवको रथ यात्राले तल्लो टोलको परिक्रमा गरेर पुन: कुमारी घर पुगेपछि दागीं आफ्नो छोरा इन्द्र खोज्दै शहरको यात्रा हिँड्छिन्। दागींको पछाडि वर्षभरी दिवंगत भएका व्यक्तिको परिवारका सदस्य सेतो कपडा लगाएर सतबीज छर्दै हिँड्छन्।

सेतो ख्वापा र रातो बस्त्र लगाउर छिटोछिटो हिँड्दै नगर परिक्रमा गर्ने दागीं हेर्न मानिसहरू रातभर जाग्राम बस्ने गर्छन्।

जात्रा सकिएपछि रातिमात्रै दागीं निस्किने भएकाले धेरैलाई यस यात्राका बारेमा थाहा हुन्न।

किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर, त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरूको स्वीकृति विना फूल टिपे। फूल चोर्दै गरेको देखेपछि किसानले इन्द्रलाई नियन्त्रणमा लिए। उनलाई डोरीले बाँधेर नगर परिक्रमा गराएर मरुमा बन्धनमा पारेर राखे। इन्द्रलाई बन्धनमा राखेपछि इन्द्रको बाहन एरावत हात्ती आफ्नो देवताको खोजीमा आए। हात्तीलाई किलागलका मानिसले समाए। हात्ती पनि नफर्किए पछि आमा आफैँ इन्द्रको खोजीमा 'दागीं' बनेर पृथ्वीमा आइन्। इन्द्रलाई खोज्दै भौतारिंदै हिँडेकी दागींले छोरालाई डोरीले बाँधेर राखेको देखिन्। तर, किसानको शक्तिसामु न इन्द्रको केही लाग्यो न त दागींको नै।

उल्टै इन्द्रलाई छोड्न किसानहरुले दागींसमक्ष शर्त राखे। छोरालाई छोडदिए काठमाडौंलाई उर्बर बनाउन पानी पार्ने र मृत्युपछि स्वर्गलोकमा जान पाउनुपर्ने!

दागींले किसानको शर्त स्वीकार गरिन् र स्वर्ग पुग्न इन्द्रदहमा स्नान गर्नुपर्ने बताइन्।

यही किम्बदन्तीको निरन्तरता स्वरूप मध्यरातमा काठमाडौँमा दागीं निस्किन्छ। आफ्ना दिवंगत आफन्तहरुको स्वर्ग लोकमा बास होस् भन्दै मानिसहरू दागींलाई पछ्याउँदै सतबीज छर्दै नगर परिक्रमा गर्छन्। केही भने दागींसँगै इन्द्रदह (यँकीदह) पुग्छन्। दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजन पुग्छन्। दिवंगतहरु स्वर्ग पुगोस् भन्ने कामनाका साथ इन्द्रदहमा बत्ती बाल्ने र स्नान गर्ने गरिन्छ।

इन्द्रहमा पुगेर स्नान गर्दा स्वर्गलोक पुग्ने जनविश्वास समेत रहेको छ। त्यसैले हरेक वर्ष आजको दिन यहाँ मेला लाग्ने गर्छ। यो वर्ष इन्द्रकी आमा 'दागीं' इन्द्रदह पुगेनन्। यद्यपि, भक्तजनहरुले आज बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन्।

गत वर्ष कोरोना महामारीका लागि मेला स्थगन गरिएको थियो। यस वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मेला संचालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell