PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न' गरायो



सविन ढकाल

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न' गरायो

काठमाडौं : संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ।

प्रहरीले यसअघि भदौं २७ गते मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका लोकबहादुरका भाइ, बाबुदेखि अन्य दुई जनालाई आज सोमवार प्रहरीले सार्वजनिक गरेको हो। यसअघि लोकबहादुर एक्लैले दाउराको चिर्पटोले सबैको हत्या गरेको प्रहरीको दावी थियो।

आज पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन्। नरेश र रणबहादुर कार्की यसअघि प्रहरीले अभियुक्त भनिएका लोकबहादुरका भाइ र बाबु हुन्। भदौ २७ नियन्त्रणमा लिइएका २५ वर्षीय लोकबहादुरलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको थियो।

भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो।

प्रहरीले २५ वर्षीय लोकबहादुरलाई सार्वजनिक गर्दा दिएको जानकारी र आज सार्वजनिक गर्दा दिएको घटनाको जानकारीमा आकाश पातालको फरक देखिएको छ। यसले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न गर्ने स्थिति बनाइदिएको छ। संखुवासभाको हत्याकाण्डमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपीदेखि एक नम्बरका प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण बीसी समेत खटिएका थिए।

भदौ २७ गते गरेको पत्रकार सम्मेलनमा डीआइजी बीसीले घटनामा एकजनाको मात्र संलग्नता रहेको दाबी गरेका थिए। त्यतिखेर उनले एक जनाको हत्या गरेको देख्ने जति सबैलाई हत्या गर्दा ६ जना मारिएको अनुसन्धानमा खुलेको बताएका थिए। तर, अहिले भइरहेको प्रहरी अनुसन्धानले पहिलेको अनुसन्धानमा प्राप्त गरिएको भनिएका तथ्यलाई लत्याउँदै नयाँ तथ्य प्रस्तुत गरेको छ।

अर्थात्, ६ जनाको हत्या प्रकरणमा अब पाँच जनाको संलग्नता देखिएको प्रहरीको दावी छ। सुरुमा पक्राउ परेका एक जनाले अरुलाई बचाउनका लागि घटनामा आफूमात्र संलग्न भएको बयान दिएका थिए। त्यही बयानमा मात्र टेकेर प्रहरीले घटनामा एक जनाको मात्र संलग्न भएको दाबी गर्दै आएको थियो। तर, डीआइजी बीसीले त्यतिखेर 'अहिलेको अनुसन्धानमा एक जना मात्र देखिएको र अनुसन्धान जारी भएको' सम्भावनाका लागि ठाउँ छाडेका थिए। त्यसले त्यतिखेरको अनुसन्धानकै निरन्तरताका रुपमा पछिल्लो घटनाको विकासक्रमलाई लिन सकिन्छ।

फेरिए हत्याका योजनाकार

सबैभन्दा पहिले पक्राउ परेका लोकबहादुर कार्की प्रमुख योजनाकार भएको प्रहरीको दावी रहँदै आएको थियो। तर, सोमवार प्रहरीले सार्वजनिक गरेका मध्येका एक खड्गबहादुर कार्कीलाई मुख्य योजनाकारका रुपमा लिएको छ।

अर्थात्, अब लोकबहादुर नभइ अब मुख्य योजनाकार भएका छन् खड्गबहादुर। यतिमात्र होइन, घटनालाई हेर्ने दृष्टिकोण नै यू टर्न हुन पुगेको छ। आज प्रहरीले हत्याकाण्ड योजनावद्ध भएको जनाएको छ। जबकि यसअघि लोकबहादुरलाई सार्वजनिक गर्दा डीआईजी बीसीले घटना आवेगको भरमा भएको तर्क गरेका थिए। योजना मानेका थिएनन् उनले त्यतिखेर।

अहिले प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ - 'घटना योजनावद्ध ढंगबाट पाँच जनाको समूहले घटाएको, जुन योजना लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसी बनाएको...।'

घटनास्थलमा मारिएकी रञ्जनाले प्रयोग गर्दै आएको मोबाइल भने फेला परेको थिएन। त्यसपछि प्रहरीले हराएको मोबाइल खोजी गरिरहेको थियो। प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरका भाइ नरेशको साथमा हराएको मोबाइल फेला परेको प्रहरीको दाबी छ। त्यही क्लुलाई टेकेर अनसन्धान गर्दै जाँदा थप मानिसहरु यसमा संलग्न भएको खुलेको थियो।

'मोबाइल हराएको थियो। त्यसमा अर्कै सीम प्रयोग भएपछि थप अनुसन्धान अगाडि बढाएका थियौं,' जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले भने।

प्रहरीले हत्यामा जे जस्तो कारण प्रहरीले खुलाएको थियो, त्यो यतिखेर अपूरो देखिएको छ। पछिल्लो अनुसन्धानले ६ जनाको हत्या योजनावद्ध र अन्यको संलग्नतामा भएको देखाएको हो।

हत्या भएको समय पनि पहिलेभन्दा अहिलेको अनुसन्धानले फरक देखाएको छ। यसअघि प्रहरीले ६ बजेदेखि साढे ६ बजेसम्म हत्या भएको दाबी गरेको थियो। तर, पछिल्लो अनुसन्धानले बिहान ५ बजेर २० मिनेट देखि ५ बजेर ४० मिनेटको बिचमा हत्या भएको देखिएको छ। अर्थात् ६ जनाको ज्यान २० मिनेटमा अभियुक्तहरुले लिएका हुन्।

प्रहरीले यसअघि जे जति अनुसन्धान भन्दै पेश गरेको थियो त्यो अधिकांश लोकबहादुरको बयानकै आधारमा तयार भएको थियो। तर, पछिल्लो पटकको अनुसन्धानमा भने अभियुक्तलाई फरकफरक स्थानमा राखेर सोधपुछ गरेको थियो। पाँचै जनाको बयान एक देखिएपछि अन्य समय र घटनालाई परिस्थितिजन्य प्रमाण र समयसँग भिडाएपछि मात्र थप अभियुक्तहरु सार्वजनिक भएका हुन्।

आखिर पछिल्लो अनुसन्धानले घटना कसरी भयो भन्छ त?

लोकबहादुर कार्कीले भने झैं घटना भएको दिने तेजबहादुर कार्कीको पिप्लेस्थित खेतमा काम थियो। जसका लागि तेजबहादुरले लोकबहादुरसहित खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश कार्की खेतला जाने कुरा निश्चित भएको थियो।

तेजबहादुर बिहानै लोकबहादुरकहाँ खेतला भन्न आउँने निश्चित थियो। त्यसैका आधारमा उनीहरुले राति नै योजना बनाएको प्रहरीको पछिल्लो अनुसन्धानले देखाएको छ। जसअनुसार खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमार कार्कीको घरमा गई "लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु" भन्दै सुझाएका थिए। उनीहरुले अघिल्लो राति बनाएको योजना सफल पार्नका लागि खड्गबहादुर बिहानै तेजबहादुरलाई सल्लाह दिन पुगेका थिए।

त्यही अनुसार तेजकुमार लोकबहादुर कार्कीको घर पुगे। उनीहरु लोकबहादुरको घरमा गएको खड्गबहादुर र हस्तबहादुरले देखेको प्रहरीसँग स्वीकारेका छन्। त्यसपछि खड्गबहादुर र हस्तबहादुर तेजबहादुरको घर पछाडि दाउराको चिर्पट बोकेर तयारी अवस्थामा बसेको प्रहरीको दावी छ।

तेजबहादुरले “अल्छी अझसम्म उठेको छैनस्" भन्दै कराएपछि लोकबहादर उठेका थिए। त्यतिखेर लोकबहादुरका भाइ नरेश र बाबु रणबहादुर कार्की समेत घरमै भएको अनुसन्धानले देखाएको छ। तर, यसअघिको अनुसन्धानमा लोकबहादुले आफूमात्र घरमा रहेको भाइ र बुवा घाँस काट्न गएको बयान दिएको प्रहरीको दावी थियो। सायद, लोकबहादुरले आफू समातिए पछि भाइ र बाबुलाई जोगाउन प्रहरीलाई बनावटी बयान दिएका थिए। प्रहरीले लोकबहादुरको बयानमा नै विश्वास गर्‍यो। उनले भनेका कुरालाई अन्य प्राविधिक तथा प्ररिस्थितिजन्य प्रमाणबाट पुष्टि गर्न चाहेन।

तेजबहादुरले लोकबहादुरको घरमा पुगेर फर्किएपछि भाइ नरेशलाई इसारा गरि दाउराको चिर्पट र अलैची काट्ने चक्कु लिएर तेजबहादुरको पछिपछि गएका थिए। घर पछाडिको गोगनेको रूख नजिकै पुगेपछि तेजबहुदरको टाउकोमा प्रहार गरि लडाए। त्यसपछि खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पट लिएर आएका थिए। तेजबहादुरमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाई बाटोमा झारी हत्या गरेको र घोप्टो पारेको अनुसन्धानले देखाएको छ। तर, पहिलेको अनुसन्धानमा लोकबहादुरले एक्लै हत्या गरेको बताएका थिए।

'उनीहरुले योजना बनाएका रहेछन्। प्रहरीले कसैलाई पक्रिहाल्यो भने आफूले मात्र गरेको हो भन्ने बयान दिने रणनीति बनाएको देखियो,' डीएसपी सुवेदीले भने।

“लोकेले मार्‍यो, मलाई नमार" भन्दै गरेको हारगुहार गरेका पहिलो अनुसन्धानको बयान यसपालाको अनुसन्धानमा पनि मिलेको छ। त्यसपछि तेजबहादुरको श्रीमती र बुहारीले हत्या गरिरहेको देखेका थिए। लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको देखिन्छ। बुहारी रंजनालाई नरेशले ठेल्दै खोल्सामा झारेको अनुसन्धानमा भनिएको छ। खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेको प्रहरीको दाबी छ। मृतक रंजनाको शव रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्‍याएको प्रहरीलाई बयान दिएका छन्।

पहिलेको अनुसन्धानमा घटनामा दाउराको चिर्पटमात्र प्रयोग भएको भनिएको थियो। जबकि पछिल्लो अनुसन्धानले छुरा प्रहार समेत गरेको भनिएको छ। प्रहरीको अनुसन्धान वा चिकित्सकको रिपोर्ट कसरी फेल भयो? घाँटीमा चक्कुले काटिएको देखिएन? यदि देखिएको भए पहिलो अनुसन्धानमा खटिएका प्रहरीले किन चक्कु खोजेनन्? अनि चिर्पटमात्र भएको र आगोमा डढाएको मात्र भन्यो?

'पोस्ट मार्टम रिपोर्ट ढिलो गरी आयो। त्यसमा मल्टिपल हतियार प्रयोग भएको देखियो। त्यसले हत्यामा अरु पनि संलग्न हुनसक्ने देखायो,' डीएसपी सुवेदीले भने, 'त्यसले अनुसन्धानमा फरक क्लु दिएको थियो।'

नाबालक दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुने। त्यसपछि लोकबहादुरले चिर्पटले हानेको र घाँटी बटारेर हत्या गरेको भनिएको छ। उनीहरुको हत्याको क्रमम यतिमा नै रोकिँदैन।

त्यसपछि पाचै जना तेजबहादुरको घर गए जहाँ ८४ वर्षीय पार्वती कार्की थिइन्। उनलाई हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेका थिए। त्यहाँ लोकबहादुरले पार्वतीको टाउको भित्तामा ठोक्काई घाँटी बाटारेर हत्या गरेको प्रहरीको दावी छ।

त्यसपछि उनीहरुले घटनामा प्रयोग भएका सबैखाले प्रमाण लुकाएका थिए।

'सबैजनाले घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा गई लागेको रगत पखाली छुरी घरको बुइङ्गलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको...,' प्रहरीले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

खड्गबहादुर र उनका छोरा हस्तबहादुर हत्यापछि आफ्नो घर गएको प्रहरीको दावी छ। उनीहरुले फर्कने क्रममा रंजनाको मोबाइल सेट नरेशले लिएर स्वीच अफ गरेर घरमुनिको ओडारमा लुकाएको जुन पछि अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ।

आज फेरि प्रहरीले संखुवासभा हत्या प्रकरणमा आफ्नो अनुसन्धानमा सफल भएको दाबी गरेको छ। तर, सात दिनको अन्तरालमा नै दुई फरक निष्कर्षले प्रहरीको अनुसन्धान निष्कर्ष निकाल्ने भन्दा 'क्रेडिट' कसले बटुल्ने भन्नेतिर उन्मुख त भएको होइन भन्ने संशय पनि पैदा गरेको छ। त्यतिमात्र होइन, अभियुक्तले बयानमा स्वीकारेकै भरमा परिस्थितिजन्य प्रमाणसँग मेल खान्छ या खाँदैन भन्ने भेरिफाईसमेत नगर्नु र हतारमा हतारामा काम देखाउन खोज्नुले प्रहरीको अनुसन्धानमाथि प्रश्न भने खडा गरेको छ।

प्रहरीलाई बयानकै भर, अझै छन् अनुत्तरित प्रश्न : के एक्लैले ६ जनाको हत्या गरे? अरु छिमेकीले किन देखेनन् या सुनेनन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell