PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

 दसैंका लागि नयाँ नोट सटही गर्न राष्ट्र बैंक पुग्न थाले सर्वसाधारण

दसैंका लागि नयाँ नोट सटही गर्न राष्ट्र बैंक पुग्न थाले सर्वसाधारण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट नयाँ नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको हो।

राष्ट्र बैंकले कोभिड १९ संक्रमणलाई केन्द्रमा राखेर यसपाली चाँडै नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने छन्।

राष्ट्र बैंकले गत वर्ष नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा नोट सटही सुरु गरेको हो।

बैंक तथा वित्तीय संस्थाले भने अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन्। औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने उनीहरुको तयारी छ। यद्यपि, माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि नोट उपलब्ध गराइएको छ।

राष्ट्र बैंकले यसपटक अधिकांश नोट नयाँ नै वितरण गरिदिएको छ। पहिला भने सुकिलो (एक/दुई पटक प्रयोग भएको) नोट पनि वितरण गरेको थियो।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ। विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको हो। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell