PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दशैं लगायत चाडपर्व लक्षित ट्राफिक सुरक्षा योजना : मापसे अनुगमनमा कडाइ, सादा पोशाकमा प्रहरी खटाइने



पहिलोपोस्ट

दशैं लगायत चाडपर्व लक्षित ट्राफिक सुरक्षा योजना : मापसे अनुगमनमा कडाइ, सादा पोशाकमा प्रहरी खटाइने

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ। ट्राफिक प्रहरीले चेकिङ कडाइ, यात्रु सहायता कक्ष लगायतका सुरक्षा योजना सार्वजनिक गरेको हो।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हो। योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) जनक भट्टराईले जानकारी दिए।

बसपार्क, टिकट काउन्टर, अन्य भिडभाड हुने स्थल तथा यात्राका क्रममा कोरोना सङ्क्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेक एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए।

दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४ सैं घण्टा चेक हुने गरेको प्रहरीले जानकारी दिएको छ। चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रूपमा मापे चेक गरी कडाइ गरिने एसएसपी भट्टराईले बताए।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखा लगायतका बाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरूलाई नाकामा कडाइका साथ चेकिङ कडा पारिएको प्रहरीले जानकारी दिएको छ। मुख्यतया लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेक गर्ने महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रूपमा भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेक गर्ने उल्लेख छ ।

चाडपर्वका बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ। विशेषगरि बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरू, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरूमा किनमेलका लागी आउने मानिस तथा सवारी साधनको बढी भिडभाड हुने गर्छ, त्यस्ता स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको छ।

न्युरोड, ठमेल, कालीमाटी, कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढी भिडभाड हुने कारण हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरी ट्राफिक व्यवस्थापन पार्किङ व्यवस्थापन मिलाइने भएको हो। 

उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरू सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ।

यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने महाशाखाले उल्लेख गरेको छ।

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिइ हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell