PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साइबर अट्याकमा कप्तान मल्ल : ‘नेशनल भिलेनका रुपमा हेर्नुहुन्छ भने पनि माइन्ड चाहिँ गर्दिनँ’



मुकुन्द घिमिरे

साइबर अट्याकमा कप्तान मल्ल : ‘नेशनल भिलेनका रुपमा हेर्नुहुन्छ भने पनि माइन्ड चाहिँ गर्दिनँ’
फाइल फोटो

काठमाडौंः खेलकुदमा समर्थन वा आलोचनालाई सामान्य रुपमा हेरिन्छ। आलोचनामा सीमा हुन्छ। सीमाभन्दा बाहिर गएर आलोचना सुरु भएपछि त्यो आक्षेप बन्छ। 

अहिले त्यस्तो आक्षेप लगाउने ठाउँ बनेको छ सामाजिक सञ्जाल। त्यस्तो आक्षेप ब्यहोर्ने खेलाडी बनेका छन् राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल।

घरेलु मैदानमा होस् या बाहिर खेल्दा यस्तो आलोचनालाई मल्लले पचाइसकेका छन्।

घरेलु मैदानमा समर्थकहरुले टिमलाई समर्थन गर्दा पनि मल्ललाई भने चिच्याइ-चिच्याइ गाली गरिरहेको सुनिन्छ। त्यस्तै, राष्ट्रिय टिम बाहिर जाँदा ‘फ्रस्टेसन’ पोख्ने ठाउँ बन्छ सामाजिक सञ्जाल। उनीमात्र होइन विनोद भण्डारी पनि यसको निरन्तर सिकार हुँदै आएका खेलाडी हुन्।

नेपाली टोली विश्वकप लिग २ अन्तर्गतको खेल खेल्न अहिले ओमनमा छ। सिरिजका सबै खेल खेलिसकेपछि फर्कने योजनामा छ टोली। नेपालले ओमनमा रहँदा पपुवा न्युगिनीमाथिको दुई वटा अभ्यास खेलमा जित निकालेको थियो भने अमेरिका र ओमनविरुद्ध समान १/१ खेलमा जित र १/१ खेलमै हार ब्यहोरेको थियो।

नेपाली टोली ओमनमा रहँदा समर्थकको तारो बने कप्तान मल्ल। व्यक्तिगत प्रदर्शन हेर्ने हो भने पछिल्ला दुई खेलमा ‘ब्याक टू ब्याक’ अर्धशतक प्रहार गरेका उनी त्यहाँका सबै खेलमा महत्वपूर्ण भूमिकामा देखिए। टिमको प्रदर्शन पनि सन्तोषजनक नै देखियो।

यद्यपि, जित हार दुबैमा उनले गाली खाइरहे। यो सिरिजमा उनीबाहेक विनोद भण्डारी र कुशल मल्लको पनि अवस्था उस्तै रह्यो।

कुशल ओमनसँगको पछिल्लो खेल खेलेनन्, अन्यमा जम्न सकेनन्। ब्याटिङ नचले पनि बलिङमा सन्तोषजनक प्रदर्शन गरेका थिए। भण्डारीको प्रदर्शन पनि समग्रमा औसत रहेको छ।

ओमनसँगको खेलपछि आफूमाथि हुने गरेका साइबर आक्रमणलाई लिएर कप्तान मल्लले मुख खोलेका छन्।

‘म सँगको व्यक्तिगत दुश्मनी के हो मलाई थाहा छैन, मैले खोसेर ल्याए जस्तो, कहीँबाट डाकु भएर आएजस्तो वहाँहरुलाई लागेको हुन सक्छ। जहिले पनि राम्रो गर्नका लागि आउने हो। राम्रो गर्छु भनेर आउने हो। मेरो र टिमको लागि मात्र नभएर परिवारका लागि सबै कुरा जोडिएको हुन्छ’, कप्तान मल्लले अगाडि भने, ‘कहिलेकाहीँ दुःख पनि लाग्छ। सपोर्ट हुनुपर्ने हो जस्तो लाग्छ। जतिबेला हामीलाई सपोर्टको आवश्यकता हुन्छ त्योबेला नभएको देख्दा अलिकति खिन्न पनि लाग्छ।’

 

मल्लले आफूबाहेक अन्य खेलाडी पनि यस्तो आक्रमणमा पर्ने गरेको बताउँदै यसले खेलाडीलाई नकारात्मक असर पर्ने बताए।

‘यो मलाई मात्र होइन अन्य केही खेलाडीलाई पनि टार्गेट गरिरहेको देख्छु म, सुन्छु म। हरेकपटक खेल्न जाँदा हामी आज नेपाललाई जिताउँछौँ भनेरै गएका हुन्छौँ। तर सोचेजस्तो कहिलेकाहीँ हुँदैन’, कप्तान मल्ल भन्छन्, ‘हामी क्रिकेट नै कति खेल्छौँ? यो लेभलको क्रिकेट पनि कम खेल्ने गर्छौँ। जसले गर्दा खेलमा एकैपटक जाँदा प्रेसर परिरहेको हुन्छ। त्यसमा पनि सपोर्ट आउँदैन।’

मल्लले आफूलाई नेशनल भिलेनको स्थापित गराउन खोजेको महसुस गरेका रहेछन्।

‘यति हुँदाहुँदै पनि मन पराउनुहुन्न, नेशनल भिलेनका रुपमा हेर्नुहुन्छ भने माइन्ड चाहिँ गर्दिनँ। किनभने मेरो लक्ष्य भनेको टिमको लागि कसरी जाने हो त्यसमै केन्द्रित हुन्छ’, उनले भने, ‘र, चाहन्छु कि सक्दो माया गर्नुहोस्, सक्नुहुन्न भने पनि टार्गेट गरेर कुनै खेलाडीलाई सामाजिक सञ्जालमा अब्युज नगर्नुहोस्।’

सामाजिक सञ्जालमा हुने यस्तो आक्रमणलाई उनले त एक हिसाबले पचाइसकेछन्। तर, परिवार, राष्ट्रिय टिमलगायत अन्य सबै पक्षले यसलाई सहज रुपमा लिन सक्दैन। र, लिन आवश्यक पनि छैन। यसमा उनको श्रीमतीसँग जोडिएको एउटा घटना पनि सम्झिए।

‘अहिले चाहिँ मलाई अलिकति पर्सनल नै भएजस्तो लागिरहेको थियो। किनभने मैले मेरो परिवारलाई कहिल्यै पनि यस्तो कुरामा सहभागी गराएको थिइनँ। हिजो-अस्ति पनि श्रीमतीले सामाजिक सञ्जाल नहेर है, तिमीले हेरेको छ कि छैन भनेर भन्दाखेरी एकदमै नराम्रो लाग्यो’, मल्लले सुनाए, ‘किनभने हाम्रो कहिल्यै पनि क्रिकेटका बारे कुरा हुँदैन। उनलाई पनि धेरै असर गरेको रहेछ भन्ने कुरा यो कुराहरु हामीले अलि सिरियस्ली लिनुपर्छ जस्तो लाग्छ।’

आफू क्रिकेटमा केन्द्रित हुँदा पनि आउने नकारात्मक प्रतिक्रियाले विचलित गराउन सक्ने उनको ठम्याइ छ।

‘सबैजना राम्रो गर्न आउने हो। मेरो नेशनल ड्युटीले गर्दा म अलि अघि आउनुपर्ने भयो’, उनी भन्छन्, ‘आफ्नो जीवनमा सबैले आ-आफ्नो काम गर्नुहुन्छ, तपाईँले काम गर्दा कसैले तपाईँलाई दबाब दिनुहुन्छ भने तपाईँ के गर्नुहुन्छ? त्यो आफ्नो बारेमा पनि सोच्नुपर्छ जस्तो लाग्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell