PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेसार शीर्षकमा बौद्धमा कला प्रदर्शनी : मनपरी गर्भपतन र आत्महत्याका विषयमा जोडदार उठान



लक्ष्मी बलायर

बेसार शीर्षकमा बौद्धमा कला प्रदर्शनी : मनपरी गर्भपतन र आत्महत्याका विषयमा जोडदार उठान

काठमाडौं: बौद्धस्थित 'ग्यालरी एल ए'मा यतिखेर बेसार शीर्षकमा एल बज्र लामाको कला प्रदर्शनी चलिरहेको छ। पहिलो आर्ट देखिन्छ रुखमा फूल फुलेजस्तै। झट्ट हेर्दा ती फूलेका फूलजस्तै देखिए सालनालसहित झुन्डिएका भ्रुण रहेछन्। ‘हेङ्गिङ फेट्स्’ शीर्षकको उक्त आर्ट मनपरी गर्भपतनबारे बताउन खोजेको कलाकार लामा बताउँछन्।

‘गर्भ रहनसाथ लिंग पहिचान गरेर छोरी छ भने फाल्ने गरिन्छ। बिहेअघि नै बच्चा पाउने भए पनि गर्भपतन गरिन्छ,' लामाले भने, 'जसले गर्दा कयौंले संसार देख्न नपाई बिदा हुनुपरेको छ। यो निकै दुखद् हो।'

२०७२ सालको भूकम्प ताका। उनको टिमले भूकम्पमा ज्यान गुमाउनेलाई श्रद्धान्जलीरुवरुप 'कन्डुलेन्स थ्रु आर्ट' प्रदर्शन गरेको थियो। उक्त प्रदर्शन हेर्न आएका एक जनाले भनेको कुराले लामालाई खुब बिझेछ। 'भूकम्पले भन्दा त जन्मिन नपाउँदै कत्ति बच्चाहरु मरिरहेका छन्। तपाईहरुलाई के थाहा?' यही प्रश्नले बिझाएपछि आफूले चित्रमार्फत यसबारे सचेत गराउने जमर्को गरेको उनले सुनाए।

नजन्मेको बच्चाहरुको बारेमा चित्रमार्फत देखाउन खोजेको उनले प्रष्ट पारे।

लगत्तै अर्को संसद भवन पृष्ठभूमिमा डोरीमा मानिसहरु झुन्डिरहेका। यो आत्महत्याको विषयवस्तुलाई उठान गरेको उनले बताए। पछिल्लोपटक आत्महत्या बढिरहेको छ। तर यो विषयमा सरकारले कुनै चासो नदेखाएकाले आफूले चित्रमार्फत यसको विरोध गरेको उनको भनाई छ।

‘सन् २०१५ देखि २०१६ को तथ्याङअनुसार प्रत्येक वर्ष ३ हजारभन्दा बढीले आत्महत्या गरेको पाएँ। जसमा बढी १८ देखि ३३ वर्षको उमेर समूह पर्छन्,' उनले भने 'यो मुद्दाप्रति सरकारले मतलब नै गर्दैन। यस चित्रमा आत्महत्या बढ्नुमा सरकारको पनि गैरजिम्मेवारी हो भन्न खोजिएको छ।’

प्रदर्शनीमा ३३ किलो सुनकाण्डदेखि भ्रष्टाचारका विषयलाई उठान गरिएको छ। नेताहरुलाई डाइपर लगाइदिएका चित्रकला पनि देखिन्छन्। 'नेताहरुले बोलेको कति सान्दर्भिक छ/छैन भन्ने जनताले मुल्यांकन गरिरहेका हुन्छन्। उनीहरुलाई देख्दा बच्चाले बुढाको कुरा गरेको होकी बुढोले बच्चाको जस्तो भन्ने हुन्छ,' उनले भने।

लाफिङ बुद्धदेखि मोनालिसासम्मको फ्युजन चित्र बनाएका छन् लामाले। 'एप्पल' ब्रान्डको दबदबामाथि प्रश्न गरेका छन्।

'लियोनार्दो दा भिन्सी भन्ने बित्तिकै मोनालिसा नै हरेकको दिमागमा आउँछ। तर उनका अरु पनि खत्रा-खत्रा पेन्टिङहरु छन्। यसको मतलब यो नराम्रो छ भन्ने खोजिएको होइन्। तर यो पेन्टिङको सामु अरु पेन्टिङ दबिए। त्यस्तै एप्पल कम्पनी पनि। तिनीहरु लायक भए पनि नभएपनि मान्यता निकै दिइन्छ।'

समसमायिक विषयमा जोडदार रहेको कलाकृतिलाई प्रदुषणको विषयसमेत जोडिएका छन्। जुन चित्र कोरोना आउनुअघि बनाएका हुन् उनले। प्रदुषणले मृत्युदर बढिरहेको तथ्य चित्रमा प्रस्तुत गरेका छन्।

अन्तिम पेन्टिङमा उनले दुई झुटा नेताबिचको प्रतिस्पर्धामाथि चोटिलो प्रहार गरेका छन्। जसमा एकजना समृद्धि र गतिको कुरा गर्छ भने अर्को निश्चित समयमा नेपाललाई स्विजरल्यान्ड बनाउने कुरा गर्छ। जो छिटो विकास गर्ने कुरा गर्छ उनको गति कछुवाको जस्तो हुन्छ। त्यस्तै अर्को भने बंगुरजस्तै फोहोरी हुन्छन्। तर दुबै जनाले एकअर्कालाई होच्याउने मात्र काम गर्छन्।

माथि उल्लेख गरिएका सबै पेन्टिङको थिम 'बेसार' राखिएको छ। बेसारलाई लामा एन्टिबाइटिकको रुपमा लिन्छन्। यी सबै पेन्टिङलाई मनन गरेको खण्डमा एन्टिबाइटिक हुने उनको भनाई छ। पेन्टिङमा उतारेका सम्पूर्ण विषयवस्तुलाई मानिसहरुले मनन र आत्मसाथ गर्न सकेको खण्डमा निकै राम्रो सन्देश जाने उनको भनाई छ।

बेसार नै किन त यसको थिम?

जवाफमा लामा भन्छन्, ‘बेसार झट्ट हेर्दा राम्रो देखिदैन। खाँदा नि टर्रो हुन्छ। तर त्यसले एन्टिबायोटिकको काम गर्छ। यो पनि यस्तै खाले प्रदर्शन हो।’

भदौँ ३० बाट शुरु भएको उनको प्रदर्शनी असोज ६ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell