PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

को महानायक को महानायिका ? कलाकारलाई उपाधि नै चाहिन्छ त ?



लक्ष्मी बलायर

को महानायक को महानायिका ? कलाकारलाई उपाधि नै चाहिन्छ त ?

काठमाडौं : नेपाली फिल्म उद्योगमा नायक नायिकाहरुलाई दिइने उपाधिबारे बेला बेला चर्चा चल्ने गर्छ। कलाकारहरुलाई 'महानायक, महानायिका, मेघास्टार, एक्सन किंङ' जस्ता उपमा दिइन्छ। विभिन्न संस्थाले अभिनेता राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइसकेका छन्। कसैले भने राजेश र करिश्मालाई नभइ भुवन केसी र गौरी मल्ललाई त्यो उपाधि दिन्छन्।

तर, के उनीहरु साँच्चै महानायक र महानायिका हुन् त भन्ने प्रश्न भने सधैँ खडा हुन्छ। भुवनका छोरा अनमोल केसीलाई दिइएको 'मेघास्टार' को ट्याग पनि विवाद रहित हुन सकेन। बहसको विषय बन्छ फिल्म क्षेत्रभित्र नै। कलाकारलाई दिइने उपाधिबारे कलाकारहरुबिच नै फरक मत छ। केही मिडियाले पनि लहलहैमा नायक नायिकाहरुलाई उपाधी दिइरहेका हुन्छन्। कलाकारहरु एकअर्कालाई मनमानी रुपमा उपमा भिडाइदिन्छन्। र, उपमा पाउनेहरु पनि रमाउँछन्।

ठ्याक्कै माथि उल्लेख गरेजस्तै दृश्य देखियो शोभित बस्नेत निर्देशित 'डाँडाको वरपिपल' एक कार्यक्रममा।

आइतबार भएको कार्यक्रममा शोभितले अभिनेता भुवन केसीलाई नेपालको एकमात्र महानायक भनि सम्बोधन गरे। शोभितले आफूलाई 'महानायक' भनेर सम्बोधन गर्दै गर्दा भुवन पनि खुसी देखिए। पछि शोभितको अभिव्यक्ती सुनेपछि निर्देशक अशोक शर्माले 'तिमी पनि महानायकको विवादमा फस्लाउ है' भन्दै सचेत गराए। केही समयअघि दिपाश्री निरौलाले राजेश हमाललाई दिइएको महानायक उपाधिको मापदण्डमाथि प्रश्न उठाएकी थिइन्। उक्त अभिव्यक्तिपछि उनको निकै आलोचान भयो। दीपाले माफी समेत माग्नु पर्‍यो।

अशोकले यसरी सम्झाउँदै गर्दा पनि शोभित रोकिएनन्। झन् हिम्मतका साथ भने 'नेपालमा जसले सबैभन्दा सुपरहिट फिल्म दियो, उच्च वर्गलाई फिल्म हलसम्म ल्यायो, आफ्नी श्रीमतीलाई अरु केटासँग नाँच्न दियो, जसले छोरालाई यही क्षेत्रमा ल्यायो र घर बेचेर फिल्म बनाएर सयौँलाई रोजगार दिन्छ। त्यो बाहेक अरु महानायक हुनै सक्दैन।'

केही समयपछि स्टेजमा फेरि महानायकको विषयले मात्रै प्रवेश पाएनन्। उठ्यो प्रश्न- नेपालको महानायिका को हुन् ?

अब बोल्ने पालो अभिनेता भुवन केसीको। 'सत्य बोल्छु' भन्दै उनले नेपालको एकमात्र महानायिकाको 'ट्याग' दिए गौरी मल्ललाई। उनीसँग काम गर्न पाउँदा खुसी लागेको भुवनले सुनाए।

भने,'मैले कुनै विवादको लागि यो कुरा बोलेको होइन्। म जे बोल्छु सत्य बोल्छु। गौरी मल्ल अभिनयको महारानी र महानायिका हो। ८/१० वर्षसम्म गौरी मल्लको तुलनामा कोही आउँछ जस्तो पनि लाग्दैन। यसकारण मैले उनलाई महानायिका भनेको हुँ।'

भुवनले यसो भनिरहँदा गौरी मल्ल भने छक्क परेकी थिइन्। उनको हाउभाउबाट नै उपाधि लिन नचाहेको प्रष्ट देख्न सकिन्थ्यो।

कार्यक्रममै आफूलाई दिइएको 'महानायक' को उपाधि भने भुवनले शिव श्रेष्ठलाई दिए।

'नेपालको एकमात्र महानायक शिव श्रेष्ठ हुन्' उनले भने। पाकिस्तानमा कुनै बेला शिव श्रेष्ठको निकै चर्चा हुने गर्थ्यो। उनको फिल्म पाकिस्तानमा सुपरहिट हुन्थे। त्यसैको कुरा जोड्दै उनले शिव श्रेष्ठलाई 'नेपालको एकैमात्र महानायक' भने।

त्यसपछि आएका अभिनेता शिव श्रेष्ठले पनि गौरी मल्ललाई महानायिका भन्दै भुवनसँग सहमति जनाए।

आफूलाई 'महानायक' भनेका भुवनलाई भने शिवले अर्को उपाधि दिए। शिवले भुवनलाई नेपालको 'सुपरस्टार' भने। र, भुवन केसी नभएको भए नेपाली फिल्म उद्योग बन्द भइसक्ने दाबी गरे।

केही समयअघि करिश्मा मानन्धरलाई 'महानायिका'को उपाधि दिइएको थियो। यसै विषयमा नेपालमा कति जना महानायिका छन् भनि पत्रकारले प्रश्न तेर्साए। जसको जवाफमा शिव श्रेष्ठले भने, 'महानायिका उपाधि सबैले दिन पाउने कुरा हो। मैले पनि दिन पाउन्छु किनकी म पनि कलाकार हुँ। मैले पहिले देखि देखेको कुरा भनेको हो। नेपालको महानायिका गौरी मल्ल जी नै हो।'

अब पालो आउँछ नायिका गौरी मल्लको।

दुवै अभिनेताले गौरी मल्ललाई महानायिकाको उपाधि दिएपछि गौरीमाथि प्रश्न उठ्छ : ‘के तपाईं महानायिका उपाधि स्वीकार गर्नुहुन्छ?’

जवाफमा गौरीले यो देशमा यस्ता उपाधिहरुको कुनै औचित्य नरहेको बताइन्। आफू सानो प्लेटफर्मबाट हिँड्दै हिँड्दै यहाँसम्म आएको हुँदा आफूलाई यस्ता उपाधि नचाहिने उनको तर्क थियो।  ‍

'चलचित्रको दुनियाँमा उहाँहरुसँग ३०/३४ वर्षदेखि काम गरिरहेकी छु। त्यो आधारमा उहाँहरुको आफ्नै निर्क्योल होला। यसमा दुईमत छैन। जहाँसम्म मैले यो पद लिने नलिने कुरा छ। यसमा म एउटै कुरा भन्न चहान्छु। जुनसुकै उपाधि दिए पनि त्यो कागलाई हेल्मेट लगाए जस्तो नहोस्,' उनले भनिन्, 'उपाधि जसले पाए पनि, धान्न सक्ने र डिजर्भ पनि गर्नुपर्‍यो। त्यो चिज लिँदा खेरी त्यो सम्मानको लायक म छु कि छैन भन्ने अन्तर्बोध पनि हुनुपर्छ। कसैले अन्तर्बोध गरेर मनैदेखि स्वीकार्न सक्छ भने त्यो पनि ठीकै छ।'

उनले यो देशमा यस्ता उपाधिको कुनै औचित्य नरहेको भन्दै आफूलाई उपाधि नचाहिने बताइन्।

'मलाई उपाधि चाहिँदैन। काम दिनोस्। हामी श्रमजीवि हौँ। हामीलाई श्रम गर्ने मौका दिनोस्। हामीले के गर्यौँ, के गरेनौँ भोलिको पुस्ताले मूल्यांकन गर्ने कुरा हो। तर, यी सब कुरा भनिरहँदा एउटा कुरा भन्न चाहान्छु, आज तपाईं जे कुरा भन्नुहुन्छ भोलि त्यो इतिहास बन्छ' उनले भनिन्।

उपाधी आवश्यक नै छ त ?

नायक नायिका नै यसरी उपाधिको विवादमा उत्रँदा फिल्म क्षेत्र दिशाहीन हुने त होइन भन्ने प्रश्‍न खडा भएको छ। यसबारेमा फिल्म समीक्षक समाजका अध्यक्ष दिपेन्द्र लामा यो विवादलाई 'व्यर्थको बहस' भन्छन्। विश्वमा यस्तो उपाधि दिने होडबाजी कत्तै नभएको भन्दै उनले नेपालमा पनि यसको आवश्यक्ता नभएको बताए। उनले एउटा फिल्मलाई सफल बनाउन सबैको भूमिका उत्तिकै हुने बताए।

'एउटा फिल्मलाई सफल बनाउन फिल्मसँग जोडिएका सबै व्यक्तिको भूमिका हुन्छ। नायक नायिकादेखि क्यामरा पछाडि काम गर्नेहरुको उत्तिकै मिहिनेत हुन्छ। एउटा व्यक्तिलाई कुनै ट्याग दिए अरुको कामको अबमूल्यन गर्नु हुँदैन। त्यसैले यस्तो उपाधि दिनरहनु पर्दैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell