PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्दै, ७ एजेण्डामा छलफल गर्न जुटे नेता



पहिलोपोस्ट

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्दै, ७ एजेण्डामा छलफल गर्न जुटे नेता
FILE PHOTO

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्ने भएको छ। त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

यसअघि नेकपा एमालेबाट विभाजन हुने बेलामा नेपालको पक्षमा ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। विधानमा १५१ जनाको केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो। क्वालिटी बैङ्क्वेट बानेश्वर बुद्धनगरमा बस्ने बैठकले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्ने छ।

निर्वाचन आयोगबाट मान्यता पाएपछि चन्द्रागिरिमा भएको भेलाले अन्तरिम विधान तयार पारेको थियो भने पार्टीको मार्गदर्शक सिद्धान्त 'मार्क्सवाद लेनिनवाद' हुने तय गरेको थियो।

७ एजेण्डामा छलफल

नेकपा एकीकृत समाजवादीको मंगलवारको केन्द्रीय कमिटीको बैठकमा ७ एजेण्डामा छलफल हुने प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार अध्यक्ष माधव नेपालले बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्। सपथ ग्रहण, सामुहिक छलफल र निर्णय, केन्द्रीय कमिटीको विस्तार, आवाधिक कार्ययोजना, समसामयिक प्रस्तावहरु र विविध गरी ७ एजेण्डामा छलफल हुने तय भएको छ।

पार्टीको संगठन विस्तार

नेकपा एकीकृत समाजवादीका नेताहरुले आफ्नो पार्टी नयाँ भए पनि नेता कार्यकर्ताहरुले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण जिम्मेवारी निभाएकाले उनीहरु अनुभवी भएको बताइरहेका छन्। अहिले ५५ जिल्लामा संगठन विस्तार गरिसकेको उक्त पार्टीले चाँडै सबै जिल्लामा संगठन विस्तार गर्ने तयारी गरेको छ।

मंगलवारको बैठकमा संगठन विस्तारका बारेमा समेत छलफल र निर्णय गर्ने तयारी छ। यस्तै, केन्द्रीय कमिटीको बैठक पछि नेकपा एकीकृत समाजवादीले देशव्यापी अभियान संचालन गर्नेछ। नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा प्रदेश इञ्चार्ज तोकिसकेको छ भने स्थायी कमिटी, केन्द्रीय सचिवालय लगायतका संरचना पनि बनाइसकेको छ।

संगठनका कामलाई चुस्त बनाइने

नेकपा एमालेलाई विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका नेता नेपालले आफ्नो पार्टीलाई एमाले भन्दा फरक बनाउने बताउँदै आएका छन्। उनले एमालेमा बिचलन आएको आरोप लगाउँदै आएका थिए। नयाँ पार्टीलाई बिचलनबाट मुक्त राख्न प्रयास गर्ने उनले बताएका छन्।

नेकपा एकीकृत समाजवादीका गतिविधिलाई चुस्त बनाउँन संगठनका विभिन्न संरचनामा छलफल गर्ने र सामूहिक निर्णय प्रणालीको विकास गर्ने उक्त पार्टीको अन्तरिम विधानमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell