PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नरसंहारबाट सयौंलाई बचाएका 'होटल रुवान्डा' हिरोलाई २५ वर्ष जेल सजाय सुनाइयो



पहिलोपोस्ट

नरसंहारबाट सयौंलाई बचाएका 'होटल रुवान्डा' हिरोलाई २५ वर्ष जेल सजाय सुनाइयो
Photo : Clement Uwiringiyimana/Reuters

रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका पउल रुसेसाबगिनालाई रुवान्डाको एक अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ। सन् १९९४ मा भएको नरसंहारमा उनी आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई सजाय सुनाएको हो। रुसेसाबगिनाले भने आफूलाई न्याय मिल्ने कुनै आशा नरहेको भन्दै अदालती सुनुवाइ बहिष्कार गरेका थिए।

करिब ८ लाख मानिस मारिएको उक्त नरसंहारको बेलामा आफूले संचालन गरेको होटलमा सयौं मानिसहरुलाई सकुशल राख्न पउल सफल भएका थिए। रुसेसाबगिनाले उनीहरुलाई बचाउन गरेको संघर्षमा आधारित रहेर सन् २००४ मा हलिउड फिल्म ‘होटल रुवान्डा’ निर्माण भएको थियो।

गत वर्ष उनलाई आतंकवादसम्बन्धी कसुरमा अन्तर्राष्ट्रिय सहयोगमा पक्राउ गरिएको रवान्डा प्रहरीले जनाएको थियो। तर, पउललाई पक्राउ गर्न कुनकुन राष्ट्रले सहयोग गर्‍यो भनेर चाहिँ खुलाइएको थिएन। पउलविरुद्ध त्यहाँको प्रहरीले अन्तर्राष्ट्रिय वारेन्ट नै जारी गरेको थियो। पउलले भने आफूलाई दुबईबाट रुवान्डाका प्रहरीले 'अपहरण' गरेको बताउँदै आएका छन्।

सन् १९९४ मा अन्त्य भएको नरसंहारपछि उनले आफूलाई त्यहाँको सरकारले निशाना बनाउँदै आएको आरोप लगाएका थिए। सुरक्षाको खतरा उत्पन्न भएपछि उनी सन् १९९६ देखि रुवान्डामा बसेका थिएनन्।

रुसेसाबगिनामाथि रवान्डामा सशस्त्र द्वन्द्वमा संलग्न रवान्डन मुभमेन्ट फर डेमोक्रेटिक चेन्जलाई आर्थिक सहयोग गरेको अभियोग लगाइएको थियो। उक्त समूहले सन् २०१८ र २०१९ मा रुवान्डामा गरिएको आक्रमणको जिम्म्वारी लिएका थिए। उक्त आक्रमणमा ९ जनाको मृत्यु भएको थियो।

सरकारी तर्फबाट रुसेसाबगिनालाई जन्मकैदको माग गरिएको थियो। अदालतले भने उनलाई २५ वर्षको जेल सजाय सुनाएको हो। ६७ वर्षीय रुसेसाबगिनाको परिवारले जेलमा नै उनको मृत्यु हुन सक्ने भन्दै आफूहरु निकै चिन्तित रहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell