PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमालेको विरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक माथि छलफल : 'अफ्ठ्यारो' मान्दै सदन चलाए अध्यक्ष तिमल्सिनाले!



पहिलोपोस्ट

एमालेको विरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक माथि छलफल : 'अफ्ठ्यारो' मान्दै सदन चलाए अध्यक्ष तिमल्सिनाले!

काठमाडौं : राष्ट्रियसभाको बैठकमा एमालेको विरोधका बिच विनियोजन विधेयक माथिको छलफल सुरु भएको छ।  

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ आजै बसेको पहिलो बैठकमा टेबुल भएको थियो। 

राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसैबिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभा समक्ष टेबुल गरेका थिए। 

राष्ट्रियसभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताउँदै विरोध जारी रहने बताएका थिए। 

त्यसपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो। बैठक १५ मिनेट पछि पुन: सुरु भएको थियो। बैठकमा एमालेका सदस्यहरु उठेर विरोध गरिरहे। अध्यक्ष गणेश तिमिल्सिनाले 'अफ्ठ्यारो' मान्दै प्रकृयालाई भने अगाडि बढाएका थिए। 

तिमिल्सिना एमालेबाट निर्वाचित भएका हुन्। सभामुख अग्नि सापकोटासँग उनको लामो समयदेखि मतान्तर रहँदै आएको छ।

'आफ्नाो कुरा पर्याप्त समय लिएर राख्नुभएको छ। अब बसेर सदनलाई पनि अगाडि बढाउँ। कुरा पनि राख्दैजाउँ। त्यो सबैभन्दा सुन्दर हुन्छ। म माननीयहरुलाई बस्न आग्रह गर्दछु,' अध्यक्ष तिमिल्सिनाले मुस्कुराउँदै भने, 'माननीयहरु उठिरहने, यता कारवाही चलाइरहने अलि अफ्ठ्यारो अफ्ठ्यारो तर, अगाडि  बढाइनुपर्ने नै छ। बसिदिनुभयो भने राम्रो हुन्थ्यो। यहाँहरुलाई म फेरि बस्न आग्रह गर्दछु।' उनले यसो भनिरहँदा विरोध गर्दै उभिएका नेकपा एमालेका राष्ट्रियसभाका सदस्यहरु मुसुमुसु हाँसिरहेको देखिन्थ्यो। 

अध्यक्ष तिमल्सिनाले विनियोजन विधेयक सभामा छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मालाई पेश गर्न समय दिए। शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे। 

अध्यक्षले छलफलमा सहभागी हुन सदस्यहरुलाई समय दिए। कोही पनि छलफलमा सहभागी नभएपछि प्रस्ताव बहुमतले पारित भयो। 

विधेयकमाथि असोज ७ गते शीर्षगत रुपमा दलगत रुपमा छलफल हुनेछ। आगामी बैठक सोही दिन बस्ने गरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell