काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रैथाने लोकतन्त्रवादी दाबी गरेका छन्। मदन भण्डारीको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।
उनले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताहरुले भन्दा कम बलिदानी नगरेको समेत दाबी गरे। उनले नेकपा एमालेले तयार पारेको 'डेमोक्रेसी'को प्रारुप छ जुन अरुसँग नभएको समेत बताए।
सरकारले वितरण गरेको पदकलाई रत्नपार्कमा वितरण गरे जस्तो भन्दै उनले व्यङ्ग्य पनि गर्न भ्याए।
'अस्तिको दिन वितरण गरेको जस्तो पदकहरु हामीले वितरण गरेको भए। अहिले त निर्णय खारेज गर्ने न्यायाधीशलाई वितरण गरिदिया छ। बहस गर्ने वकिललाई पनि बाड्या छ। कसले बहस गर्ने? चारै तिरबाट ढोका बन्द गर्या छ। विरोधी नै छैनन्,' ओलीले भने, 'हामीले यसरी त कहिल्यै पनि बाड्या थिएनौँ। रत्नपार्कमा गएर वितरण गर्या जस्तो। म भएको बेला वितरण गर्या भए के हुन्थ्यो? बुद्धिजिवीहरुले के भन्थे? अहिले सबै चुपचाप छन्।'
उनले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको आरोप पनि लगाए। 'पत्रकारलाई पनि पदक, वकिललाई पनि पदक। जसलाई पनि पदक। बोल्ने कोही नहुने जस्तो,' ओलीले भने।
ओलीले अहिले ग्रहण लागेको टिप्पणी गरे।
'ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् नि? त्यता हेर्न हुन्न। अहिले ग्रहण लाग्या छ। त्यता नहेर्नुस्। अशुभ हुन्छ,' उनले भने, 'रणनीतिक सडकसहित १४ सय सडक रोक्दिएको छ। क्या बहादुर! अघिल्लो सरकारले सडक बनाउँछु भन्यो। यो सरकार आउनासाथ झ्याप्प सडक ब्रेक हान्यो। रोक्यो। ल केपी ओलीले बनाउने? ल बना त?'
