PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमाले दक्षिणपन्थी भासमा भासिएकोले विद्रोह, अब युवालाई प्रोत्साहन र पाकाको सम्मान : माधव नेपाल



पहिलोपोस्ट

एमाले दक्षिणपन्थी भासमा भासिएकोले विद्रोह, अब युवालाई प्रोत्साहन र पाकाको सम्मान : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताए।

'नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनायौँ। बिद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछ' नेपालले भने।

केशरजंग रायमाझिले कम्युनिस्ट आन्दोलनको बिसर्जन गरेका भन्दै उनले नेकपा एमाले अब पार्टी नभइ गुटमा क्रियाशिल भएको आरोप लगाए।

'पार्टी मृत्यु प्राय भयो। मदन भण्डारी फाउण्डेसनका नाममा गुट बन्यो। नेकपामा पनि त्यो रोग सर्‍यो। नेकपा कब्जा गर्न खोजियो। सत्तामा पुगेपछि चरम दुरुपयोग भयो। विस्तारै जनतामा सरकार आलोचनाको बिषय बन्दै गयो। राष्टियता लोकतन्त्र र समाजवाद भाँडिन थालेपछि बजेट र नीति र कार्यक्रम अघि बढेपछि समस्या भयो। पार्टीको समस्या समाधानका लागि कार्यदलको प्रतिवेदन कार्यान्वयन गरिएन।' माधवले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पछि अर्को गलत नजिर बसालेको समेत उनले बताए। ओलीले वार्ताको नाममा नक्कली नाटक मञ्चन गरेपछि नै आफूहरु ओलीलाई हटाउन राष्ट्रपति र अदालतमा पुगेको नेपालको तर्क थियो।  

'षड्यन्त्र अनेक भएका थिए। हामीले चक्नाचुर बनायौँ। त्यसैले अहिले मुलुकमा गठबन्धनको सरकार छ' उनले भने।

पार्टी विभाजनपछि आफूहरु सुदूरपश्चिम र प्रदेश २ मा ठुलो दलको उभिएको नेपालले बताए। उनले कर्णालीबाट विद्रोहको ज्वाला दन्काएको भन्दै वाग्मतीमा पनि संसदीय दलको नेता चुनुरे सरकार बनाउन आफ्नो दल तयार भएको उनले बताए।

नेपालले आफ्नो दल यथास्थितिवादी पार्टी नभएको दाबी गरे। उनले नेकपा एकीकृत समाजवादीले राष्ट्र पुँजीलाई जोड दिन चाहेको र दलाल पुँजीवादको विरोध गर्दै विज्ञान प्रविधिमा जोड दिने बताए।

'हामी समावेशिताको मान्यतामा अघि बढनेछौँ। काम गर्नेलाई प्रोत्साहन गर्ने छौँ। युवालाई प्रोत्साहन र पाकाको सम्मान गर्नेछौं' नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell