PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

कारागारमा हुँदा सिकेको त्यो सीप जसको प्रयोगले फेरि कारागार नै पुर्‍याउने भयो सेसेलाई



सविन ढकाल

कारागारमा हुँदा सिकेको त्यो सीप जसको प्रयोगले फेरि कारागार नै पुर्‍याउने भयो सेसेलाई

काठमाडौं : २०५४ कात्तिक ३ गते बौद्ध महाँकालबाट ८ सय ५० ग्राम लागू औषध हिरोइनसहित समातिए सेसे। पक्राउ पर्दा उनको उमेर २९ वर्षको थियो। सेसे उनको उपनाममात्र हो। कागजी नाम चाहिँ उर्पा तामाङ। घर नुवाकोटको विदुर नगरपालिका।

जिल्ला अदालत काठमाडौंले लागू औषध मुद्दामा उनलाई १५ वर्ष कैदको सजाय सुनायो। अनि ५ लाख रुपैयाँ जरिवाना। त्यसपछि सेसेको यात्रा सुनधारास्थित केन्द्रीय कारागारतिर सोझियो। १५ वर्ष बित्यो कैद सजाय त सकियो तर जरिवानाको ५ लाख रुपैयाँ सेसेले बुझाउन सकेनन्। त्यसपछि बाँकी चार वर्ष फेरि कारागारमा नै बित्यो उनको।

२०७३ सालमा उनी कैद भुक्तान गरेर निस्किए। कालो कपाल हुँदा कारागार छिरेका सेसेका कपाल बाहिर निस्किँदासम्म फुलिसकेका थिए। अनि युवा अवस्थाको शरीर कमजोर भइसकेको थियो भने अनुहारको चमक पनि उडिसकेको। रिहा भएपछिको पाँच वर्ष उनी कहाँ गए पत्तो भएन। तर, फेरि उनी एकाएक प्रहरीको फन्दामा परेका छन्।

५२ वर्षीय सेसेलाई फेरि लागू औषध नियन्त्रण ब्युरोको टोलीले सामाखुसीमा रहेको कोठाबाटै पक्राउ गरेको हो। उनको कोठाबाट प्रहरीले ३ केजी ५ सय ७९ ग्राम चरेससमेत बरामद गरेको छ। २४ वर्षअघि सेसे हिरोइनसहित समातिएका थिए। यस पटक भने चरेस। अपराधको प्रकृति उही लागू औषध।

१९ वर्ष सुधारगृहमा बस्दा पनि सेसे परिवर्तन भएनछन्। उनको अपराधको शैली भने फेरिएछ। जुन अपराधमा उनलाई प्रहरीले अभियुक्त बनाएर सार्वजनिक गरेको छ त्यो अपराध प्रमाणित भए अब अर्को तीन वर्ष कारागारमै बिताउनुपर्ने छ उनले।

हस्तकलामा पोख्त, त्यसैको आडमा अवैध कारोबार

भदौ २१ गते कतार एयरलाइन्सबाट दोहा जान लागेका म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगरलाई विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो। उनीको लगेजबाट ४ सय ३५ ग्राम चरेस बरामद भयो। प्रहरीले चरेस कसरी आयो? कसले दियो भन्दै अनुसन्धान थाल्यो? किनकि उनीहरूले आफूहरूलाई लगेजमा चरेस भएको थाहा नपाएको प्रहरीमा बयान दिएका थिए।

त्यसपछि प्रहरीको अनुसन्धानको जालोमा म्याग्दीका ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिल घले, २८ वर्षीय सुनबहादुर गुरुङ, धादिङकै २८ वर्षीय याङ्की भन्ने जीतबहादुर र ३६ वर्षीय माइला भन्ने कृष्णबहादुर तामाङ परेका थिए।

माइला र याङ्कीले विदेश जाने मान्छे खोजेर उनीहरूलाई साथीलाई सामान भन्दै पठाउने गरेको खुल्यो। जसमा उनीहरूले विदेश जानेहरूलाई केही रकम, टिकट खर्च वा सपिङ गर्ने खर्च समेत दिने गरेका थिए। त्यसपछि उनीहरू कनेक्सनले प्रहरीलाई सेसेको कोठासम्म पुर्‍याएको थियो।

जब प्रहरी सेसेको कोठामा पुग्यो त्यहाँ हस्तकला लगायतका सामान भेटियो। जुन सामानभित्र चरेस प्याक गरिएको थियो। त्यसैको लागि सेसेले हस्तकलाको कारखाना नै खोलेका थिए। जहाँ बन्ने हस्तकलाका सामान र नोटबुकमा चरेस हालिन्थ्यो।

'उनीहरूले ठमेलबाट विभिन्न सामाग्री किनेर ल्याउने, त्यसपछि कारखानामा अन्य सामाग्री बनाएर त्यहीभित्र चरेस हाल्ने गरेका थिए,' लागू औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

सेसेले १९ वर्ष केन्द्रीय कारागारमा रहँदा हस्तकला बनाउन सिकेका थिए। उनले त्यहाँ ६ महिनाको तालिम लिएका थिए। त्यस्तै, प्रहरीले यही घटनामा नुवाकोटबाट भदौ ३० गते वीरबहादुर तामाङलाई समात्यो। उनी पनि लागू औषध कारोबारमा संलग्न रहेको खुल्यो। सेसेसँग मिलेर विदेशमा लागू औषध चरेस पठाउन उनी पनि सक्रिय रहेको प्रहरीको दावी छ। पक्राउ परेका वीरबहादुरको पनि हस्तकलाको कारखाना छ।

उनीहरूले भारतीय नागरिकहरूसँग मिलेर भारत हुँदै हड्कड, थाइल्यान्ड, टर्की लगायतका देशमा हस्तकलाका सामानभित्र चरेस राखेर पठाउने गरेको खुलेको हो। उनीहरूले नेपालबाट स्थलमार्ग हुँदै कोलकाता पुर्‍याएर विभिन्न देशमा चरेस पठाएको देखिएको प्रहरीले जनाएको छ।

'कोरोनाले गर्दा लकडाउन भएपछि उनीहरूको स्थल मार्गबाट चरेस पठाउने काम बन्द भएको देखिन्छ। त्यसैले स्टकमा रहेको चरेस उनीहरूले हवाई मार्गबाट पठाउन खोजेको देखियो,' एसपी श्रेष्ठले भने। उनीहरूले देशका विभिन्न ठाउँबाट किलोको १५ हजार रुपैयाँमा चरेस किन्ने गरेका थिए। त्यस्तै, सेसेले इजरायल जानेहरूका लागि हस्तकलाको तालिम गरेको भन्दै नक्कली प्रमाणपत्रसमेत बनाउने गरेको खुलेको छ।

सेसेले जेलबाट छुटेपछि विभिन्न मुलुकमा लागू औषधको अवस्था बुझ्न त्यहाँको भ्रमणसमेत गरेको देखिएको छ। थाइल्यान्ड, चीन, भारत लगायतका देशमा उनी सहजै पुगे थाइल्यान्ड ट्रान्जिट बनाएर पनि हङ्कङ जान खोजेका थिए। त्यहाँ भिसा नमिल्दा उनी फर्किएको प्रहरीले जनाएको छ।

'ऊ आफू जाँदा लागू औषध लिएर गएको देखिँदैन। तर धेरै ठाउँमा ट्राभल भने गरेको छ,' एसपी श्रेष्ठले भने।

अपराधको यो शैलीमा उनीहरुको अर्को उपाय पनि सँगै अपनाएको भेटिएको छ। १० केजीभन्दा कम चरेस राखेर कारोबार गरेको देखिएको छ। यो मात्रामा कारोबार गर्दा केही गरी पक्राउ परेमा सजाय कम हुने गर्छ।

सेस अहिले ५२ वर्षका भए। तर, जीवनको झन्डै आधा कारागारमा नै बितिसक्यो उनको। अबको तीन वर्ष पनि कारागारमा नै बित्ने सम्भावना अधिक छ।

'सायद यसलाई जेलको सरकारी भात नै मीठो लागेको होला। त्यसैले फेरि जेलमै जान खोज्यो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले ठट्यौली पारामा सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell