दृश्य १
किलागलको बिज्यापू ननि। इन्द्रजात्रा सुरु हुनुभन्दा एक हप्ता अघिदेखि हरेक रात चोकमा मानिसको भिड लाग्नेगर्छ। बाहिर चोकमा सुकुल ओछ्याएर वृद्धहरु विभिन्न राग निकाल्न बाजा बजाउने तयारी गरिरहेका हुन्छन्। बालबालिका नृत्य हेर्न सुकुलको अघिल्लो भागमा गएर बस्छन्। इन्द्रजात्रा सुरु हुनु दुई दिन अघिसम्म यस्तो क्रम निरन्तर चल्छ। तयारी – दी प्याखं (देवी नाच)को।
निर्माणाधीन आगम घरको तल्लो तल्लाको कोठामा देवगणहरु तयार हुँदैछन्। भैरव, कुमारी, चण्डी, दैत्य, कवं, बेता: र ख्या: बन्ने देवगणहरु आ-आफ्नो पालो कुरिरहेका हुन्छन्। त्यहीबेला हात खुट्टामा चाँदीको बाला, खुट्टामा घुँगरा लगाएका २८ वर्षीय सुमन महर्जन सामान्य पोसाकमा देखिन्छन्। बाहिर पर्ताल तालमा खिं बाजा, ता लगायतका बाजा बज्न सुरुहुन्छ। सँगै सुनिन्छ सोरथ राग। अनि 'दैत्य' बनेर नृत्य गर्न निस्कन्छन् सुमन।
दृश्य २
हनुमानढोका य:सिं ठड्याउनुभन्दा दुई दिनअघि बिहान करिब साढे ४ बजे। बिज्यापू ननिबाट सुमनसहित अन्य देवगण निस्कन्छन् नजिकै रहेको किलागल डबलीतर्फ। दी प्याखं (देवी नाच) हेर्न डबली वरिपरि बालबालिकादेखि वृद्धवद्धा उपस्थित छन्। किलागलमा बिहान नहुँदै मालश्री राग बज्यो। लगत्तै डबलीमा देवगणहरु उपस्थित भए। रागसँगै भैरव, कुमारी, चण्डी, बेता: (बेताल), क्वं(कङ्गाल) र ख्या: (ख्याक)ले डबलीको एक फन्को लगाए। बेता:, क्वं र ख्याले डबली छोडेर गएपछि खरजति तालमा भैरव, कुमारी र चण्डीले नृत्य गर्न थाले। गुठियारहरुले रागअनुसार खिं, पोङ्गा, ता:, बबू बाजा बजाए।
एघारौं चरणको नृत्यका लागि सुमनले डबलीभन्दा पछाडि रहेको स्थानमा तयार हुँदै थिए - पहिलाभन्दा फरक भेषमा। हात र खुट्टाका बाला र घुँगरासहित यसपटक भने शिरमा मुकुट, विभिन्न रङका कपडा जोडेर बनाइएको जामा र रातो पटुकीमा तयार थिए सुमन।
डबलीमा मानिसको भिड बढ्दै थियो। धेरैको नजर थियो – दैत्य नृत्यमा। चरणवद्ध रुपमा हुने नृत्यमा दैत्य र देवदेवीहरुको युद्ध प्रमुख भाग हो।
दैत्य नाचपछि दैत्य र भैरवको युद्ध चल्छ। 'भैरव जुद्ध नाच'मा जसमा भैरव पराजित हुन्छन्। त्यसपछि कुमारी र दैत्यबिच युद्ध हुन्छ। कुमारीले दैत्यको संहार गर्न लाग्दा अन्त्यमा दैत्य भाग्ने प्रयास गर्छ। त्यसपछि क्रोधित कुमारीलाई कवं र ख्याकले शान्त बनाउने प्रयास गर्छ। अन्त्यमा, दैत्य पराजित हुन्छ र भाग्छ।
दी प्याखंले असत्यमाथि सत्यको जित हुन्छ भन्ने सन्देश दिन्छ। सात जना देवदेवीको यो नृत्यमा सातवटा राग, सातवटा बाजा र सातवटा ताल प्रयोग गरेर १६ चरणमा नचाइने यो नाचमा दैत्य र देवताबिच घमासान युद्ध हुन्छ। यही युद्धमा ९ वर्षदेखि दैत्यको भूमिका निभाउँदै आएका छन् सुमन महर्जनले।
+++
किलागलमा बाजा र रागसँग घुलमिल हुन थाल्दा सुमन सानै थिए। बाजे बुवासँगै उनी पनि चोकमा पुग्थे र नृत्य हेर्थे। जात्राको बेला पनि नृत्य गर्ने देवगणसँगै घुम्थे। बाल्यकादेखि नै उनमा देवगण बनेर नृत्य गर्ने हुटहुटी थियो।
तर, सजिलै देवगण बन्न कहाँ पाइन्थ्यो र!
देवगण बन्न धेरै जनाको एकसाथ प्रशिक्षण हुन्छ। एउटा देवगणका लागि पनि धेरै उम्मेदवार हुने। त्यसमा आफूलाई अब्बल ठह्याए मात्रै गुरुहरुले देवगण बनाउन छनौट गर्ने। त्यसैले बाल्यकालमा सुमनले कवं (कंकाल) र बेता: (बेताल) का लागि प्रशिक्षण लिए। तर, छनौट चाहिँ भएनन्।
छनौट नभए पनि देवगण बन्ने सपना त पूरा गर्नु नै थियो। किशोरावस्थामा कुमारी बन्ने प्रयास पनि गरे। त्यसैले नृत्य सिके। तर आफ्नो इच्छा पूरा गर्न असफल रहे।
'कुनै पनि नाच एक्लैलाई सिकाइँदैन। मैले कुमारी पनि सिकेँ। अहिले दाइ हुनुहुन्छ। त्यो मेरो बस् मा भएन। त्यसपछि दैत्य सिकेँ। कवं सिक्दा नै दैत्यको कति नृत्य आइसकेको थियो। त्यो सजिलै भयो। मैले त्यसमा राम्रो गर्न सके र छानिएँ,' पटपटकको प्रयासपछि जित हासिल गर्दाको सन्दर्भ सुनाए उनले।
बाल्यकाल र युवा उमेरमा उनी फरकफरक 'ड्युटी' मा दी प्याखंमा संलग्न छन्। पहिला नृत्य हेर्ने र बाजा र रागमा रमाउने उनी त्यही बाजा र रागमा नाचिरहेका छन्। सँगै एनिमेसन र भीएफएक्स क्षेत्रमा आफ्नो कला पस्कदैछन्।
प्लस टु सकिएपछि 'फ्रि' बसेका उनले इडिटिङ सिके। एनिमेसनको चर्चा धेरै थियो त्यस बेला। उनका साथी र दाइहरुले एनिमेसन कम्पनी खोलेका थिए। त्यहीँ एनिमेसन सिके उनले। एनिमेसन गर्दैगर्दा आइपर्ने 'डेडलाइन' को चुनौती र संस्कृतिको निरन्तरताका लागि आफ्नो दायित्वलाई भने उनले बुझे र बुझाए।
पेशाले एनिमेसन र इडिटिङ क्षेत्रमा आबद्ध उनी नृत्यको बेला हातमा खड्ग, धनुष र ढाल बोक्छन्। अरु बेला एनिमेसनबाट कला प्रस्तुत गर्ने उनी इन्द्रजात्राको बेला नृत्यकला देखाउँछन्। त्यसैले उनी आफ्नो पेशा र दायित्वले नै कला पस्केको बताउँछन्।
'एनिमेसन र देवी नाच छुट्टाछुट्टै विधा भयो। तर, एनिमेशन पनि त क्यारेक्टर तयारी हो। दुवै कला नै हो। त्यसमा हामी एनिमेसनबाट आफ्नो कला पेश गर्छौं। यसमा नृत्यबाट,' दोहोरो शिल्पीमाथि उनले आफ्नो अनुभूति साटे, 'हामीले पुलुकिसीको एनिमेसन गर्ने काम गरेका छौं। संस्कृतिक विषयवस्तुमाथि एनिमेसन गर्ने बारेमा ब्रेन स्ट्रोमिङ गरिरहेका छौं।'
आठ दिन लामो इन्द्रजात्रामा सबैभन्दा बढी प्रशिक्षण हुने विधा हो नृत्य - दी प्याखं। एक महिना गुरुको घरमा प्रशिक्षण, त्यसपछि बिज्यापू ननिमा नृत्य प्रदर्शन। त्यसपछि इन्द्रजात्रा भर विभिन्न डबलीमा नृत्य। यसका लागि समय कसरी जुटाउँछन् त उनी?
'कार्यालयमा सबैले बुझेका छन्। सपोर्टिभ छन्। इन्द्रजात्रा आयो कि यसको काम हुन्छ भने सहजिकरण गरिदिन्छन्। त्यसैले त अहिलेसम्म यसको लागि समय दिन सकेको छु,' फरक क्षेत्रको व्यवस्थापनबारे उनले सुनाए।
लामो समय जात्रा चल्दा अहिले जागिर र व्यवसायमा संलग्नहरुको एउटै गुनासो सुनिन्छ। त्यो हो : समयको व्यवस्थापन गर्न नसक्नु।
सुमन भने व्यक्तिको इच्छा शक्ति र सोच बलियो भने समय व्यवस्थापना गर्न कठिन नहुने बताउँछन्। युवापुस्ताले काम गर्दै संस्कृति पनि बचाउनसक्ने उनको मत छ। आवश्यकता छ त कार्यालयमा पनि सल्लाह गरेर बुझाउनसक्ने खुबीको। र, संस्कृति बुझिदिने संस्थाका सहकर्मीको।
यतिखेर काठमाडौं इन्द्रजात्रामा रमिरहेको छ। सुमन पनि दीप्याखंका अन्य देवगणसहित विभिन्न डबलीमा गएर नृत्य पस्किरहेका छन्। यो क्रम आउने शुक्रवारसम्म चल्नेछ।
'यो मेरो संस्कृति हो। मैले संरक्षण गर्नुपर्ने भन्ने सोच भयो भने सकिन्छ। अफिसमा बुझायो भने बुझ्छन् जस्तो मलाई लाग्छ। अफिसमा केही भन्लान् भनेर नभनी बसे त गाह्रै हुन्छ,' उनले भने।