अस्ट्रेलियाको मेलवर्नका भवनहरुमा क्षति पुग्नेगरी ५.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। स्थानीय समयअनुसार बिहान ९:१५ बजे भूकम्पको महसुस भएको हो।
प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पपछि प्रतिक्रिया दिँदै भनेका छन्, 'हामीले अहिलेसम्म कोही पनि गम्भीर घाइते भएको खबर पाएका छैनौं जुन सुखद् खबर हो।'
भूकम्पको झड्का दक्षिणी अस्ट्रेलिया र साउथ वेल्ससम्म महसुस भएको थियो। सुरुमा ५.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको थियो भने केही समयमा लगातार ४ र ३.१ म्याग्नेच्युडका परकम्प भएको थियो।
बीबीसीले आजको भूकम्पलाई पछिल्लो अवधिको अस्ट्रेलियाकै ठूलो भनेको छ। यद्यपि, यस भूकम्पले ठूलो क्षति भने गराएको छैन।
अमेरिकामा रहेका प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियाका लागि भूकम्प असामान्य रहेको बताएका छन् जसलाई 'अत्यन्तै डिस्टर्भिङ इभेन्ट' भनेका छन्।
भिक्टोरिया राज्यको आपतकालीन सेवा कार्यालयले त्यहाँका मानिसहरुलाई परकम्पको सम्भावना रहेकाले सावधान रहन भनेको ।
'तपाईँहरु भिक्टोरियामा हुनुहुन्छ भने तपाईँ जोखिममा हुनुहुन्छ। परकम्प हुनसक्ने ठान्नुस्, जोखिमपूर्ण भवनबाट टाढै रहनुहोस्। विशेष परिस्थितिबाहेकको समयमा ड्राइभिङ नगर्नुस्,' कार्यालयले भनेको छ।
