बुटवल : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्ने युवालाई प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप गरेर थुनामा राखेको छ। नगरप्रमुख सुवेदीले आक्रोशमा मुक्का प्रहार गरेका पंगेनीलाई मुद्दा नचलाउन आग्रह गरे पनि प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको हो।
प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेशलाई सार्वजनिक मुद्धा अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। नगर प्रमुख सुवेदीले कुनै पनि उजुरी नदिएको र मुद्दा दर्ता नगरे पनि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै अनुसन्धान अगाडि बढाइएको डीएसपी कुँवरले जानकारी दिए।
सोमवार विहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पङ्गेनीले एक्कासी आक्रमण गरेका थिए।
आक्रमणको चौतर्फी आलोचना र दबाबपछि प्रहरीले सोही दिन साँझ उनलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि मंगलवार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिए। उनले मुक्का प्रहार गरेको भिडियो सोसल मिडियामा भाइरल भएको थियो।
