काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा जुटेका हुन्।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले गठबन्धनका नेता छलफलमा जुटेको जानकारी दिए। कांग्रेसको सिंहदरबारमा बसेको पदाधिकारी बैठक सकिए लगतै देउवा बालुवाटारमा गठबन्धनको बैठकमा सहभागी भएका हुन्।
साढे दुई महिना भइसकेको भए पनि गठबन्धनले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइसकेको छैन्। मंगलवार पनि गठबन्धनका नेताहरु बिच सरकार बिस्तारका बारेमा छलफल भएको थियो।
उक्त छलफल पछि नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्। देउवा सरकारमा हाल १६ मन्त्रालय खाली छ। सरकार गठनको साढे २ महिनासम्म पनि मन्त्री नियुक्त गर्न गठबन्धनका नेताहरु असफल हुँदा चर्को आलोचना हुँदै आएको छ। बुधवारको बैठकमा सरकारमा सहभागी हुने नेताहरुबारे छलफल हुने छ। बालुवाटारको छलफलअघि प्रचण्ड र नेपालले आ-आफ्नो पार्टीमा छलफल गरेका थिए। माओवादीको स्थायी कमिटी र नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बसेको थियो।
गठबन्धनभित्र नेकपा एसले राजनीतिक दल सम्बन्धि अध्यादेशको बचाउ गरिरहेको छ भने जसपाका अध्यक्ष यादवले अलोकतान्त्रिक अध्यादेश भन्दै फिर्ता हुनुपर्ने माग गरिरहेका छन्। नेताहरु बिच अध्यादेश, सरकार बिस्तार लगायतका बिषयमा एकमत हुन नसक्दा देउवा सरकार अनिर्णित बन्दै आएको छ।
