म्यानमारमा सेना र 'सैन्य कू' को विरुद्ध उत्रेको लडाकू समूहबिच झडप भएको छ।
थान्टलाङ क्षेत्रमा भएको झडपका कारण त्यहाँ बसोबास गर्दै आएका करिब ८ हजार मानिस पलायन हुन बाध्य भएको बीबीसी उल्लेख गरेको छ। थान्टलाङमा रहेका कयौं घरहरुमा आगो लगाइएको छ। जसकारण त्यहाँका मानिस शरण लिन भारत पुगेका छन्। थान्टलाङबाट भागेर करिब ५ हजार ५०० जना भारतको मिजोरम पुगेका छन्। सेनाको विरुद्ध जान नचाहने सरकारी अधिकारीहरु बाहेक पूरै थान्टलाङ शहर नै खाली भएको बताइएको छ।
गत फेब्रुअरीमा म्यानमार सेनाले 'कू' गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सेनाको विरोधमा दिनहुँजसो म्यानमारमा प्रदर्शन हुँदै आएको छ। 'कू'कै विरोधमा विद्रोही लडाकू समूह गठन भएको थियो।
सेनाले थान्टलाङ क्षेत्रमा रहेका घरहरुमा गोली चलाएका कारण कयौं व्यक्ति घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। घरबाट भाग्ने क्रममा सेनाको गोली लागेर केहीको मृत्यु समेत भएको छ।
'कू'पछि भएको प्रदर्शनका क्रममा १ हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। ६ हजार भन्दा बढी मानिस सेनाको नियन्त्रणमा छन्।