लिथुएनिया सरकारले आफ्ना नागरिकहरुलाई चिनियाँ कम्पनीले उत्पादन गरेको मोबाइल फोन प्रयोग नगर्न आग्रह गरेको छ। लिथुएनियाको रक्षा मन्त्रालयले सार्वजनिक रुपमा अपील गर्दै आफूसँग भएका चिनियाँ फोन फाल्न नागरिकहरुलाई आह्वान गरेको हो। मन्त्रालयले चिनियाँ कम्पनीको नयाँ फोन नकिन्न समेत भनेको छ।
चिनियाँ कम्पनीको फोनमा सेन्सर गर्ने उपकरणहरु जडान भएको र सजिलै साइबर आक्रमण हुन सक्ने भेटिएपछि सरकारले यस्तो अपील गरेको हो।
लिथुएनियाको नेशनल साइबर सेक्युरिटी सेन्टरले गरेको परीक्षणमा शिआओमी मोबाइलमा सेन्सर गर्ने उपकरण जडान भएको पाइएको हो। साथै हुवावेको मोबाइलमा सजिलै साइबर आक्रमण हुने देखिएको हो।
सेन्टरले गरेको अनुसन्धानका क्रममा शिआओमीको मीआइ टेनटी फाइभजी मोबाइलमा 'फ्रि तिब्बत', ' लङ लिभ ताइवान', 'डेमोक्रेसी मुभमेन्ट' लगायतका शब्दहरु पत्ता लगाउन सक्ने सेन्सर जडान गरिएको पाइएको छ। शिआओमी मोबाइल प्रयोगकर्ताको सूचना सिंगापुर पठाउने गरिएको समेत पाइएको छ।
यस्तै, हुवावेको फाइभजी मोबाइलमा भएका प्राविधिक कमजोरीहरुका कारण फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने खतरा रहेको सेन्टरले जनाएको छ। हुवावेले भने आफूले लिथुएनियाको कानुनको पुन: पालना गरेको दाबी गरेको छ। साइबर सुरक्षा र गोपनियतालाई आफूहरुलाई प्राथमिकतामा राखिएको हुवावेले जनाएको छ। शिआओमीले भने यस आरोपको बारेमा केही बताएको छैन।