काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारीको टुंगो लगाएको छ। बानेश्वरको बुद्धनरगमा बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीबारे टुंगो लगाएका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।
अध्यक्ष माधवकुमार नेपाल रहेको नेकपा एसमा वरिष्ठ नेतामा झलनाथ खनाल छन्। स्थायी कमिटी, पोलीटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको पनि आजै टुंगो लाग्ने नेताहरुले बताएका छन्। अहिले केहीबेरमा सकिने बैठकपछि पदाधिकारीको घोषणा हुने श्रेष्ठले बताए।
उनका अनुसार पार्टीको तीन महिने अभियान, सबै जिल्लामा पार्टी बिस्तारको खाका लगायतका विषयमा निर्णय हुन लागेको हो। मंगलवार सुरु भएको केन्द्रीय कमिटीको बैठक बुधवार सकिने तय भए पनि पदाधिकारीको टुंगो नलागेकाले आजसम्मका लागि लम्बाइएको थियो।
को नेताले के पाए जिम्मेवारी?
नेकपा एसमा ४ जना उपाध्यक्ष चयन भएका छन्। राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल उपाध्यक्ष चयन भएका हुन्। महासचिवमा डा. बेदुराम भुसाल चयन भएका छन् भने उपमहासचिव ३ जना रहेका छन्।
डा. विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला उप महासचिव छानिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।
यस्तै, सचिवमा ४ जना नेता छानिएका छन्। रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ सचिव चयन भएका हुन्।
