PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रसंघ महासभामा कमजोर मुलुकहरुको सम्पन्न मुलुकमाथि कडा आरोप : नैतिकतामा भयौ फेल



विधुर ढकाल

राष्ट्रसंघ महासभामा कमजोर मुलुकहरुको सम्पन्न मुलुकमाथि कडा आरोप : नैतिकतामा भयौ फेल

काठमाडौं : राष्ट्रसंघको महासभामा बोल्दै विकासशील देशका नेताहरुले धनी मुलुकहरुले कोभिड-१९ भ्याक्सिन भण्डारण गरेको आरोप लगाएका छन्। उनीहरुले राष्ट्रसंघको महासभामा बोल्दै धनी देशहरुले भ्याक्सिन भण्डारण गरेर राख्दा कोभिड-१९ को नयाँ भेरियन्टहरु आउने चेतावनी समेत दिए। 

महासभामा फिलिपिन्सले गरिब देशका लागि खोपको 'मानव निर्मित खडेरी' भएको बताएको छ। 

त्यस्तै, पेरुले खोप आपूर्तिमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता असफल भएको आरोप लगाएको छ। उता घानाले खोप राष्ट्रवादले बढावा पाएको बताएको छ। 

राष्ट्रसंघका प्रमुखले खोपको असमान वितरणलाई एक 'बेहुदापन' भएको बताएका छन्। राष्ट्रसंघको महासभामा बोल्दै महासचिव एन्टोनियो गुटेर्रेसले यस्तो बताएका हुन्। विश्वका केही भागले खोपको म्याद गुज्रिएको तथा फोहरमा फालिएको अनुभव गरिरहेको बताउँदै उनले भने - 'यो हाम्रो समयको दन्त्यकथा हो कि अधिकांश धनी देशहरु प्रतिरक्षित भइसकेका छन् भने ९० प्रतिशत अफ्रिकनले अझै पहिलो डोज प्राप्त गर्न सकेको छैनन्।'  

महासचिवले यसलाई देशहरुका लागि नैतिक अभियोगको रुपमा चित्रण गरे।

'हामी विज्ञानमा त उत्तीर्ण भयौँ तर हामीले नैतिकतामा 'एफ (अनुत्तीर्ण)' पायौँ,' महासचिवले भनेका थिए। 

मंगलवार महासभामा बोल्दै फिलिपिन्सका राष्ट्रपति रोड्रोगो दुतेर्तेले भनेका थिए- 'धनी देशहरुले जीवन जोगाउने खोप भण्डारण गरेर बसेका छन्। त्यहीँ गरिब देशहरु कतै चुहिएला कि भनेर कुरिरहेका छन्।'

धनी देशहरु अहिले बुस्टर सटको बारेमा कुरा गरिरहेको भन्दै गरिब देशहरुले अझै आधा डोज पनि नपाएको बताएका थिए। उनले यस्तो अनैतिक कार्यको जति भर्त्सना गरे पनि नपुग्ने बताउँदै उनले यसलाई तर्कसँग र नैतिक रुपमा प्रमाणित गर्न नसकिने बताएका थिए। 

विश्वमा हाल कम्तिमा एक डोज भ्याक्सिन प्राप्त गर्ने ३५ प्रतिशत जनसंख्या धनी देशका रहेको र जसमध्ये २८ प्रतिशत युरोप र उत्तर अमेरिकाबाट रहेको रोयर्टसको तथ्यांकमा उल्लेख छ।   

त्यस्तै, हाइटी, कंगो जस्ता गरिव देशहरुमा खोप पाउनेको संख्या १ प्रतिशत भन्दा कम रहेको रोयटर्सको भ्याक्सिन ट्र्याकले देखाएको छ। 
केन्याका राष्ट्रपति यहुरु केनयात्ताले खोपको समतामुलक वितरण आवश्यक रहेको भन्दै भनेका थिए- 'अहिले देखिएको खोप वितरणको विषमताले बहुपक्षीय प्रणालीलाई मर्मत गर्नुपर्ने देखाएको छ।' 

कोलम्बियाका राष्ट्रपति इभान डुकले कोभिड-१९का नयाँ भेरियन्ट रोक्नका लागि पनि खोपको समानतामुलक वितरण हुनैपर्ने बताएका छन्। उनले मंगलवारको सत्रमा भिडियो सन्देश मार्फत् सम्बोधन गर्दै भनेका थिए- 'यदि सबै देशहरुमा खोपको समान वितरणमा ढिलाइ भयो भने हामी, मानवता, हामी थप क्रुर रुपमा आक्रमण गरिरहेको नयाँ भेरियन्टसँग जुध्न वाध्य हुने छौँ। विश्वको प्रतिरक्षा शक्ति प्राप्तिका लागि एकता आवश्यक छ। त्यसैले अर्काको आवश्यकताको मुखैमा भण्डारण टिक्न सक्दैन।'

उनले केही देशहरुले आफ्नो जनसंख्यालाई छ/सात पटक पुग्ने राखेको र तेस्रो बुस्टर डोज दिन घोषणा गरेकोप्रति आलोचना गर्दै अन्य देशहरुले एक डोज पनि चलाउन नपाएको बताए। 

घानाका राष्ट्रपति नाना आकुफो अडोले खोप राष्ट्रवाद मौलाएको बताउँदै अझै ९०० मिलियन अफ्रिकन खोपको पर्खाइमा रहेको बताए। उनले अक्सफोर्ड-अस्ट्राजेनेकाको विकास भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड अफ्रिकाका अधिकांश देशमा स्वीकृत भए पनि भारतले आपूर्ति नगरेको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell