PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

दुई वर्षभन्दा मुनिका बालबालिकाको आहार जोखिम, कोभिड १९ ले थप्यो संकट



पहिलोपोस्ट

दुई वर्षभन्दा मुनिका बालबालिकाको आहार जोखिम, कोभिड १९ ले थप्यो संकट

न्यूयोर्क : युनिसेफले सबैभन्दा कम उमेरका बालबालिकाको पोषणको अवस्थामा सुधार नभएको भन्दै कोभिड १९ ले त्यसमा थप समस्या ल्याएको प्रतिवेदन सार्वजनिक गरेको छ। नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिका यस्तोखाले जोखिममा छन्।

यस हप्ता हुन गइरहेको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी - फेड टु फेल? बालबालिकाको प्रारम्भिक जीवनमा आहार सङ्कट- ले बढ्दो गरीबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ को महामारी जस्ता स्वास्थ्य आपतकालीनले सबैभन्दा साना उमेरकाहरूमा निरन्तर रहेको पोषण सङ्कटलाई पनि प्रशय दिइरहेको र पछिल्लो दस वर्षमा सुधारको सानो सङ्केत नदेखिएको चेतावनी दिएको छ।

"प्रतिवेदनको निष्कर्ष स्पष्ट छ: जब जोखिम सबैभन्दा बढी हुन्छ तब, लाखौँ बालबालिकालाई खुवाउन असमर्थ हुन्छौँ। जीवनको पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा अपरिवर्तनीय हानि पुर्‍याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको संभावना र भविष्यलाई प्रभावित गर्छ,' युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरले भनेका छन्, 'वर्षौंदेखि हामीलाई यो कुरा थाहा भएता पनि, बालबालिकाको लागि सही प्रकारको पौष्टिक र सुरक्षित खाना उपलब्ध गराउने तर्फ थोरै प्रगति भएको छ। वास्तवमा, कोभिड-१९ निरन्तर भएको अवस्थामा सिर्जना भएका अवरोधहरूले स्थितिलाई झन् बढीजटिल बनाउन सक्छ।'

९१ देशहरूको विश्लेषणपछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिका मध्ये आधालाई मात्र सिफारिश गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ। त्यसै गरी, एक तिहाई बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन्। उपलब्ध प्रवृत्ति तथ्याङ्क भएका ५० देशहरूको थप विश्लेषणले खाना खुवाउने यी गलत प्रवृत्तिहरूपछिल्लो दशकभरि नै जारी रहेको खुलासा गर्दछ।

कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको र धेरै परिवारलाई गरिवीतिर धकेलिरहेको अवस्थामा, महामारीले परिवारहरूलाई उनीहरूले बालबालिकालाई कसरी खाना खुवाउँछन् भन्ने कुरामा प्रभावित गरिरहेको तथ्य प्रतिवेदनले देखाएको छ।

इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्कले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको देखाएको छ।

नेपालमा, युनिसेफले बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारी सहित सामाजिक-आर्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्रयाकर सर्वेक्षण गर्दै आएको छ। नेपालमा यस महामारी भरि हरेक तीनमध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहे। बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ।

प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिव घरधुरीका बालबालिकाले शहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन्। उदाहरणको लागि, २०२० मा, शहरी क्षेत्रहरूमा सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो। दक्षिण एशियामा ४ मध्ये १ भन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ।

बङ्गलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दश देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अङ्कले बढाएका छन्।

सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउनसबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक रहेको युनिसेफले जनाएको छ।

संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन हुनुअघि, नेपालसहित १८ युनिसेफ कार्यालयहरूले वेष्टर्न सिडनी विश्वविद्यालयको युवा र क्षमतावान अनुसन्धान केन्द्रसँग मिलेर बालबालिका र युवाहरूसँग खाना, खाद्य वातावरण र खानाका अभ्यासको बारेमा गहिराइमा परामर्श गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell