PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

केपी ओलीलाई 'सामन्ती हिन्दु अतिवादी' भन्दै प्रचण्डले सुनाए माओवादी एकताको तयारी



पहिलोपोस्ट

केपी ओलीलाई 'सामन्ती हिन्दु अतिवादी' भन्दै प्रचण्डले सुनाए माओवादी एकताको तयारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई एकतावद्ध बनाउन छलफल चलिरहेको बताएका छन्। 

उनले माओवादी एजेण्डा र नेतृत्वलाई सिद्ध्याउने योजना सहित प्रतिक्रियावादीहरुले पार्टी फुटाइदिएको बताउँदै भने, 'हिजो संविधानसभा विघटन पछि हाम्रो पार्टीलाई विभाजन गर्ने कोसिस भयो। हुन त हाम्रा नेताको झगडा जस्तो देखिन्छ। तर, माओवादी पार्टी फुटाउन र मुल नेतृत्वलाई कमजोर पार्न निकै ठूलो लगानी भयो।'

काभ्रेको पाँचखालमा आयोजित कार्यक्रममा उनले बन्दुक लिएर मार्ने स्थिति नभए पनि संविधान र गणतन्त्रलाई मार्ने र शहीद, वेपत्ताहरुको बलिदानले ल्याएको ऐजेण्डाहरु  सिद्ध्याउने षड्यन्त्र भएको बताए। 

'साथीहरुलाई लाग्यो प्रचण्ड बिग्रियो, प्रचण्डबाट नेतृत्व हुन सक्दैन। ती साथीहरुलाई सोच्ने अधिकार छ। तर, हाम्रो पार्टीलाई कमजोर पार्नका लागि देशभित्र र बाहिरका शक्तिहरु कसरी लागे भन्ने कुरा मैले सबैभन्दा नजिकबाट देखेको छु। नजिकबाट झेलेको छु,' प्रचण्डले भने, 'अहिले साथीहरु त्यस्तो होइन रहेछ भन्नेमा पुग्नुभएको छ। हामी फेरि एकतावद्ध हुने गरी छलफलमा छौँ।'

उनले मोहन वैद्य 'किरण', नेत्र विक्रम चन्द 'विप्लव'सँग पनि छलफल चलिरहेको बताए। उनले बाबुराम भट्टराई र उपेन्द्र यादवसँगै मोहन विक्रमसिंहसँग पनि छलफल चलिरहेको बताए। 'तपाईँहरु यहाँ पनि उहाँहरुसँग छलफल चलाउनुस्। मिलेर अगाडि बढ्नुहोस्। केन्द्रमा हामी चलफल चलाइरहेका छौँ,' उनले भने। 

उनले प्रतिक्रियावादीहरु माओवादी ऐजेन्डा र नेतृत्वलाई घेरा हालेर सखाप पार्ने रणनीतिमा रहेको भन्दै प्रतिनिधिसभा विघटन गर्दा टार्गेट माओवादी नै रहेको बताए।

'हाम्रा ऐजेन्डाहरुलाई सखाप पार्ने रणनीति अनुसार सबै केपी ओली नामको निरंकुश प्रवृत्तिमा वरिपरि गोलबन्ध भएर माओवादीको ऐजेन्डा गणतन्त्र र टार्गेट थियो माओवादी नेतृत्वलाई सखाप पार्ने,' उनले भने। 

उनले माओवादी केन्द्र कमजोर भयो भने संघीय लोकतान्त्रिक गणतन्त्रमात्र होइन माओवादी बलियो भएन भने देश नै धरापमा पर्ने खतरा रहेको दाबी गरे। 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने माओवादी बाहेक कोही छैन,' उनको दाबी थियो। 

प्रचण्डले केपी ओली राष्ट्रिय फासिस्ट प्रतिक्रान्तिकारीको नेता भएको आरोप लगाए। पार्टी फुटेको नभई केपी ओलीमाथि जित हात पारेको उनको दाबी थियो। केपी ओलीको दिमागमा गोबर भरिएको भन्दै व्यङ्ग्य समेत गरे उनले। 

'केपी जति बुद्धि नभएको कोही पनि देखेको छैन। यत्रो अवसर थियो देश बनाउने। सहमति पालना गर्दै अगाडि बढेको भए नेपालको इतिहासमा महान बन्ने अवसर थियो,' उनले अगाडि भने, 'तर दिमागमा गोबर भए पछि कसको के लाग्छ?' उनले ओलीलाई 'सामन्ती हिन्दु अतिवादी' को संज्ञा दिए। 

'सुनको जलारी चढाएको त थाहा पाउनु भयो। अब मेरो क्षेत्रमा राम, सीता, हनुमान राख्द्या छ। अब म राम सीता हुनमानसँग लड्छु त? के कम्युनिस्टले यस्तो गर्छ छ?,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell