काठमाडौं : पछिल्लो २४ घण्टामा एक लाख २८ हजार बढीलाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। बिहीवार दिउँसो २ बजे सम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ३८५ जनालाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ।
३० हजार ३०९ जनालाई पहिलो डोज दिइएको छ। त्यस्तै एक लाख ५ हजार ४२४ जनालाई दोस्रो डोज दिइएको छ। पछिल्लो २४ घण्टामा सिंगल डोज जोनसन एण्ड जोनसनको खोप दुई हजार ६५२ जनाले लगाएका छन्।
पछिल्लो २४ घण्टामा अस्ट्राजेनेकाको पहिलो डोज १५ हजार ६० र दोस्रो डोज ७ हजार ११८ जनाले लगाएका छन् भने भेरोसेलको पहिलो डोज १५ हजार २४९ जना र दोस्रो डोज ९८ हजार ३०६ जनाले लगाएका छन्।
हालसम्म नेपालमा २६ लाख ५१ हजार ८८३ जनाले अस्ट्राजेनेकाको पहिलो डोज र १४ लाख ९५ हजार ५५३ जनाले दोस्रो डोज लगाइसेका छन्। त्यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ३६ लाख ४१ हजार २०६ पुगेको छ भने २९ लाख २१ हजार ९८९ जनाले दोस्रो डोज लगाइसकेका छन्।
१४ लाख ४३ हजार ३८७ जनाले जे एण्ड जे खोपको पूर्ण मात्र पाइसकेका छन्। योसँगै कोभिड-१९ विरुद्ध ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण खोप प्राप्त गरेका छन्।
