PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो।

स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ। जसकारण बजारमा आउँदा प्याडको मूल्य बढ्न गएको छ। यस्तै, कच्चा पदार्थ आयात गर्नेलाई ५ प्रतिशत कर लगाउने गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ३१ लाख भन्दा बढी प्याड नेपाल भित्रिएको थियो। जसमा तीन करोड ६ लाख २० हजार आयात कर जोडिएको छ।

प्याड नि:शुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ। प्याडलाई नि: शुल्क बनाउनुपर्ने माग भइरहेको बेला त्यसको मूल्य वृद्धि भएपछि 'रातो कर माफ गर' भन्दै आज प्रदर्शन गरेका हुन्।

स्यानिटरी प्याड बिलासिता बस्तु नभएको भन्दै त्यसमा कर लगाउन नहुने भन्दै पहिलादेखि नै लबिङ हुँदै आएको हो।

महिनावारीमा प्रयोग हुने सामाग्रीको बिक्री वितरण र व्यवस्थापन बारे हालसम्म कुनै कानुन बनेको छैन। अनुगमन नहुँदा प्याडको मूल्य बजारमा अत्याधिक बढेको सरोकारवालाहरुले बताएका छन्। फितलो अनुगमनका कारण बढेको मूल्यमा नै प्याड किन्न महिलाहरु बाध्य छन्।



ट्रेन्डिङ पोस्ट

Ncell