PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमालेको भण्डाफोर र जबज मार्गदर्शक सिद्धान्त नबनाउने एकीकृत समाजवादीको नीति, नयाँ संरचनामा ‘बुढालाई ठूलो र युवालाई सानो पद’



प्रकाश भण्डारी

 एमालेको भण्डाफोर र जबज मार्गदर्शक सिद्धान्त नबनाउने एकीकृत समाजवादीको नीति, नयाँ संरचनामा ‘बुढालाई ठूलो र युवालाई सानो पद’

काठमाडौं : नेकपा (एमाले)बाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ। ७१ जनाको पोलिटब्युरो, ३५ जनाको स्थायी कमिटी रहेको एकीकृत समाजवादीको अध्यक्षमा औपचारिक रुपमा माधव कुमार नेपाल चयन भएका छन्। वरिष्ठ नेता झलनाथ खनाल रहेको पार्टीमा मुकुन्द न्यौपाने नेता छन्।

बानेश्वरको बुद्धनगरमा मंगलवारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकले पार्टीको संरचना, पार्टीको सिद्धान्त र तत्कालीन कार्ययोजना तयार पारेको प्रचार विभागका प्रमुख तथा पार्टी सचिव जगन्नाथ खतिवडाले जानकारी दिए। निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटीको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पनि आफ्नो पार्टीको धारण सार्वजनिक गरेको छ।

एमालेको भण्डाफोर गर्ने, जनताका बहुदलीय जनवाद (जबज)लाई ‘जडसुत्र’ नमान्ने निर्णय गरेको एकीकृत समाजवादीले आधारभुत रुपमा जबजलाई स्वीकारेको दाबी गरेको छ।

पदाधिकारी चयनमा विवाद

पार्टीको पदाधिकारी चयनमा भने केही नेताहरु असन्तुष्ट बनेका छन्। यद्यपि, पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको खतिडाले दाबी गरे। असन्तुष्टिहरुलाई भने सम्बोधन गर्दै जाने उनको भनाइ छ।

‘केन्द्रीय कमिटीको आँखामा असन्तुष्टि देखिएको छैन। सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन भएका छन्। विवाद भएमा त्यसलाई सम्बोधन गर्दै जाने छौँ,’ उनले भने।

महासचिवको दौडमा एमालेमै हुँदा चर्चामा रहेका नेताहरुले दाबी गरेका थिए। तर, महासचिव पद २०२७ देखि कम्युनिस्ट राजनीतिमा लागेका पुराना नेता बेदुराम भुसालले पाएका छन्।

महासचिवका लागि नेताहरु राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला लगायतले दाबी गरेका थिए। तर, कम्युनिस्ट आन्दोलनमा गरेको योगदानका आधारमा भुसाललाई महासचिवयमा चयन गरिएको जनाइएको छ।

यस्तै, पदाधिकारी चयनमा विवाद देखिएपछि नेता राजेन्द्र राईलाई पनि सचिवमा चयन गरिएको छ। एमाले विभाजन नहुँदै राईले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए। उनी अध्यक्ष नेपाल निकट नेता मानिन्छन्।

जसले दिए साथ उसैलाई पद

एकीकृत समाजवादीले एमालेमा भएको विद्रोहमा नेता नेपाललाई बलियो साथ दिने नेताहरुलाई पदाधिकारी चयन गरेर पुरस्कृत गरेको छ। एमालेमा विवादका बेला दोस्रो तहका १० नेताले अन्तत: एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रोजेका थिए। १० नेतासँग असन्तुष्टि राखेर नेपाललाई नै साथ दिएका नेताहरुले पदाधिकारीमा मौका पाएका छन्।

पार्टीको संरचनाअनुसार ७ जना उपाध्यक्ष छन्। राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केदार न्यौपने र कृष्ण लाल श्रेष्ठ उपाध्यक्ष चयन भएका हुन्।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ र राजकुमार राई छानिएका छन्। पार्टीले ७ वटै प्रदेशमा प्रदेश इन्चार्ज समेत तोकेको छ।

प्रदेश नम्बर एकको इन्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतले पाएका छन्। प्रदेश नम्बर दुईको इन्चार्ज धर्मराज साह तोकिँदा वाग्मतीमा केदार न्यौपानेले जिम्मेवारी पाएका छन्।

यस्तै, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वालाले जिम्मेवारी पाएका छन्। सुदूरपश्चिम इन्चार्जमा गरिमा साह तोकिएकी छिन्।

सम्पर्क प्रदेशमा विजय गुरुङ र विशेष प्रदेशमा विश्वनाथ प्याकुरेलले जिम्मेवारी पाएका छन्। यस्तै, उक्त पार्टीले जिल्ला अध्यक्षको पनि टुंगो लगाइसकेको छ।

महिला र युवालाई महत्व तर पदाधिकारीमा बुढा नेता

पार्टी पदाधिकारीमा केही युवा अनुहारलाई समावेश गरिएको भएपनि अधिकांश नेताहरु भने एमालेमा महत्वपूर्ण जिम्मेवारी पाइसकेका पुरानै नेताहरु छन्।

प्रचार विभाग प्रमुख खतिवडाले योगदानका आधारमा छनोट हुँदा पुराना नेताले प्राथमिकता पाएको बताए। तर, पार्टीको नीतिमा भने युवा र महिलालाई प्राथमिकता दिइएको उल्लेख छ।

केन्द्रीय कमिटी बाहेकमा २ उपाध्यक्षको व्यवस्था गरिएको छ। सबै तहमा महिलाका लागि एक तिहाइ र युवाका लागि ४० प्रतिशत हुनुपर्ने नीति उक्त पार्टीले लिएको छ। केन्द्रीय कमिटीको बैठकले तत्कालीन कार्ययोजना २०७८ पारित गर्दै ३ महिने कार्ययोजना तयार पारेको छ।

एमालेको भण्डाफोर, आफ्नो पार्टीको प्रचार

एकीकृत समाजवादीले तीन महिने अभियान अन्तर्गत एमालेको भण्डाफोर गर्ने नीति अघि सारेको छ। एमालेले दक्षिणपन्थी अवसरवाद र बिसर्जनवादलाई अघि सारेकाले भण्डाफोर गर्नुपर्ने नेताहरुले बताएका छन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र बिसर्जनवादलाई भण्डाफोर गर्ने निर्णय भएको छ,’ केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ।

आफ्नो पार्टीको भने प्रचारप्रसार गर्ने, वडा तहसम्म कमिटी गठन गर्ने, पुराना कमिटीको पुनर्गठन तथा सदस्यता वितरण, नवीकरण लगायतका क्रियाकलाप पनि गर्ने भनिएको छ।

बुद्धनगरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ। प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा १ जनाको प्रतिनिधि हुने गरी केन्द्रीय आयोग र विभागको प्रतिनिधि रहने गरी ७०१ सदस्यीय परिषद्को गठन हुने खतिवडाले जानकरी दिए।

अनुशासन, निर्वाचन र लेखा गरी तीनवटा आयोग रहने र त्यसमा बढीमा ३५ सदस्य हुने निर्णयमा उल्लेख छ। यस्तै, विषयगत विभागमा २५ सदस्य रहनेछन् भने केन्द्रीय सल्लाहाकार आयोगमा १५१ सदस्य र जेष्ठ कम्युनिस्ट मञ्चमा पनि १५१ सदस्य रहने छन्।

‘एमसीसी अघि बढाउन सकिँदैन’

एकीकृत समाजवादीले कोभिड-१९, बाढिपहिरो लगायतका विषयमा विभिन्न ६ वटा समसामयिक प्रस्ताव पारित गरेको छ। कोभिड-१९ को उपचार तथा रोकथाममा प्राथमिकता दिन सरकारलाई आह्वान गर्ने बैठकले निर्णय गरेको छ।

दशैँ तथा चाडपर्वका बेलामा बजारमा बस्तुभाउको मुल्य वृद्धि गर्न नदिन उपयुक्त कदम चाल्न सरकारलाई अनुरोध गरिने बताइएको छ।

यस्तै, अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी पनि तत्काल अघि बढाउन नसकिने पार्टीले प्रष्ट पारेको छ। खतिवडाले राष्ट्र हित अनुकुल नभएकाले परियोजना अघि बढाउन नसकिने बताए।

‘एमसीसी राष्ट्रिय हितको अनुकुल नभएको आजको अवस्थामा राष्ट्रिय सहमति गरी मात्रै अघि बढान सकिने छ,’ उनले भने।

राष्ट्रिय एकताका लागि वामपन्थी शक्ति एक भएर लाग्ने पार्टीले जनाएको छ।

टुंगिएन चुनाव चिह्न

पार्टीको चुनाव चिन्ह के हुने भन्नेमा नेताहरुबीच सहमति हुन सकेको छैन। सहमति हुन नसकेपछि स्थायी कमिटीलाई चुनाव चिह्न बारे निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिएको छ। तीन दिनसम्म चलेको बैठकमा चुनाव चिह्न बारे निर्णयमा पुग्न उक्त पार्टी नसकेको हो।

‘चुनाव चिह्नका बारेमा छलफल भयो। स्थायी कमिटीले निर्णय गर्छ,’ खतिवडाले भने।

यस्तै, पार्टीले तत्काल सरकारमा जाने निर्णय गरेको छ। त्यसका लागि प्रक्रिया नै शुरु भइसकेको उक्त पार्टीको दाबी छ।

‘सरकारमा सहभागी हुने विषयमा अध्यक्षले सम्बोधन गर्नुभएको छ। तत्काल सरकारमा जान्छौँ,’ खतिवडाले भने।

‘जबज चण्डी होइन’

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’का बारेमा एमालेभित्रै विवाद हुने गरेको छ। जबजका कट्टर समर्थकले जबजलाई मुल सिद्धान्त मान्नुपर्ने मत राखेको भए पनि केही नेताले भने जबज जडसूत्र नभएको मत राखेका थिए।

यता, एमाले फुटेर बनेको एकीकृत समाजवादीलाई पनि जबज मान्ने कि नमान्ने भन्नेमा सकस भएको छ। माधव नेतृत्वको पार्टीले जबजलाई अबलम्बन गरेको भए पनि त्यसलाई मार्गदर्शक सिद्धान्त भने नमान्ने निर्णय गरेको छ।

‘हामी जबजमा प्रष्ट छौँ। जबजको मार्क्सवादको सिर्जनात्मक अभ्यास हो। वेद चण्डी जस्तो होइन। हामी यसलाई विकसित गर्न चाहन्छौँ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।

एमाले भन्दा आफ्नो पार्टी नीति, कार्यक्रम र सिद्धान्तमा फरक हुने उनले बताए। भने, ‘हाम्रा नीति र कार्यक्रम, राजनीतिक दृष्टिकोणमा भिन्नता हुनेछन्। एमालेले कम्युनिस्टको आचरण नबोकेकोले हामीले विद्रोह गरेका हौँ। जबजका सक्कली प्रतिनिधि हामी हौँ। कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिककण पनि हो।’

उनले पार्टीको सिद्धान्तबारे अन्तिम निर्णय नभएको भए पनि जबजको विकसित रुप हुने बताए। आधुनिक समाजवादी, समृद्ध समाजवाद र वैज्ञानिक समाजवाद मध्यमा एउटा सिद्धान्त अबलम्बन गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell