PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

चाडपर्वलाई लक्षित गरी नयाँ बसपार्कमा सञ्चालनमा आयो ‘यात्रु सहायता कक्ष’



रासस

चाडपर्वलाई लक्षित गरी नयाँ बसपार्कमा सञ्चालनमा आयो ‘यात्रु सहायता कक्ष’
फाइल फोटो।

काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।

आजदेखि शुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले शुभारम्भ गरे। कार्यक्रममा इञ्जिनियर कुँवरले नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुनसक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले चाडबाडका लागि घर जाने टिकटसम्बन्धी कुनै समस्या परे त्यसको समाधान गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याउन लागेको बताए। ‘यात्रु सहायता कक्ष’ले दशैँ मान्न घर जान लागेका यात्रुलाई सहजता प्रदान गर्ने उनको भनाइ छ।

हाल काठमाडौंको नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। काठमाडौं महानगरपालिकासँग ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन्। नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ।

नयाँ बसपार्कबाट शुरु भएको ‘यात्रु सहायता कक्ष’ आगामी दिनमा गौशाला, बल्खु, कोटेश्वर, सातदोबाटो, कलङ्की, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाति, सुन्धारा, रत्नपार्क र फर्पिङमा सञ्चालन हुने महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell