PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गुरुज्यूको पल्टन : अंग्रेजसँग युद्ध जितेको त्यो टुकडी जो अहिले बजाउँदैछ धिमे र भुस्या



सहयोग रञ्जित

गुरुज्यूको पल्टन : अंग्रेजसँग युद्ध जितेको त्यो टुकडी जो अहिले बजाउँदैछ धिमे र भुस्या

कालो दौरा कालै सुरुवाल। शिरमा चाँदतोड जडित पगरी। कम्मरमा खुकुरी। कसैको हातमा भरुवा बन्दुक त कसैकोमा ढाल। काठमाडौंमा मनाइने विभिन्न पर्वहरुमा यही पहिरनमा देखिन्छन् सेनाको एक टुकडी। जात्रा पर्वहरुमा नौमती बाजाका साथै, ढोल, बाँसुरी, झ्याली र ड्रम बजाउँदै हिँड्ने ५० भन्दा बढीको समूह जसलाई गुरुज्यूको पल्टनका नामले चिन्छन् धेरैले।

‘जैथक’ रणभूमिमा अंग्रेजसँगको युद्ध जितेको इतिहास छ यस पल्टनसँग। नेवार समुदायले काठमाडौंमा मनाउने जात्रामा सैन्य उपस्थिति झल्काउने यो सैन्य टुकडीको खास नाम हो ‘शार्दुल जंग गुल्म’। यो पल्टन अहिले हनुमानढोका दरबारभित्र छ।  

विक्रम सम्वत् १८५६ मा राजा गिर्वाणयुद्धको समयमा यो पल्टन स्थापना गरिएको हो। पृथ्वीनारायण शाहले इन्द्रजात्रामा काठमाडौंमा आक्रमण गरी सत्ता हत्याएपछि हनुमानढोकामा ‘बिजुली गारत’ पल्टन स्थापना गरेका थिए। त्यस पल्टनको काम राजदरबार र राजपरिवारको सुरक्षा दिनु थियो। पछि जंगबहादुर राणाको उदयसँगै ‘शार्दुल जंग गुल्म’ लाई तत्कालीन बडा गुरुज्यूको घरमा सारियो। बडा गुरुज्यूको घरमा बस्ने भएकोले यो टुकडीलाई पछि ‘गुरुजु/ गुरुज्यूको पल्टन’ भन्न थालियो। राजाको विश्वासिलो यो सैन्य टुकडीलाई दरबारबाट हटाएर जंगबहादुरले सत्ता हत्याउन प्रयोग गरेका थिए। पछि यो टुकडीलाई राजा महेन्द्रको पालामा फेरि हनुमानढोका फर्काइएको थियो।

'बिजुली गारत'  होस् या 'गुरुज्यूको पल्टन' नै मुल उद्देश्य गोरखा राज्य विस्तारपछि काठमाडौंमा हुने जात्रा पर्वमा राजाको प्रतिनिधित्व गर्नु थियो। शार्दुल जंग गुल्म सांस्कृतिक कार्यमा सघाउन खटाइएको सैन्य टुकडी भएको बताउँछन् पूर्व प्राध्यापक त्रिरत्न मानन्धर।  

'शार्दुल जंग गुल्मलाई सांस्कृतिक पर्वमा सहयोग गर्न राखिएको हो। यसलाई राजाको पल्टनको प्रतिनिधित्वको रुपमा लिने गरिन्थ्यो। पछि दरबारको गुरुज्यूको घरमा राखेकोले यसलाई गुरुज्यूको पल्टन भन्न थालियो। गुरुज्यूको पल्टन नआएसम्म जात्रा सुरु हुन्न। हाम्रो सांस्कृतिक गतिविधिमा यसको ठूलो महत्व छ,' प्राध्यापक मानन्धरले भने।

मल्लकालमा मल्ल राजाहरु नै कुमारीको रथयात्रामा सरिक हुने गर्थे। पृथ्वीनारायण शाहले भाद्र शुक्ल चतुर्दर्शीका दिन क्व:नेया (तल्लो टोलमा रथयात्रा) भइरहँदा हनुमानढोका दरबारमा आक्रमण गरेका थिए। तत्कालीन कान्तिपुर राज्यमाथि अधिकार स्थापित गरेपछि शाहले इन्द्रजात्रा संचालनमा कुनै अवरोध गरेनन्। मल्ल राजाहरु झै पृथ्वीनारायण शाह पनि इन्द्रजात्रामा सहभागी हुन थाले। कुमारीबाट राज्य संचालनका लागि शक्तिको कामना गर्दै पूजा गर्थे। पृथ्वीनारायण शाहपछिका शाह राजाहरुले समेत त्यसलाई निरन्तरता दिए।

पृथ्वीनारायण शाहपछि इन्द्रजात्रा (चतुर्दर्शीका दिन)मा एउटा परेड पनि थपियो। त्यो हो – विजय परेड। त्यसको नेतृत्व गर्थ्यो राजदरबारमा रहेको जंगी टुकडी 'विजय गारत'ले। तत्कालिन तिंख्य: (टुंडिखेल)मा पनि सेनाले कवाज प्रदर्शन गर्थ्यो। पृथ्वीनारायण शाहले काठमाडौंमाथि नियन्त्रण जमाएको खुशीयालीमा इन्द्रजात्राको 'क्व:नेया'का दिन राजाहरु नै विजय परेडमा उपस्थित हुन्थे। 'विजय गारत' टुकडीले विजय परेडको चाँजोपाँजो मिलाउँथ्यो। राणाकालमा पनि राणा प्रधानमन्त्रीहरु हात्तीमा सवार भएर रथयात्रामा सहभागी हुन्थे।

जयप्रकाश मल्लको समयदेखि कुमारी जात्रामा राजा आफै उपस्थित भएर कुमारी जात्रा चलाउने गरेको कथन छ। चतुर्दशीको दिन शाहले काठमाडौं जितेका हुन्। त्यसैले पृथ्वीनारायण शाहले जितेको दिन विदा दिइएको मानन्धरको भनाई छ।

'त्यहीदिन विजय परेड भनि नेपाली सेनाले कवाज खेल्थ्यो। शाहले कान्तिपुर जितेको भन्दै विजय परेड हुन्थ्यो,' मानन्धरले भने, 'क्व: नेया सकिएपछि हनुमानढोका सिंहासन आरोहण हुन्थ्यो। रथयात्रा सकिएपछि राजगद्दी ल्याएर राजदण्ड राखिन्थ्यो। त्यही आरोहण गरेको उपलक्षणमा शार्दुल जंग गुल्मले बन्दुक पड्काएर बधाई अर्पण गर्थ्यो।'

२००७ सालको क्रान्तिपछि देशमा प्रजातन्त्र आयो। २००८ सालमा 'रोयल ग्याजेट' (राजपत्र) मै प्रकाशन गरेर विजय परेड अन्त्य भएको घोषणा गरियो। 'इन्द्रजात्राबारे परापूर्वदेखि चलिएको धर्मसम्बन्धी जात्राहरुमा साविकै बमोजिम गर्ने र विजय परेडका हकमा साम्प्रदायिक भावना जतिसक्यो यति उठाउनुपर्ने श्रेय हुनाले सो अबदेखिलाई बन्द गर्ने' ग्याजेटमा लेखिएको थियो। यस्तै, त्यही राजपत्रमा सिंहासन आरोहणको उत्सव नगर्ने निर्णय समेत उल्लेख गरिएको थियो। 

पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि चलिआएको विजय परेड र सिंहासन आरोहण २००८ सालमा अन्त्य भयो। तर, सांस्कृतिक कार्यका लागि खटाइएको शार्दुल जंग गुल्म अन्तर्गतको गुरुज्यूको पल्टन इन्द्रजात्रामा हुने रथयात्राका साथै अन्य जात्रा पर्वमा सरिक हुँदै आएको छ।

पल्टनको नयाँ अध्याय

इन्द्रजात्रामा रथसँगै ढोल र नौमती बाजाबाट नेपाली गीतका धुन बजाउँदै गुरुज्यूको पल्टनले यात्रा गर्थ्यो। सानैदेखि कला क्षेत्रमा चाख राख्ने सुदनमान मुनिकारलाई जात्रामा धिमे, भुस्या र हस्ते हाइसेबिच बज्ने गुरुज्यूको पल्टनको गीती धुनले ध्यान खिच्थ्यो। उनी सोच्थे - गुरुज्यूको पल्टनले पनि धिमे बजाएर कस्तो सुनिएला? कस्तो देखिएला?

संस्कृतिकर्मीका रुपमा आफूलाई स्थापित गरेका उनले अहिले भने त्यतिखेरको खुलदुलीलाई मेटाइसकेका छन् - गुरुज्यूको पल्टनलाई धिमे र भुस्या सिकाएर।

गुरुज्यूको पल्टनलाई धिमे बाजा प्रशिक्षणका क्रममा सुदनमान मुनिकार 


गत वर्ष कोभिड-१९ का कारण लकडाउन गरिएको थियो। त्यसैको आसपास तत्कालीन गुल्मपति विकास शाक्यसँग सेनाको पल्टनलाई रैथाने बाजा सिकाउने बारेमा छलफल भयो। शाक्यले पनि मुनिकारको सोचसँग सहमति जनाए। र, पहिलोपटक १० जना जवानलाई धिमे प्रशिक्षण दिइयो। गत वर्ष लकडाउनका कारण इन्द्रजात्रा औपचारिक नित्य पूजामा सीमित हुनपुग्यो त्यसैले गुरुज्यूको पल्टन निस्किएन। तर, सेतो मछिन्द्रनाथको रथयात्रा र फागुको आगमनको संकेत स्वरुप हनुमानढोका चीर ठड्याउँदा गुरुज्यूको पल्टनले धिमे बजाएको थियो। यसपटक इन्द्रजात्रामा गुरुज्यूको पल्टनले पहिलोपटक धिमे र भुस्याको साथमा नेवारी गीतका धुन बजाउँदै यात्रा गर्दा सुदनमानले आफ्नो एउटा सपना पूरा भएको अनुभूति गरेका छन्। त्यसैले गुरुज्यूसको पल्टनले धिमे बजाउनु परिवर्तनको नयाँ अध्याय भएको उनको ठम्याई छ।

'यस पल्टनमा नेवारभन्दा धेरै गैर नेवार छन्। कुमारी जात्रामा सहभागी हुन्छन् तर गीत अरुअरु नै बजाउने गर्छन्। नेपाली फिल्मको गीत बजाउने! यसरी भएन भन्ने सोचेँ,' उनले भने, 'त्यसैले इन्द्रजात्रामा नेवारी पर्वका गीत गुरुज्यूको पल्टनलाई सिकाएँ। अब विभिन्न जात्राको गीत, मौसमी गीत, पर्व अनुसारको गीतहरु सिकाउनुछ।'

गुरुज्यूको पल्टनलाई धिमे बाजा प्रशिक्षणका क्रममा सुदनमान मुनिकार 


सेनाले पहिलोपटक धिमे बजाएको देख्दा स्थानीय र सेनाबाट पनि राम्रो प्रतिक्रिया आयो। यस वर्ष भने इन्द्रजात्रा हुने भएपछि फेरि सुदन मुनिकारले गुल्मपति अशिम श्रेष्ठसँग छलफल गरे। उनकै समन्वयमा सुदनले २० जनाको टोलीलाई धिमे प्रशिक्षण दिए। यसपाला पनि इन्द्रजात्रामा पहिला झैं गुरुज्यूको पल्टनले बाँसुरी बजाउँदै हिँड्यो। तर, त्यहाँ थपिएको थियो धिमे बजाउने सैन्य टुकडी। रथयात्राको पछिल्लोतिर रहेको उक्त टोलीले धिमे बजाउँदा स्थानीयमा थप अपनत्व महसुस भएको बताउँछन् शार्दुल जंग गुल्मका गुल्मपति मेजर अशिम श्रेष्ठ।

'धिमे बजाउने हाम्रो टोली रथयात्राको पछि थियो। पहिलोपटक धिमे बजाउँदै हिँडेको देखेर स्थानीयले राम्रो प्रतिक्रिया जनाए। युवायुवतीहरुले गीत बजाउन भन्दै प्रोत्साहन गरिरहे,' उनले सुनाए।

जात्रा पर्व सबै नेपालीहरुको भएको भन्दै उनले स्थानीयसँग मिलेर काम गर्दा अपनत्व बढेको बताए। नेवार समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा रहेको गुल्म र सांस्कृतिक महत्व र दायित्व बोकेको गुल्म भएकाले पनि जात्रामा धिमे बाजा सहित गुरुज्यूको पल्टन उपस्थित भएको थियो।

शार्दुल जंग गुल्मका गुल्मपति मेजर अशिम श्रेष्ठ (सेतो पहिरनमा सबैभन्दा अगाडि)


'नेपाली सेनाले पहिलादेखि नै सांस्कृतिक परम्परा धान्दै आइरहेको छ। परम्परा जगेर्ना गर्ने कुरामा हामीले स-सानो कुरामा ध्यान दिँदै आएका छौं। दरबारभित्रै रहेकाले समुदायसँग एउटै परिवार जस्तै बसिरहेका छौं,' गुल्मपति श्रेष्ठले भने, 'धिमे बजाउँदा जात्रामा अपनत्व बढ्छ भनेर यो पनि हामीले सुरु गरेका हौं।'

सुदनलाई प्रश्न र विद्रोह

जबजब जात्रा पर्वमा गुरुज्यूको पल्टन निस्कन्छ तबतब केही मानिसले उनीहरुको उपस्थितिमाथि प्रश्न उठाउने गर्छन्। गुरुज्यूको पल्टन यसरी धिमे र भुस्या बोकेर निस्किँदा सुदनमान मुनिकार माथि पनि केहीले प्रश्न उठाए। जात्रामा सेनाको उपस्थिति किन?  पृथ्वीनारायण शाहकालीन टुकडी गणतन्त्रमा किन?

सुदन भने यस्ता संकुचित प्रश्नहरुलाई भुलेर आफ्नो उद्धेश्यमा अघि बढ्नुपर्ने मत राख्छन्।

'हाम्रो संस्कृति हामीभित्र मात्रै जबसम्म सीमित राख्छौं तबसम्म त्यसलाई जति संरक्षण गर्छु भने पनि अपूर्ण हुन्छ। अरुलाई बुझाउनु मुख्य कुरा हो। परम्परा नतोडिने गरी कुन तरिकाले अरु समुदायमा लैजानुपर्छ भनेर हामीले गहन छलफल गर्नुपर्छ,' सुदनले भने। 

बुवा चन्द्रमान मुनिकारले चर्या नृत्य सिकाउँदा पनि यस्तैखाले आरोप लागेको सुदनलाई सम्झना छ। 'चर्या नृत्यसँग सम्बन्धित परिवार हो हाम्रो। चर्या संस्कारलाई बाहिर लग्यो भनेर बुवामाथि आरोप लागेको थियो। त्यही बेलादेखि बुवाले समुदायमै विद्रोह गर्दै आएका हुन्,' नृत्यलाई अन्तर्राष्ट्रिकरण गरेको भन्दै आरोप खेप्नु परेको सम्झँदै उनले भने, 'तर, यो नेपालको एउटा पहिचान हो। यसलाई विस्तार र प्रवर्द्धन गर्नुपर्छ भन्ने मेरो मान्यता हो। गुरुज्यूको पल्टनलाई धिमे सिकाएर समुदायभित्र केही संकुचित सोचविरुद्ध मैले पनि विद्रोह गर्न खोजेको हुँ।'

काठमाडौंको जात्रा पर्वमा बजाइने बाजा, गाइने राग र तालहरुसँग नेवार समुदाय घुलमिल हुने भए पनि, काठमाडौं बाहिरका नेवार र गैर नेवार समुदाय त्यसबारेमा अनभिज्ञ हुन सक्छन्। नेवार समुदायभित्रको संस्कृति र रितीरिवाज आफैंमा मात्रै सीमित राखे त्यसको संरक्षण नहुने सुदिनले बुझेका छन्।  

'सेनालाई सिकाउन हुन्न। हाम्रो संस्कृति बिगार्छ भन्नेहरु पनि छन्। तर हामी नेवार भएर हाम्रो संस्कृति यसको मूल्य मान्यता हामीलाई थाहा छ। अरुलाई थाहा छैन। त्यही भएर त अप्ठ्यारो भएको हो। हामीले हाम्रो सस्कृतिबारे अरुलाई थाहा दिए पो माया पलाउछ। उहाँहरुले पनि सहयोग गर्नुहुन्छ संरक्षण गर्नुहुन्छ,' सुदिनले भने।

धिमे बजाउँदै गुरुज्यूको पल्टन


सेनामै आफ्नै सैनिक ब्यान्डहरु छन्। उनीहरुले सेना दिवसदेखि अन्य कार्यक्रममा प्रस्तुती दिने गर्छन्। तर, हनुमनढोकामा रहने पल्टनको इतिहास चाहिँ काठमाडौंमा पृथ्वीनारायण शाहले जितदेखि सुरु हुन्छ। पछि सांस्कृतिक परम्परा धान्दै आएको पल्टनलाई रैथाने स्वादमा ढाल्दा स्थानीयमा गुरुज्यूको पल्टन भन्न थाले जसले पल्टनप्रति अपनत्वको भावना जागृत हुँदै गयो।

'यो नयाँ अध्यायको सुरु हो गुरुज्यूको पल्टनमा। तीन चार वर्ष अघि प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान चलाएको थियो। त्यही बेला पनि मैले धिमे सिकाएको थिएँ प्रहरीलाई। धिमेसँगै राजामति बजाउँदा राम्रो प्रतिक्रिया आयो। स्थानीयले राम्रो माने। प्रहरीको कार्यक्रमलाई आफ्नै ठाने। संगीतले भावनात्क रुपमा जोड्यो। यसपटक इन्द्रजात्रामा पनि नेवारी धुन र बाजा बजाएर जाँदा खेरी त्यसले अप्नत्व ल्याएको महसुस गरेको छु,' उनले भने।

धिमे बजाउँदै गुरुज्यूको पल्टन


धिमे ज्यापू समुदायमा धेरै प्रचलित बाजा भए पनि अहिले सबै सबै नेवारको साझा बाजा भइसकेको उनी बताउँछन्। अब नेवारी समुदायमा चलिआएको बाजालाई नेपालको साझा बाजाकै रुपमा विकास गर्नुपर्ने उनको मत छ। इन्द्रजात्रामा गुरुज्यूको पल्टनबाट त्यसको सुरुवात भएको मान्छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell