भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकामा छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्यूयोर्क पुगेका हुन्। तर, भारतीयहरुले भने मोदीको अमेरिका यात्रामाथि प्रश्न उठाएका छन्। कारण- कोभ्याक्सिन।
नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध भारतमै उत्पादित कोभ्याक्सिनको दुवै डोज लगाइसकेका छन्। तर, त्यो खोपलाई विश्व स्वास्थ्य संगठन र अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले मान्यता दिएको छैन। यस अवस्थामा उक्त खोपको दुवै डोज लगाएका भारतीयहरु विभिन्न मुलुकमा जानै पाएका छैनन्। कोभ्याक्सिन लगाएको कार्डलाई मान्यता नमिल्ने भएकोले उक्त खोप लगाएकाहरु विदेश भ्रमणबाट बञ्चित हुनपरेको छ। तर, त्यही खोप लगाएका मोदी भने कसरी पुगे त अमेरिका ?
सामाजिक संजालमा अहिले यही प्रश्न सोध्नेहरुको जमात छ। रियालिटी शो इन्डियन आइडलका निर्माता निखिल अल्वाले ट्वीट गर्दै मोदीले कुन भ्याक्सिन लगाएको भन्दै प्रश्न गरेका छन्।
'प्रधानमन्त्रीले जसरी मैले पनि 'आत्मनिर्भर' कोभ्याक्सिन लगाएको थिएँ। इरान, नेपाल र केही अन्य देशबाट म अरु कुनै पनि देशको यात्रा गर्न सक्दिँन। प्रधानमन्त्री मोदी अमेरिका जाने कुरा सुनेर म अचम्मित भएँ, जहाँ कोभ्याक्सिनलाई मान्यता मिलेकै छैन। त्यसैले उनले वास्तवमा कुन भ्याक्सिन लगाए?'
विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसको सोशल मिडिया कोअर्डिनेटर विनय कुमार ढोकनियाले पनि कोभ्याक्सिन लगाएका मोदी कसरी अमेरिका पुगे भनेर प्रश्न गरेका छन्। अहिले सामाजिक संजालमा राजनीतिज्ञ देखि कलाकार, पत्रकारहरुले यही प्रश्न सोधिरहेका छन्।
अन्तर्राष्ट्रिय मामिलाका जानकार शैलन्द्र देवलांकरले भने मोदीका लागि भ्याक्सिनको प्रावधान हटाइएको हुन सक्ने बताएका छन्। सबै देशसँग भ्याक्सिन उपलब्ध नभएको भन्दै उनले राजनायिकहरुलाई सहुलियत दिइने भन्दै अहिले पनि संयुक्त महासंघको महासभामा भाग लिन जानेहरुलाई सहुलियत दिइएको हुन सक्ने तर्क गरे।
भारतका लागि विभिन्न देशमा राजदूत रही काम गरिसकेका अनिल त्रिगुणायतले भनेका छन्, 'राजनीतिक संवादका लागि आयोजक देशले नियमहरुमा परिमार्जन गर्न सक्छन्। संयुक्त राष्ट्रसंघको बैठकको लागि पनि त्यही भएको हुनसक्छ।'
मोदी त अमेरिका पुगे। तर, मोदीले जस्तै कोभ्याक्सिन लगाएका र बाहिर जानुपर्नेहरु भारतमा अड्किएका छन्। कोभ्याक्सिन उत्पादन कम्पनीले भ्याक्सिनलाई मान्यता दिन आवेदन दिए पनि त्यसबारेमा विश्व स्वास्थ्य संगठनबाट कुनै जवाफ आएको छैन।
